Online news portal of Dolakha Preeti to Unicode Unicode to Preeti

४ वर्षपछि न्यू खिम्ती सव स्टेशनको काम सुरु

१५ मंसिर २०७४, शुक्रबार १८:०९

दोलखा, १५ मंसिर

विद्युत हब बनाउने महत्वकाँक्षी योजना सहित प्रस्ताव गरेको न्यू खिम्ती विद्युत सव–स्टेशन निर्माणको काम ४ वर्षपछि सुरु भएको छ । रामेछापको फुलासीमा निर्माण हुन लागेको सव स्टेशन स्थानीयले सहमति गरेर मुआब्जा बुझेपछि आयोजनाले गति लिएको हो ।
स्थानीयसँग सहमति लगत्तै मुआब्जा वितरण गरेर सव स्टेशन निर्माण समेत सुरु भएको छ । न्यू खिम्ती सव स्टेशनमा पहिलो चरणमा बहुप्रतिक्षित माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ४५६ मेगावाट विद्युत जोडिनेछ । सव स्टेशन निर्माणको काम पनि आयोजना आफैंले निर्माण सुरु गरेको छ ।
खिम्तीको सव स्टेशन नबन्दा माथिल्लो तामाकोसीबाट उत्पादित विद्युत खेर जानेमा चिन्ता हुँदै आएको थियो । सवस्टेशन निर्माणले गति लिएको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । सव स्टेशन निर्माणका लागि जग्गा तयारीको काम बुधबारबाटै सुरु भएको उनले बताए रामेछापको साविक फुलासी गाविस वडा नं. १ साँखेमा २२०÷१३२ केभीको सवस्टेशन निर्माण हुने छ ।
‘अब एक वर्ष भित्र सव स्टेशन पूरा हुन्छ’ उनले भने ‘प्रसारण लाइनको ठेकेदारले लामो समयदेखि जग्गा उपलब्ध गराउन माग गरिरहेको थियो, जग्गा पाउने वित्तीकै काम सुरु भएको छ ।’ सव स्टेशन माथिल्लो तामाकोसीले निर्माण गरे तापनि दोलखा, रामेछाप र ओखलढुङ्गाको लिखुमा निर्माण हुने अन्य आयोजनाको विद्युत समेत जोड्न मिल्ने गरी निर्माण हुने छ ।
माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले आउँदो असारदेखि उत्पादन सुरु गर्ने लक्ष्यका साथ काम गरिरहेको छ । आयोजनाको अब ८ प्रतिशत काम मात्र पूरा हुन बाँकी छ । आयोजनाको विद्युत न्यू खिम्ती सब स्टेशनमा जोडेर त्यहाँबाट काठमाडौं र तराईसम्म पु¥याउने लक्ष्य छ ।
आयोजनाको विद्युत प्रसारणका लागि आयोजनास्थल गोंगरदेखि फुलासीसम्म ४७ किलोमिटरमा २२० केभी प्रसारण लाइनको काम तिव्र रुपमा भइरहेको छ । सो प्रसारण लाइन आउँदो चैतसम्म पूरा गर्ने लक्ष्य छ । तर सब स्टेशन निर्माणकै लागि ३ वर्षदेखि आयोजनाको दौडधुप पनि अहिले त्यत्तिकै छ ।
विद्युत प्राधिकरणले जग्गा व्यवस्थापन गरेपछि माथिल्लो तामाकोसी आफैंले सव स्टेशन बनाउने भए तापनि पछिल्लो समयमा आयोजना आफैंले जग्गा विवाद मिलाउने र व्यवस्थापनको पहल लिएको हो ।
सवस्टेशन आयोजना आफैंले निर्माण गरे पनि नेपाल विद्युत प्राधिकरण जग्गा उपलब्ध गराउने जिम्मेवारी थियो । ४ वर्षदेखि १ सय ३७ रोपनी जग्गा रोक्का राखेर जिल्ला प्रशासन कार्यालयले जग्गाको मूलयाङ्कन सहित सार्वजनिक सुचना समेत जारी गरेको थियो ।
स्थानीयले एक वर्ष अघि धेरैजसोले मुआब्जा बुझि लिए तापनि १४ जनाले मुआब्जा नबुझ्दा ६५ रोपनी जग्गा आयोजनाले प्राप्त गर्न सकेको थिएन । न्यू खिम्ती सब स्टेशन निर्माणमा जग्गाको विवाद नेपाल विद्युत प्राधिकरण, माथिल्लो तामाकोसी जलविद्युत आयोजना र ऊर्जा मन्त्रालयको टाउको दुःखाईको विषय बनेको थियो ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्लाको जग्गा मूल्याङ्कन समितिले सरकारी दर र स्थानीय चलन चल्तीको मूल्यलाई मिलाएर प्रतिरोपनी ५ लाखदेखि १२ लाखसम्म मूल्याङ्कन गरेको थियो । समितिले गरेको मूल्याङ्कन अनुसार सडकभन्दा बाहिरको पाखो ५ लाख, खेतीयोग्य जग्गा ७ लाख, फुलासी पोखरी जाने सडक छेऊको ८ लाख र मुख्य सडक छेऊको जग्गाको मूल्य १२ लाख निर्धारण गरेको हो । पुरानो मूल्याङ्कनमा समेत आयोजनाले छलफल गरेको थियो ।

माथिल्लो तामाकोसीले तामाकोसी करिडोरमा विद्युत हव बनाउने गरी फुलासीमा ठूलो सवस्टेशन बनाउने योजना छ । प्राधिकरणकै अनुरोधमा दोलखा, रामेछाप, सोलुखुम्बु र ओखलढुङ्गाको लिखु खोला समेतमा बन्ने आयोजनाबाट उत्पादन हुन सबै विद्युत जोड्नका लागि सहज हुने गरी सो सव स्टेशन निर्माण प्रक्रिया अघि बढाएको हो ।
माथिल्लो तामाकोसीले गोंगरदेखि २२० केभीको डबल सर्किटको प्रसारण लाइन पूरा गर्न लागेको छ । खिम्ती उपत्यकामा बन्ने आयोजनाहरुका लागि गर्जाङ–खिम्ती १३२ केभीको प्रसारण लाइन पनि सुरु भएको छ । लामो विवाद र अवरोध छिचोलेर खिम्ती–ढल्केबर प्रसारण लाइन एक वर्ष अघि सञ्चालनमा आउँदा काठमाडौंमा विद्युत आपूर्तीमा सहज भएको थियो । खिम्ती–बाह्रविसे काठमाडौं ४०० केभी प्रसारण लाइन निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढेको छ ।
यि सबै प्रसारण लाइनको कारण पनि न्यू खिम्ती सब स्टेशन झनै महत्वपूर्ण मानिन्छ । दोलखा, सिन्धुपाल्चोक, रामेछाप, सोलुखुम्ब र ओखलढुङ्गाको पश्चिमी क्षेत्रको विद्युत एकीकृत गरी तराई हुुँदै पूर्व पश्चिम, काठमाडौं लैजान र भारतमा समेत विद्युत आयत निर्यातको योजना सहित यो सव स्टेशन प्राधिकरणले बनाउन लागेको हो ।