सशस्त्र प्रहरी दिवसमा अनाथलाई सहयोग (फोटो फिचर)

 आवाज अनलाइन     ९ माघ २०७६, बिहीबार

दोलखा, माघ ९

सशस्त्र प्रहरी बल चरिकोट गुल्मले आफ्नो १९ औँ वार्षिक दिवसको अवसरमा गौरीशंकर बालगृहका बालबालिकालाई सहयोग गरेको छ ।
१९ औँ वार्षिकोत्सवको अवसरमा बालगृहको प्राङ्गणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बालगृहमा आश्रित ३० जना बालबालिकाहरुलाई खाद्यान्न, खेलकुद सामग्री तथा स्टेसनरी वितरण गरेका हुन् ।
सशस्त्र प्रहरी बल चरिकोट गुल्मपति प्रहरी नायव उपरीक्षक मोहनबहादुर क्षेत्रीले बालगृहका बालबालिकाहरुलाई सहाराको अनुभूति दिनका लागि बालगृहको प्राङ्गणलाई कार्यक्रमस्थल रोजिएको र मनोरञ्जनात्मक कार्यक्रमसमेत आयोजना गरिएको बताए । कार्यक्रममा सशस्त्र प्रहरीका जवानहरुले मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए ।
यसैगरी बलको १९ वार्षिकोत्सवको अवसरमा गुल्मका कर्मचारीहरुले रक्तदान समेत गरेका थिए । दोलखा जिल्ला रेडक्रसको समेत सहयोगमा गुल्मपतिसहित गुल्मका १३ जना कर्मचारीहरुले रक्तदान गरेको गुल्मले जानकारी दिएको छ ।
यसअघि सोही अवसरमा गुल्मले गौरीशंकर बालगृह परिसरको सरसफाइ गर्नुका साथै गुल्म परिसरमा किवीलगायत विभिन्न जातका विरुवा रोपिएको गुल्मले जानकारी दिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।