स्थानीय सरकारलाई ५२ लाख ठगे दाेलखाका क्रसर व्यवसायीले

 आवाज संवाददाता     ८ माघ २०७६, बुधबार

रवीन्द्र गौतम । दोलखा

माघ ८, चरिकोट । दोलखा जिल्लामा अबैध रुपमा सञ्चालनमा रहेका ८ क्रसर व्यवसायीले नदिजन्य उत्पादनको दोहनमा स्थानीय सरकारलाई ठगि गरेको खुल्न आएको छ ।

अघिल्लो आर्थिक बर्षमा विभिन्न स्थानीय तहले लगाएको ठेक्कामा नदिजन्य उत्पादनको विक्री परिमाण छलि तथा भ्याटवापतको रकम समेत ठगि गरेको खुल्न आएको हो ।

जिल्लाको भीमेश्वर नगरपालिका, तामाकोशी र कालिञ्चोक गाउँपालिका गरी तीन स्थानीय तहले आर्थिक बर्ष २०७५÷०७६ मा लगाएको बालुवा, गिटी, रोडा ढुंगाको ठेक्कामा ति ८ क्रसर व्यवसायीले विक्री परिमाण छलि तथा भ्याटवापतको करिब ५२ लाख राजश्व तथा कर ठगि गरेको खुलेको छ ।

आर्थिक बर्ष २०७५÷०७६ को लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदनअनुसार ८ ओटा क्रसर सञ्चालकले दोलखाको तीन स्थानीय सरकारलाई ५१ लाख ५४ हजार रकम छलि गरेको पाइएको हो ।

तामाकोशी गाउँपालिकामा रहेका तीन क्रसर व्यवसायीले सबैभन्दा बढि ठगि गरेको सो पालिकाको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ ।

लेखापरीक्षण प्रतिवेदनअनुसार तामाकोशी गाउँपालिकास्थित ढोलीखोला क्रसर उद्योगले २६९३ दशमलब ५० घनमिटर सामग्री निकासी गरेको जनाई प्रतिघनमिटर १६० को दरले चारलाख ३० हजार ९६० राजश्व गाउँपालिकामा बुझाएको छ । सो क्रसरले सोही गाउँपालिकामा मूल्य अभिवृद्धि कर (भ्याट) दावी गर्न पेश गरेको कर विजकमा भने ५०८५ दशमलब ५० घनमिटर सामग्री निकासी गरेको विवरण पेश गरेको पाइएको छ । नगदी रसिदमा घटि देखाएको र भ्याट दावीमा २३९२ घनमिटर बढि परिमाण देखाई प्रति घनमिटर १६० को दरले तीनलाख ८२ हजार सातसय २० ठगि भएको देखिएको लेखापरीक्षण प्रतिवदेनमा उल्लेख छ । ढोलीखोला क्रसर उद्योगका सञ्चालक पृथ्वी श्रेष्ठले अघिल्लो बर्षको सबै कर तिरिसकेको बताए ।

तामाकोशी गाउँपालिकास्थित अर्को क्रसर तामाकोशी रोडा ढुङ्गा उद्योग एण्ड सप्लायर्स प्रालिले १८१९ दशमलब ५० घनमिटर सामग्री निकासी गरेको जनाई प्रतिघनमिटिर १६० को दरले दुईलाख ९१ हजार १२० गाउँपालिमा राजश्व बुझाएको छ । सो क्रसरले गाउँपालिकामा पेश गरेको भ्याट विलअनुसार ८२३७ घनमिटर सामग्री निकासी गरेको छ । नगदी रसिदमा घटि देखाउने र भ्याट दावीमा ६४१७ दशमलब ५० घनमिटर बढि माग गरेको १६० को दरले १० लाख २६ हजार ८०० राजश्व ठगि गरेकोले गाउँपालिकालाई असुल गर्न लेखापरीक्षणले निर्देशन दिएको छ । तामाकोशी रोडा ढुङ्गा उद्योग एण्ड सप्लायर्स प्रालिका सञ्चालक सुरेश उप्रेतीले कुनै पनि राजश्व तथा कर तिर्न बाँकी नरहेको दावी गर्दै थप कुरा गाउँपालिकामा बुझ्ने बताए ।

तामाकोशी गाउँपालिकामा नै रहेको अर्को जलदेवी क्रसर उद्योग गोपीखोलाले पनि वातावरणीय प्रभाव मूल्याङ्कणभन्दा अत्यन्त न्युन एकहजार ३५ घनमिटर मात्र उत्पादन भएको देखाएको प्रतिवेदनमा उल्लेख छ । सो क्रसर उद्योगले लेखापरीक्षणको अवधिसम्म भ्याट दावी नगरेकोले कति राजश्व गुमेको हो एकिन गरी असुल गर्न सुझाव दिएको छ ।

कालिञ्चोक गाउँपालिकास्थित कालिञ्चोक रोडवेज प्रालि नामक क्रसरले पनि नागदह, मलेपु, कोशीखेत, गुमुखोला, चप्लेटी र सिंगटी क्षेत्रमा बालुवा, गिटी, रोडा ढुंगा संकलनको ठेक्का लिएकोमा सम्झौता बमोजिमको भ्याट रकम नबुझाएकोले क्रसरबाटे व्याज, शुल्क र जरिवाना समेत २६ लाख एकहजार ९५० असुल गरी संघिय राजश्व संकलन गर्न भनेको छ ।

त्यसैगरी भीमेश्वर नगरपालिकालाई पनि बुस्ती निर्माण सेवा, फस्कु निर्माण सेवा, जलेश्वरी देवी निर्माण सेवा सहितका विक्रीकर्ता क्रसरले भ्याट वापतको रकम बाहेक मात्र बुझाएकोले भ्याटमा लाग्ने व्याज र जरिवाना सहित ११ लाख ४२ हजार १५२ कर असुल गर्न लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।