Online news portal of Dolakha Preeti to Unicode Unicode to Preeti

गहिरीएर हेर्दा प्रदेशको (ख) मा लालकुमार र बाँकीमा काङ्ग्रेस आउँन सक्छ

८ मंसिर २०७४, शुक्रबार १५:२४

 नेकपा (माले)को चुनावी अभियान कहाँ पुग्यो ?

आज ७ गते, भोलीबाट मौन अवधि सुरु हुन्छ । हाम्रो प्रचारात्मक चुनावी अभियान पनि आजैबाट सकिन्छ  । वाम भनिएको गठबन्धनको स्थिति उनीहरूले बुझे भन्दा धेरै कमजोर र प्रतिकूल छ । गठबन्धनमा ‘एक जना ठिक्क, दुई जना भयो कि दिक्क, तीन जना हुना साथा तानातान र चार जना पुग्नै वित्तिकै हानाहान’ होला कि भन्ने पाराको स्थिति देखिन्छ । तिनका कार्यकर्ताले अपमान वोध गरिरहेका छन् । ‘नेताको गोठका भेडाबाख्रा जस्ता, उनीहरूले जहाँ बाँध्छन् त्यही ंघाँस खाएर बस्ने होइनौं’ भन्ने भावना उम्लिएको देखिन्छ सचेत वामपन्थी कार्यकर्ताहरूमा । नेकपा (माले) ले प्रतिनिधि सभा र प्रादेशिक सभाको (क) मा धेरै ठूलो अपेक्षा गरेको छैन तर प्रादेशिक सभाको (ख) मा हाम्रो उम्मेदवार लालकुमार केसीको जित सुनिश्चित छ । अब हामी वीजयलाई संस्थागत गर्ने र यो क्षेत्रलाई नमूना बनाउने हिसाबले सोचिरहेका छौं ।

 तपाईहरूको पार्टी नेकपा (माले)को कुनै ठूलो सङ्गठन या शक्ति त देखिदैन, तर तपाईहरूले जित्ने आधार के हो ?

चुनावलाई वैधानिक युद्ध बनाउन बानी परेकाहरूले चुनाव जित्नकै लागि अहिले सङ्गठित, तालिम प्राप्त र हतियार सहितको ठूलो शक्ति परिचालन गरिरहेको देख्दा ‘त्यसो गर्न नसक्ने या नचाहने नेकपा (माले) ले कसरी चुनाव जित्छ त ?!’  भन्ने लाग्न सक्छ । नेकपा (माले) ले चुनाब कुनै बैधानिक रक्तपात मार्फत जित्ने कुरा गरिरहेको छैन, चुनावको रुपमा जनमतको परिक्षण गर्ने अर्थमा हाम्रो उम्मेदवार क. लालकुमार केसीले जित्नुहुन्छ भनिरहेका छौं ।  अब उहाँले जित्ने आधार भनेको पहिलोः लालकुमार केसी स्वयम्को इमान, लगन र स्वाभिमानी ब्यक्तित्वको आम जनतामा स्थापित पहिचान हो । दोेस्रोः दोलखाको साविक २ नं. क्षेत्रका जनताको आम भावना र आवश्यकता हो । तेस्रोः एमाले पहिचानका सुर्य चिन्हका उम्मेद्वार क. पशुपति चौलागाईले जित्दा भोलीका दिनमा २ नं. क्षेत्रका एमाले कार्यकर्ता र जनताले हार्ने तर हँसिया तारा चुनाव चिन्ह लिएर उठेका एमालेकै संस्थापक नेता क. लालकुमार केसीले जित्दामात्र २ नं. क्षेत्रका एमाले नेता कार्यकर्ताले सदाका लागि जित्नसक्ने विशिष्ठ स्थिति हो । चौथो आधारः ‘दीगो विकास र समृद्धिको लागि सक्षम स्थानीय नेतृत्व’  नै २ नं. क्षेत्रको जनदिशा हो । यसलाई नेकपा (माले)ले आफ्नो मूल मुद्दा बनाएको छ भने नेपाली काङ्ग्रेसले पनि यसलाई जोडदार रुपले अघि सारेको छ । पाँचौंः नेपाली काङ्ग्रेसको विशिष्ट स्थिति र भद्र समझदारी । छैठौं तथा महत्वपूर्ण आधार भनेको नेकपा (माले) र त्यसका गतिशील नेता कार्यकर्ताहरूको सङ्गठन तथा लालकुमार केसी जिताऔं अभियानको सञ्जाल नै हो । यी छ ओटा वस्तुगत आधारहरू हुन्, जसको कारण हाम्रा उम्मेद्वार लालकुमार केसीको जित सुनिश्चित भएको छ ।

 तपाईले भनेका पहिलो र दोस्रो आधारहरू सबैले बुझेका कुरा हुन् । तर, तेस्रो आधारको रुपमा सुर्य चिन्हका पशुपति चौलागाईले जित्दा एमाले नेता कार्यकर्ताले वास्तवमा हार्ने तर हँसिया तारा चिन्हका लालकुमार केसीले जित्दा चै तिनै एमाले नेता कार्यकर्ताको वास्तविक जित हुने विशिष्ट स्थिति छ भनेर भन्नुभयो नि, यस्तो कसरी हुन्छ ?

त्यो वस्तुगत स्थितिको त म खुलस्थ गरिदिन सक्छु तर त्यसलाई प्रमाणित गर्ने ठोस सूचनाहरू अरुबाट सार्वजनिक भैसकेका बाहेक थप सार्वजनिक गर्न आवश्यक ठान्दिनँ । जस्तो कि, यही ४ गते सिङ्गटीको आमसभामा नेपाली काङ्ग्रेसका उम्मेद्वार केशब चौलागाईले भाषणमा खुलासा गरेको भनेर काङ्ग्रेस निकटकै एक अनलाइन पत्रिकाले एउटा समाचार प्रकाशित ग¥यो । लेखिए अनुसार उहाँले नाम र कारण समेत किटान गरेर प्रतिनिधि सभाका एमाले उम्मेद्वार तथा अर्का एक एमाले नेताले नै पशुपति चौलागाईंलाई हराउनको लागि आफूसँग सल्लाह गरेको र आर्थिक सहयोग समेत गर्न तयार रहेको खुलासा गरे । काङ्ग्रेसका जिम्मेवार नेताहरूले नै यो समाचारलाई आफ्नो सामाजिक मुखपत्रमा बाँडेका थिए, त्यसैले यो गलत थिएन । हो, त्यो विशिष्ट स्थिति बुझ्नको लागि एमाले नेताहरूले किन त्यसो भनेका होलान भनेर विश्लेषण गर्नु पर्ने हुन्छ ।

 के तपाईसँग त्यस्तो सूचना या विश्लेषण छ ?

हामी ती सबै चीजहरू लिन्छौं, जुन हामीलाई आवश्यक र महत्वपूर्ण छन् । र, हामीलाई के लागिरहेको छ भने एमालेमा अब संसदीय सत्तामा मात्र हैन, पार्टी सत्तामा पनि सङ्गठन सहायक र निश्चित चरित्रको पूँजी निर्णायक बन्दै छ ! यसरी ‘सानो माछालाई ठूलो माछाले निल्न खोज्नु’ एमाले भित्रको इकोसिष्टम बन्यो, जुन त्यहाँको लागि स्वभाविक पनि हो । अर्को कुरा, यदि यो पटक लालकुमारले जितेमा मात्र अर्कोपटकदेखि २ नं. क्षेत्र कै नेतालाई टिकट दिन एमाले बाध्य हुनेछ । त्यसैले लालकुमारको जित भनेको एमालेमा टिकट लिने लाइनमा भएका देखि भोलीको नेतृत्व विकासको सम्भावना बोकेका नेता कार्यकर्ता र  एमाले समर्थकसम्मको, अझ पार्टी नै एकतासम्म जान्छ भन्ने आश गरिरहेका माओवादी केन्द्रका नेता कार्यकर्ताहरूको पनि राजनीतिक भविष्य निर्माणको महत्वपूर्ण कोशे–ढुङ्गा लालकुमारको जितले मात्र सुनिश्चित गर्नेछ । मानौं कदाचित लालकुमार केसीले एकाध भोट नपुगेर हार्नु भयो भने अर्को पटकदेखि पनि २ नं. क्षेत्रको स्थानीय नेताकार्यकर्तालाई टिकट दिन एमाले नेतृत्वलाई कुनै दर्कार पर्दैैन । अझ एमाले–माके एकता भइगयो भने त १ नं. क्षेत्रका विभिन्न दरबारहरूको थप लुछाचुँडीको शिकार २ नं. क्षेत्र बन्ने निश्चित छ र एकखालको क्षेत्रीय उपनिवेश कायम रही रहने छ । एमालेका २ नं. क्षेत्रका नेताकार्यकर्ताको स्थिति कति दयनीय देखिन्छ भने एमाले पार्टीमा नेतृत्वको हिसावले क. लालकुमार पछि २ नं. को एकजना पनि अध्यक्ष चुनिएको छैन र संसदमा क. जीतवीर पछि एकजना पनि २ नं. क्षेत्रको उम्मेद्वार बन्न पाएको छैन । एमालेभित्र करिब २३ वर्षसम्मको स्थिति यस्तो छ । त्यसैले एमालेका २ नं. क्षेत्रका जनताको मात्र हैन, नेता कार्यकर्ताहरूको मुक्तिको लागि पनि २ नं. क्षेत्रका यी दुवै हस्तीहरू अस्ति पत्रकार सम्मेलन गरी एकाकार भएर अहिले अघि बढिरहेका छन् । जीतवीर लामा र लालकुमार केसीले एकाकार भएर जुन सङ्घर्षको शङ्खनाद गर्नु भएको छ, यो २. नं. क्षेत्रको लागि श्रीकृष्ण र धर्मराज युधिष्ठीरले महाभारतमा गरेको धर्मयुद्धको शङ्खनाद जस्तै बनेको छ ।

 तपाईले भनेको चौथो आधार ‘दीगो विकास र समृद्धिको लागि २ नं. क्षेत्रकै सक्षम स्थानीय नेतृत्व’ नै यहाँका जनताको चाहना हो र त्यसैलाई नेकपा (मालें) र नेपाली काङ्ग्रेसले मूल मुद्दा बनाएका छन् भन्ने त बुझ्न सकिन्छ तर पाँचौ आधारको रुपमा ‘नेपाली काङ्ग्रेसको विशिष्ट स्थिति र भद्र समझदारी’ भनेर तपाइले भन्नु भयो । कस्तो स्थिति र समझदारी हो ?

मैले माथि नै भनेँ कि ‘दीगो विकास र समृद्धिको लागि २ नं. क्षेत्रकै सक्षम स्थानीय नेतृत्व’ यहाँका जनताको जनदिशा हो । नेकपा (माले) र नेपाली काङ्ग्रेसको मात्र हैन कि नेकपा (एमाले) को पनि २ नं. क्षेत्रका नेता कार्यकर्ताहरूलाई महशुस भएको यो नै मूल मुद्दा हो । तर अहिले २ नं. क्षेत्रबाट सम्भावना बोकेका उम्मेद्वार मध्य क. लालकुमार केसी र केशब चौलागाई नै स्थानीय उम्मेद्वार हुन् । अब जनताको भावना बमोजिम कि त लालकुमार जी ले जित्नु पर्ने भयो कि त केशब जी ले । हाम्रा चाहना आ–आफ्नै होलान्, तर जनताको चाहना र सबैको आवश्यकतालाई साकार पार्न हामी सबैको दायित्व बन्छ । त्यस हिसावले हामीले एकापसको स्थिति विश्लेषण गरेर हेर्दा नेकपा (माले) भन्दा नेपाली काङ्ग्रेस सांगठनिक भोट धेरै भएको ठूलो पार्टी हो । २ नं. क्षेत्रको वस्तुगत परिस्थितिबारे यहाँ केशब चौलागाईंले जित्ने सम्भावना के कति हो त ? भनेर विश्लेषण गरौं । नेपाली काङ्ग्रेसका सम्पूर्ण नेता कार्यकर्ताहरूबाट गरिएको विश्लेषण र निश्कर्ष के हो भने २०७० सालको चुनावमा यस क्षेत्रबाट तत्कालिन सभापति ताराबहादुर कोइरालाले ल्याएको भोट भन्दा यसपाली काङ्ग्रेसले भोट बढाउन सक्दैन बरु लालकुमार कै कारणले पनि धेरै भोट काटिन्छ र भोट घट्छ । यसमा स्पष्ट बुझ्न सकिने अरु पनि धेरै कारणहरू छन्, जुन भनिरहन आवश्यक छैन । २०७० मा ताराबहारदुरले साँडे दशहजारको हाराहारीमा भोट ल्याएका थिए भने अहिले नौं हजार हाराहारीमा रहला । यस क्षेत्रमा सरदर ७३ हजार मतदाता छन्, जसमा ४५ हजार जति मत खस्ने अनुमान छ । त्यसमा माले, नेका र एमालेका उम्मेद्वारले पाउने कूल सदर मत भनेको ४० हजारकै हाराहारीमा हुनसक्छ । नेपाली कांग्रेसको भोट नौ दश हजारबाट बढ्नै नसक्ने काङ्ग्रेसको विशिष्ट स्थितिले गर्दा उसले यो क्षेत्र गुमाउनुको विकल्पै छैन । यो कुरा नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरू सबैले राम्ररी बुझेका छन् । यो स्थितिमा यदि नेपाली काङ्ग्रेसले नेकपा (माले) को सहयोग माग्ने हो भने त्यसले उल्टै १ नं. क्षेत्रका एमाले उम्मेद्वारकै भोट बढाउँछ भन्ने कुरा नेपाली काङ्ग्रेसका नेताहरूले स्पष्ट बुझेका छन् । यो स्थितिमा २ नं. क्षेत्रकै उम्मेद्वारले जित्नु पर्छ भन्ने सबैको एउटै चाहनाको अर्थ लालकुमार केसीले नै जित्नु पर्छ भन्ने समझदार बुझाई हो । आवश्यकता र स्थिति पनि यही नै हो । यसलाई नेपाली काङ्ग्रेसको केन्द्रदेखि जिल्लासम्मका नेता कार्यकर्ताहरूले राम्ररी बुझेका छन् । यही बुझाईको आधारमा नै नेपाली काङ्ग्रेसका २ नं. क्षेत्रका अधिकांश कार्यकर्ता १ नं. क्षेत्रमा चुनाव प्रचारमा केन्द्रित भएका देखिन्छन् । समय अभावको कारण औपचारिक घोषणा नभैसकेकोले केही मित्रहरूलाई यो कुरा खण्डनीय लाग्न सक्छ, तर लालकुमार केसीलाई नेपाली काङ्ग्रेसका कार्यकर्ता र भोटरहरूको समेत अखण्डित सहयोग र समर्थन रहेको छ ।

 अनि लालकुमार केसीले जित्ने मतको हिसाव चै के हो ?

यदि क. लालकुमार केसीको उम्मेद्वारी आफैमा जनमत र जनआधार विनाको हुन्थ्यो भने यो सुरुमा केहीदिन चर्चित हुने र विस्तारै सेलाउदै ओझेल पर्दै जाने हुन्थ्यो । तर उहाँको उम्मेद्वारी विहानीको नपत्याउँदो मिर्रिमिरेबाट सुरु भएर आजसम्म आउँदा पुर्वी क्षितिजको जग्मगाउँदो लालीमा जसरी झलमलाकार विहानीमा परिणत भैसकेको छ ।  लाकुरीडाँडाको कुनै भाषणमा एमाले नेता आनन्द पोखरेलले लालकुमारले जम्मा पाँच सय हाराहारी मत ल्याउँछन् भनेका थिए रे । त्यसको ३ दिन मै उनको मनगढन्ते हिसावले भरिएको बेलुनको हावा खुस्कियो । ३ दिनमा उनीहरू कति ठाँउ घुमे र के बुझे त्यसपछि लालकुमार केसीले ५ हजार कटाएछन् भने कान काट्छौं भन्न थाले । कान जोगाउन सकिन्छ कि भनेर होला, अहिले उनीहरू त्यस्तै दश बाह्र हजार कटाउन गारो छ, भन्न थालेका छन् । तर हामीहरूले यसलाई अर्कै हिसावले बुझेका छौं । उनीहरूले भूगोलबाट आउने भोटलाई मात्र हिसाव गरेका होलान् । हामीले भूगोलको साथसाथै एमाले, माओवादी केन्द्र र नेपाली काङ्ग्रेसबाट पनि लालकुमार केसीलाई भोट आउने अवस्था र आवश्यकता देखिरहेका छौं । यही सम्भावनालाई सङ्गठित गर्न मै हाम्रो ध्यान केन्द्रित छ । हाम्रो मूल्यांकन के छ भने लालकुमार केसीले सरदर २० देखि २१ हजार भोट ल्याएर जित्नु पर्छ ।

 अनि तपाईले अरुमा काङ्ग्रेस आउला भनेर प्रतिनिधि सभा र क्षेत्र नं. १ मा पनि गठबन्धन नआउने संकेत गर्नु भयो नि, यसको आधार के हो ?

यसको प्रष्ट उत्तरदाता त नेपाली काङ्ग्रेस नै हुनसक्छ । तर मलाई के चाही थाहा छ भने गहिरीएर हेर्दा त्यस्तो सम्भावना देखिन्छ । यो भन्दा बढी मैले भनिदिनु पनि हुदैन । सम्भावनालाई यथार्थमा बदल्ने कुरा सम्बन्धित पक्षको योजना र सामथ्र्यमा भर पर्ने कुरा हो ।  तर मेसो मिलायो भने त्यो सम्भावना छ ।

 अन्तमा केही भन्न चाहनुहुन्छ ?

यही मंशीर १० गते हुने निर्वाचनमा हँसिया तारा चिन्हमा मतदान गरी दोलखाली कम्युनिष्ट आन्दोलनका हस्ती, तपाईहरुकै लोकप्रिय उम्मेदवार कमरेड लालकुमार केसी लगायत नेकपा (माले) का उम्मेदवारहरुलाई विजयी गराइदिनु हुन सम्पूर्ण मतदाताहरु समक्ष अनुरोध गर्न चाहन्छु । किनकी यो तपाईहरुकै भविश्य निर्माणको पुर्वाधार हो ।