तामाङ र पाण्डे भए कालिञ्चोक स्की च्याम्पियन

 आवाज संवाददाता     ११ माघ २०७६, शनिबार

रवीन्द्र गौतम । चरिकाेेट

चर्चित पर्यटकीयस्थल कालिञ्चोकमा पहिलोपटक आयोजना गरिएको कुरी स्की तथा स्नोबोर्डिङ च्याम्पियनसिपमा विशाल तामाङ र पुण्डरिक पाण्डे प्रथम भएका छन् ।

कालिञ्चोक क्षेत्रमा बिहिबार र शुक्रबार स्नोबोर्ड र स्कीको आधारभूत तालिम गरी शनिबार सम्पन्न फाइनल खेलमा तामाङ र पाण्डे प्रथम भएका हुन् ।

स्की तथा स्नोबोर्ड प्रतिष्ठान नेपालले बिहिबारबाट कालिञ्चोक गाउँपालिकाको कालिञ्चोक क्षेत्रमा आयोजना गरेको प्रथम कुरी स्की÷स्नोबोर्डिङ च्याम्पियनसिपमा स्नोबोर्डतर्फ २० बर्षिय बिशाल तामाङ र स्कीतर्फ ३५ बर्षिय पुण्डरिक पाण्डे प्रथम भएको प्रतियोगितका इभेण्ट म्यानेजर सौगात थापाले बताए । प्रतियोगितमा २५ जनाको सहभागिता रहेको थियो ।

स्नोबोर्डतर्फ दोस्रो र तेस्रो क्रमश १४ बर्षिय दावा तामाङ र १२ बर्षिय नविन तामाङ भएको आयोजकले जनाएको छ ।

स्कीतर्फ २८ बर्षिय छिरिङ तामाङ दोस्रो र २६ बर्षिय रमेश पाख्रिन तेस्रो भएको इभेण्ट म्यानेजर थापाले जानकारी दिए ।

स्की र स्नोबोर्ड गरी दुई विधामा आयोजना गरिएको च्याम्पियनसिपमा ट्रायल राउण्ड, क्वालिफाइङ राउण्ड र फाइनल राउण्ड गरी तीन चरणमा प्रतियोगिता सञ्चालन गरिएको इभेण्ट म्यानेजर थापाले बताए । प्रतियोगिता स्की तथा स्नोकोर्डिङको स्लालम रेसको नियमअनुसार खेलाइएको थियो ।

प्रतियोगितका विजयीहरुलाई कालिञ्चोक गाउँपालिकाका अध्यक्ष बिनकुमार थामीले ट्रफि मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

नेपाल माउण्टेन एकेडेमीले मुस्ताङमा आउँदो बुधबारदेखि आयोजना गर्ने राष्ट्रिय च्याम्पियनसिपमा प्रथम भएका तामाङ र पाण्डेले प्रतिष्पर्धा गर्ने इभेण्ट म्यानेजर थापाले जानकारी दिए ।

साहसिक खेलको विकास तथा पर्यटन प्रवद्र्धन गर्न प्रतिष्ठानले विगत ४ वर्षदेखि स्की तथा स्नोबोर्डको विभिन्न कार्यक्रम गर्दै आएको छ ।

स्की तथा स्नो बोर्डिङलाई नेपालमा लोकप्रिय खेलको रुपमा विकास गर्दै युवाहरुको बीचमा स्थापित गरी अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी गराइने मुख्य उद्देश्य रहेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।