राप्रपा धादिङको पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न

 आवाज संवाददाता     ३० मंसिर २०७६, सोमबार

मंसिर ३०, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङले पार्टीका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको प्रमुख आतिथ्यतामा आज साेमबार प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको थियो । अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम पश्चात धादिङका नेकपा र नेपाली काँग्रेस परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकाहरुलाई पार्टी सदस्यता प्रदान गरिएको थियो ।

कार्यकर्ता प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै वरिष्ठ उपाध्यक्ष तामाङले भर्खरै सम्पन्न भएको निर्वाचनबाट निरास नभई थप मेहनत र दृढ विश्वासका साथ पार्टीमा काम गर्न कार्यकर्ताहरुलाई आग्रह गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको बैकल्पिक राजनीतिक पार्टी भएको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष तामाङले जनताले प्रत्यक्ष अनुभुति गर्ने गरी काम गर्न स्थानीय सरकारका प्रतिनिधीहरुलाई आग्रह गरेका थिए ।

रुबीभ्याली गाउँपालिकाका अध्यक्ष चेरुम तामाङको अध्यक्षतामा भएको उक्त प्रशिक्षण कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य तथा पार्टीका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रशिक्षण कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका आमन्त्रित केन्द्रीय सदस्यहरु रुम्वा घले, सरस्वती लामा, राष्ट्रिय प्रजातन्त्रिक युवा संगठनका ठिलेन तामाङ, दलेलाल तामाङ, च्याङवा तामाङ लगाएतले प्रशिक्षण दिएका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।