एकघर एकधारा, पुरा गर्दै सेवक दोलखा, आफ्नो अभिभारा

 आवाज संवाददाता     २१ मंसिर २०७६, शनिबार

मंसिर २१, चरिकोट । दोलखाको भीमेश्वर नगरपालिकावडा नं. ७ कुप्री गाउँका ६२ घरमा एकघर एकधारा निर्माण गरी समुदायलाई हस्तान्तरण गरिएको छ ।

युएसएड, सफा पानी परियोजनाले २०७५ फागुन १७ देखि निर्माण सुरु गरिएको खानेपानी आयोजना भीमेश्वर नगरपालिकाका प्रमुख, युएसएड, सेवक नेपालका प्रतिनिधीको उपस्थितिमा शुक्रबार समुदायलाई हस्तान्तरण गरिएको हो ।

खानेपानी आयोजना निर्माणका लागि युएसएड, भीमेश्वर नगरपालिका र स्थानीय उपभोक्ताले २६ लाख ६० हजार ३३७ रुपैयाँ एवं सेवक नेपाल र सामुदायिक विकास मञ्च नेपालले प्राविधिक लगानी गरेका छन् । खानेपानी टुटफुट भएमा मर्मत सम्भारका लागि उपभोक्ताको तर्फबाट ३१ हजार र सेवक नेपाल÷युएसएड (सफा पानी परियोजना) को ३० हजार रुपैयाँ गरी ६१ हजारको मर्मत सम्भार कोष खडा गरिएको छ ।

खानेपानी हस्तान्तरण कार्यक्रममा कुप्री खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष पूर्ण बहादुर थापाले घरघरमा पानी धारा आएपछि खुसी व्यक्त गरे । उनले खानेपानीको मुहानदाता, आर्थिक सहयोग गर्ने संस्था देखि ट्याङ्की निर्माण एवं पाइपलाइन खन्न श्रमदान प्रदान गर्ने सबैलाई धन्यबाद व्यक्त गरे ।

सफा पानी परियोजनाले इन्टेक सहित ४ वटा ट्याङ्की, पाईपलाइन तथा ६२ वटा धारा निर्माण गरिएको सेवक नेपालका संयोजक प्रल्हाद तिमल्सिनाले जानकारी दिए । उनका अनुसार आयोजनाबाट ६२ घरका २५४ जना लाभान्वित भएका छन् । लाभान्वित क्षेत्रमा एक विद्यालय र एक स्वास्थ्य चौकी समेत रहेको छ ।

आयोजना हस्तान्तरण कार्यक्रममा भीमेश्वर नगरपालिकाका मेयर भरत बहादुर केसीले आफ्नो मिहेनत भएको योजना टिकाउ हुने र समुदायले यसलाई उपयोग र संरक्षण गर्नेमा विश्वस्त रहेको बताए । उनले आर्थिक उपार्जनका लागि खानेपानीको सदुपयोग गरी तरकारी खेती गर्न समेत उपभोक्तालाई आग्रह समेत गरे । कार्यक्रममा जग्गा एवं मुहानदाता सोमबहादुर तामाङलाई सम्मान गरिएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।