किवी महोत्सवः २० किलोको घरतरुलदेखि किवीको जामसम्म

 आवाज संवाददाता     १६ पुष २०७६, बुधबार

रवीन्द्र गौतम । दोलखा

पुस १६, चरिकोट । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर दोलखाको सदरमुकाम चरिकोटमा ७ दिने किवी महोत्सव शुरु भएको छ ।
७ दिनसम्म चल्ने महोत्सवमा किवीका विभिन्न उत्पादनसहित कृषि उपजलाई प्राथमिकताका दिईएको छ ।

भीमेश्वर नगरपालिकाद्वारा जनवरी १ बुधबारदेखि ७ दिने किवी महोत्सवको आयोजना गरेको हो । प्रदेश ३ का भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले महोत्सवको चरिकोटमा भब्य समारोहका विच उद्घाटन गरे ।

भीमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसीले नेपाल भ्रमण वर्ष २०२० सँगै दोलखाका पर्यटकीय स्थलको प्रचार–प्रसार तथा दोलखामा उत्पादित किवीको बजारीकरणका लागि महोत्सवको आयोजना गरिएको बताए ।

महोत्सवमा कृषक माधव न्यौपानले फलाएका २० किलोको घरतरुल विशेष आकर्षण रहेको थियो । विभिन्न किवी किसानले उत्पादन गरेका किवी र किवीबाट बनेको जाम, स्क्वास लगायत प्रदर्शनीमा राखिएको थियो ।

दोलखा जिल्लामा हाल किवी जोनअन्र्तगत ११९ विभिन्न कम्पनी, फर्म, सहकारी तथा किवी खेती गर्ने ब्यक्तिहरु आवद्ध रहेको किवी जोन दोलखाकी अध्यक्ष उषा थापाले बताईन । बुधबारबाट सुरु भएको किवी महोत्सब सोमबार चल्ने आयोजकले जनाएको छ । महोत्सवमा किवी फल, किवीसँग सम्बन्धित उत्पादनहरु, अन्य फलफुलहरु तथा दोलखामा उत्पादित विभिन्न सामग्रीहरुका स्टल राखिएको छ ।

नेपालमै पहिलोपटक किवी खेतीको सुरुवात गरेका श्याम खड्कालाई महोत्सवको अवसरमा नगद २० हजारसहित सम्मान गरिएको छ ।


त्यसैगरी दोलखा जिल्लामा किवी खेतीलाई प्रवद्र्धन गर्नमा उच्च योगदान गरेकोमा बागवानी केन्द्र बोचका तत्कालीन कार्यालय प्रमुख चन्द्रमान श्रेष्ठलाई नगद २० हजारसहित सम्मान गरिएको छ ।

विश्व साइकल यात्री पुष्कर शाहलाई नेपाल र दोलखाको पर्यटनमा महत्वपूर्ण योगदान गरेको भन्दै नगद २० हजार सहित सम्मान गरिएको थियो ।


दोलखामा चालु आर्थिक बर्षमा किवी उत्पादक कम्पनी, फर्म, सहकारी तथा कृषकहरुले ४ सय ५० मेट्रिकटन किवी उत्पादन गरेको किवी जोन दोलखाका कार्यालय प्रमुख मोहनप्रसाद खतिवडाले बताए । हालको बजार मूल्यलाई आधारमा ३ करोड ५० लाखको किवी विक्री भएको किवी जोनको अनुमान रहेको उनको भनाई छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।