विगुल फाउण्डेशनद्वारा सवालाखको शैक्षिक अक्षयकोष स्थापना, ४ जनालाई सम्मान

 आवाज संवाददाता     १५ माघ २०७६, बुधबार

आवाज सम्वाददाता । चरिकोट

दोलखा । विगुल फाउण्डेशनको स्थापनाको अवसरमा गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटमा एकलाख ११ हजार एकसय ११ रुपैयाँको शैक्षिक अक्षयकोषको स्थापना गरिएको छ ।

फाउण्डेशनका संरक्षक लक्ष्मण गुभाजुले स्व. बहिनी होमकुमारी गुभाजुको नाममा सो शैक्षिक अक्षयकोषको स्थापना गरेका हुन् । फाउण्डेशनको स्थापनाको अवसरमा कला, शिक्षा र पत्रकारिता क्षेत्रका चारजनालाई सम्मान समेत गरिएको छ ।

विगुल फाउण्डेशनबाट सम्मानित हुनेहरुमा बरिष्ठ कलाकार एवं जेष्ठ नागरिक संघका केन्द्रीय अध्यक्ष मदनदास श्रेष्ठ, शिक्षाविद् प्राध्यापक डा. सुधा त्रिपाठी, पत्रकार चिरञ्जीवी मास्के र गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोटका क्याम्पस प्रमुख शान्त केसी रहेका छन् ।

सम्मानपत्र प्रदान गर्दै बागमति प्रदेश सदस्य विशाल खड्काले समाजको विकास र परिर्वतनको लागि सामाजिक अभियन्ताहरुको सकारात्मक अभियान महत्वपूर्ण हुने बताए । सामाजिक अभियन्ता लक्ष्मण गुभाजु र श्रीमती विपना श्रेष्ठ गुभाजुले बैवाहिक बर्षगाठको अवसरमा बिगुल फाउण्डेशनको स्थापना गरेका हुन् ।

विगुल फाउण्डेशनकी अध्यक्ष विपना श्रेष्ठ गुभाजुको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, नेपाल कम्युनिष्ट पार्टी नेकपा दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेल, नेपाली कांग्रेस दोलखाका नेता बर्मा लामा, बैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य बद्री चौलागाई, प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा पौडेल, प्राध्यापक डा. सुधा त्रिपाठी, गौरीशङ्कर बहुमुखी क्याम्पसका प्रमुख शान्त केसी र विगुल फाउण्डेशनका संरक्षक लक्ष्मण गुभाजुले मन्तव्य व्यक्त गरेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।