पेनस्टक जडानमा ढिला हुँदा माथिल्लो तामाकोशीबाट चैतमा परीक्षण उत्पादन असम्भब

असार महीनाभित्र सुरुङमा पानी पठाई परीक्षण गर्न सकिने

 आवाज संवाददाता     १५ माघ २०७६, बुधबार

नवराज शिवाकोटी । चरिकोट

दोलखा  । राष्ट्रिय गौरवको ४५६ मेवा क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट चैत्र मसान्तसम्म पनि विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा नहुने देखिएको छ ।

आयोजनाको कठिन काम मानिएको तल्लो भर्टिकल साफ्ट तथा माथिल्लो भर्टिकल साफ्टमा पेन स्टक जडानमा भएको ढिलाइले चैत्र मसान्तसम्ममा परीक्षण उत्पादन गर्ने लक्ष्य पूरा नहुने देखिएको हो ।

असार १ बाट तल्लो भर्टिकल साफ्टमा तथा माथिल्लो भर्टिकल साफ्टमा असार १० बाट पेनस्टक जडान गर्न शुरु गरिएकोमा सात महीनाको अवधिमा जम्मा ३०० मिटरमात्र पेनस्टक जडान सम्पन्न हुनुले  चैत्र मसान्तसम्ममा परीक्षण उत्पादन शुरु हुने कुरा प्राविधिक र व्यवहारिक रुपमा पनि असम्भव देखिएको छ ।

माघ १० गते सम्ममा ३७३ मिटरको तल्लो भर्टिकल साफ्टमा २०० मिटर र ३१० मिटरको माथिल्लो भर्टिकल साफ्टमा १०० मिटर पेनस्टक पाइप जडान भएको आयोजना प्रमुख दिनेशजंग राणाले  जानकारी दिए ।

लट २ को हाइड्रो मेकानिकलको भारतीय ठेकेदार कम्पनी टेक्स म्याको रेल्वे इञ्जिनीयरिङले काममा ढिलाइ गरेपछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, टेक्सम्याको र एन्द्रिजबीचमा त्रिपक्षीय सम्झौता भइ  तल्लो भर्टिकल साफ्टमा पेनस्टक जडानको काम एन्द्रिजलाई दिइएको थियो  भने माथिल्लो भर्टिकल साफ्टमा टेक्सम्याकोले नै पेनस्टक जडानको काम गरिरहेको छ ।

पछिल्लो चरणमा पेनस्टक जडानको कामको गति सन्तोषजनक रहेकोले बैशाख ३ गतेसम्ममा पेनस्टक जडानको काम सकिने आयोजना प्रमुख राणाको भनाइ छ । पावरहाउस भित्र पेनस्टकसँग सम्बन्धित अन्य काम सक्न करीब २ महीना लाग्ने भएकोले काम सम्पन्न भएपछि असार महीनाभित्र सुरुङमा पानी पठाई परीक्षण गरिने आयोजना प्रमुख राणाले बताए ।
असारमा परीक्षण उत्पादन हुन सक्ने

सुरुङ तथा पेनस्टकको परीक्षण सफल भएमा असार मसान्त सम्ममा विद्युत् गृहमा जडान गरिएका ६ युनिटमध्ये एक युनिटबाट परीक्षण उत्पादन शुरु गर्न सकिने आयोजनाका प्रवक्ता डाक्टर गणेश प्रसाद न्यौपानेले बताए ।

उनका अनुसार अहिले विद्युत् गृहमा इलेक्ट्रो मेकानिकलको काम करीब सम्पन्न भइसकेको छ । यसैगरी सुरुङको कंक्रिटीङको काम पनि अन्तिम चरणमा पुगेको छ ।

माथिल्लो तामाकोशी आयोजनाको तल्लो भर्टिकल साफ्टमा पेनस्टक राख्ने तयारी गर्दै प्राविधिक तथा मजदूरहरु

आयोजनाको ट्रासमिशन लाईन निर्माणको काम करीब समाप्त भइसकेको छ । रामेछापको फुलासीमा सब–स्टेशन निर्माणको काम अन्तर्गत सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको उनको भनाइ छ । सिभिल संरचनाको काम सम्पन्न भएपछि असार सम्ममा सव–स्टेशनमा आवश्यक उपकरण जडान गर्ने काम सम्पन्न हुने प्रवक्ता न्यौपानेले बताए ।
आयोजनाको लागत ७२ अर्ब माथि पुग्ने

प्रवक्ता न्यौपानेका अनुसार अहिलेसम्म आयोजना निर्माणमा करीब रू.४८ अर्ब खर्च भइसकेको छ । डलरमा भएको मूल्य वृद्धि, ऋणको ब्याज, प्रशासनिक खर्च लगायतका कारण आयोजना समाप्त हुँदा सम्म आयोजनाको लागत रू.७२ अर्बभन्दा केही बढी हुन सक्ने उनको अनुमान  छ । समग्रमा आयोजनाको प्रगति ९९ दशमलब ३ प्रतिशत पुगेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बताएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।