कालिन्चोकका ६ विद्यार्थीलाई छात्रवृत्ति

 आवाज अनलाइन     २२ मंसिर २०७६, आईतवार

दोलखा

दोलखा जिल्ला सदरमुकाम चरिकोटस्थित कालिन्चोक माविमा अध्ययनरत ६ जना विद्यार्थीलाई सुजन–परिता एजुकेसन फाउण्डेसन अमेरिकाले छात्रवृत्ति प्रदान गरेको छ ।
कालिन्चोक माध्यमिक विद्यालय, चरिकोटबाट एसईई परीक्षामा उत्कृष्ट ग्रेड प्राप्त गर्ने ६ जना विद्यार्थीलाई फाउण्डेसनले छात्रवृत्ति प्रदान गरेको हो । ६ जनामध्ये सर्वोत्कृष्ट एक छात्रा र एक छात्रलाई ल्यापटप र जनही २५ हजार रुपैयाँ प्रदान गरिएको छ भने अन्य ४ जनालाई जनही २५ हजार रुपैयाँ प्रदान गरिएको छ । छात्रवृत्ति वितरण कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख डलब पाण्डेले उनीहरुलाई छात्रवृत्ति प्रदान गरेका हुन् । उत्कृष्ट ग्रेड ल्याएका र सोही विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुलाई विगत ५ वर्षदेखि फाउण्डेसनले छात्रवृत्ति प्रदान गदैै आएको छ ।
कार्यक्रममा विद्यालयबाट सर्वोत्कृष्ट ग्रेड प्राप्त गर्ने राकेश कुमार दास र कृपा सुनामले ल्यापटपसहित नगद २५ हजार रुपैयाँ जनही प्राप्त गरेका छन् भने अप्सरा दाहाल, अविनास कुसुले, मिलन न्यौपाने र पुस्पा थापाले जनही २५ हजार रुपैयाँ छात्रवृत्ति पाएका छन् ।
सो अवसरमा सुजन परिता एजुकेसन फाउण्डेसनका संस्थापक अध्यक्ष सुजन न्यौपाने र कालिन्चोक विद्यार्थी समाज (सोकास) दोलखाका संस्थापक सदस्य राजेन्द्र मानन्धरलाई विद्यालयको तर्फबाट दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सोकास दोलखाका अध्यक्ष दीपक बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आले, सुजन परिता एजुकेशन फाउन्डेसनका संस्थापक अध्यक्ष सुजन न्यौपाने, कालिन्चोक माविका प्रधानाध्यापक नवराज न्यौपाने, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामा, कालिन्चोक विद्यार्थी समाजका संस्थापक सदस्य राजेन्द्र मानन्धर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।