विप्लवको एकै कार्यकर्तालाई ३ जिल्ला घुमाई घुमाई पक्राउ

 आवाज संवाददाता     ११ पुष २०७६, शुक्रबार

रवीन्द्र गौतम । दोलखा

पुस ११, चरिकोट । प्रहरीले प्रतिवन्धित विप्लव माओवादीका पूर्व विद्यार्थी नेतालाई ३ जिल्लाबाट चरणबद्व ढंगले पक्राउ गरेको छ ।

षदानन्द नगरपालिका–१, नेपालेडाँडा, भोजपुरका ३७ बर्षिय तिर्थबहादुर राईलाई प्रहरीले ८ महिनाको अवधिमा चरणवद्व रूपमा ३ जिल्लाबाट तीनपटक पक्राउ गरेको हो । राईलाई प्रहरीले सिन्धुली, रामेछाप र दोलखा गरि ३ जिल्ला घुमाई घुमाई पक्राउ गर्नु सबैभन्दा रोचक छ । राईलाई प्रहरीले सिन्धुलीबाट २०७६ जेठ १०, रामेछापबाट मंसिर ४ र दोलखाबाट मंसिर २९ गते पक्राउ गरेको हो । तीन जिल्लाले पक्राउ गरेको सो मितिभन्दा पहिला राईको विरुद्धमा कुनै पनि मुद्दा दर्ता भएका थिएनन् ।

प्रतिबन्धित विप्लव माओवादीको रूपमा शंकास्पद गतिविधि गरिरहेको अवस्थामा राईलाई कमलामाई नगरपालिका–१, गाडीगुराँसबाट मरिनतर्फ गईरहेको बस खानतलासी गर्दा २०७६ जेठ १० गते पक्राउ गरिएको सिन्धुली प्रहरी प्रमुख एसपी चक्र सिंहले बताए । पक्राउ परेका राईलाई सिन्धुली प्रहरीले अभद्र व्यवहार गरेको मुद्दा दर्ता गरि जिल्ला प्रशासन सिन्धुलीमा बुझाउँछ । सिन्धुलीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले भने, ‘२१ हजार धरौटी माग गरिएकोमा धरौटी नबुझाए पछि पुर्पक्षका लागि थुनामा पठाइएको थियो ।’ पछि भदौ १९ गते राईलाई ६ महिनाको लागि काराबासको फैसला गरिएको प्रजिअ गौतमले जानकारी दिए ।

६ महिनाको कैद सजाय भुक्तान गरिसकेर छुटेपछि राईलाई सिन्धुली प्रहरीले प्रशासन कार्यालयबाटै पक्राउ गरेर सिन्धुलीको सेलेघाट पुर्याएर रामेछाप प्रहरीलाई मंसिर ४ गते बुझाउँछ । सिन्धुली प्रहरीमार्फत सेलेघाटबाट रामेछाप प्रहरीले मंसिर ४ गते नै फेरि राईलाई पक्राउ गरेर मन्थली लगेर प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा सार्वजनिक मुद्दा दर्ता गरेर २५ दिन थुनामा राख्छ । रामेछापकी प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसीले मंसिर २९ गते साधारण तारेखमा राई रिहा गरिएको बताइन् । उनले भनिन्, ‘त्यसपछि कहाँ गए जानकारी छैन ।’

तर रामेछाप प्रहरीले सोही दिन प्रशासनबाटै पुनः पक्राउ गरेर मंसिर २९ गते नै दोलखाको किर्नेटार प्रहरीलाई बुझाउँछ । रामेछाप प्रहरीमार्फत मंसिर २९ गते तेस्रोपटक पक्राउ गरेर राईलाई दोलखा प्रहरीले सदरमुकाम चरिकोट ल्याएर शंकास्पद हर्कत देखाएको आरोपमा सार्वजनिक मुद्दा दर्ता गरेर अनुसन्धान भईरहेको दोलखाका प्रहरी प्रमुख डीएसपी रेवतीरमण पोखरेलले जानकारी दिए ।

तेस्रोपटक पक्राउ परेका राई १३ दिनदेखि दोलखा प्रहरीको हिरासतमा रहेका छन् । डीएसपी पोखरेलले भने, ‘अनुसन्धान सकिए पछि प्रशासनमा बुझाउँछौ, फैसला के आउँछ सोही अनुसार हुन्छ ।’ घटना विवरण हेर्दा पक्राउ परेका राईलाई पटके मुद्दाका आरोपी प्रमाणित गराउन खोजेजस्तो बुझिने दोलखाका एक कानुन व्यवसायीले बताए । उनले भने, ‘यो राज्य आतंकको पराकाष्ठा हो ।’

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।