कालिञ्चोक माविको ४९ औँ वर्षगाँठ : शिक्षा पत्रकारिता पुरस्कार पत्रकार गौतमलाई

 आवाज अनलाइन     २ पुष २०७६, बुधबार

दोलखा

दोलखा जिल्लाको सदरमुकाम चरिकोट स्थित कालिञ्चोक माध्यमिक विद्यालयले ४९ औँ वर्षगाँठ मनाएको छ । विसं २०२८ मा स्थापना भएको बिद्यालयले आज ४९ औँ वार्षिक दिवस भव्य रुपमा मनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथि भीमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसीले समारोहको उद्घाटन गर्दै शिक्षा क्षेत्रमा नगरले सबैभन्दा धेरै लगानी गरेको दाबी गरे । नगरपालिकाले दिवा खाजा, निशुल्क पोसाक र बिद्यार्थीलाई खेलमा आबद्ध गराउन विभिन्न प्रतियोगिता आयोजना गरेको स्पष्ट पारे । उनले भीमेश्वर नगरपालिका बालमैत्रीको रुपमा घोषणा भैसकेको नगरपालिका भएकाले पनि बालबालिकाको शिक्षा र स्वास्थ्यमा जिम्मेवारीपुर्ण ढंगले नगरपालिका अघि बढेको दावी गरे ।
विद्यालयका सहायक प्रधानाध्यापक गणेशकुमार श्रेष्ठले स्वागत मनतव्य राखेका थिए भने प्रधानाध्यापक नवराज न्यौपानेले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक न्यौपानेले विभिन्न शिर्षकबाट ३ करोड ४ लाख ३८ हजार १ सय ४४ रुपैँया आम्दानी गरेको बताए । यो विद्यालय नमुना विद्यालयका लागि छनौटमा परी नमुना बन्ने प्रक्रियामा रहेकोले उल्लेख गर्दै उनले शिक्षक, अभिभावक, व्यवस्थापन समिति र विद्यार्थीलाई नमुना विद्यालय बनाउन सहयोग गर्न आग्रह गरे । उनले विद्यालय आर्थिक रुपले पारदर्शी हुनुको साथै मजवुत समेत रहेको धारणा व्यक्त गरे । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठ, नगर शिक्षा समितिका सदस्य तथा कुटीडाँडा माविका प्रधानाध्यापक शंकरलाल श्रेष्ठ, चरिकोट बहुमुखी क्याम्पसका प्रमुख कृष्णबहादुर गौतम, शिक्षक अभिभावक संघका अध्यक्ष विर्ख गुरुङ, विद्यार्थी प्रतिनिधि बालक्लबका अध्यक्ष सचिन खरेल, सहायक प्रधानाध्यापक गणेशकुमार श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए ।

शिक्षा पुरस्कारबाट पत्रकार गौतम सम्मानित

कार्यक्रममा अमर स्मृति शैक्षिक पत्रकारिता पुरस्कारबाट पत्रकार तथा कालिञ्चोक माविका शिक्षक शम्भु गौतम पुरस्कृत भएका छन् । पुरस्कार कार्यक्रमका प्रमुख अतिथि भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसी तथा संस्थापक स्व. अमरबहादुर थापाकी धर्मपत्नी अलैँची थापाले प्रदान गरेका हुन् । नेपाल टेलिभिजन, स्पेस टाइम, आजको शिक्षा साप्ताहिक, सरलपत्रिका अनलाईनमा काम गरिसकेको पत्रकार गौतम हाल आवाज अनलाइनका प्रधान सम्पादक छन् । त्यसैगरी हिमालय टाइम्स तथा सदृश्य अनलाइनमा समेत आवद्ध छन् । सो पुरस्कार सोही विद्यालयका तत्कालीन शिक्षक स्वर्गीय अमर बहादुर थापाको सम्झनामा उनको परिवारले स्थापना गरेका हो । पुरस्कार राशि ५ हजार रुपैयाँको छ ।
त्यसैगरी कालिन्चोक माविमा अध्ययन गर्ने ३ जना दृष्टिबिहीन र भीमेश्वर बहिरा विद्यालयमा अध्ययन गर्ने ३ जना सुस्तश्रवण विद्यार्थीहरुलाई राजेन्द्रलक्ष्मी खरेल शिवोकोटी दृष्टिबिहीन तथा सुस्तश्रवण विद्यार्थी सशक्तीकरण अक्षयकोषबाट जनही एक हजार ५ रुैपैयाँको छात्रवृत्ति प्रदान गरिएको छ । त्यस्तै टीका–रत्न स्मृति छात्रवृत्ति कोषबाट कालिन्चोक माविमा अध्ययन गर्ने २ जना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ । यो छात्रवृत्ति कोष कालिन्चोक माविका प्रधानाध्यापक नवराज न्यौपाने र उनकी धर्मपत्नी दुर्गाकुमारी न्यौपानेले आफ्ना बाआमाको स्मृतिमा स्थापना गरेका हुन् । यसैगरी गत वर्ष एसईई परीक्षामा सवोत्कृष्ट ग्रेड प्राप्त गर्ने विद्यार्थीलाई प्रचार्य पुरस्कारबाट सम्मान गरिएको छ ।
वार्षिक दिवसका अवसरमा विद्यालयले आयोजना गरेको अन्तर सदनगत भलिबल प्रतियोगिता छात्रछात्रा, सदनगत फुटबल प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।