नयाँ कानुनले मासिक दुईहजार बन्दी थपिँदै, राख्ने ठाउँ छैनः महानिर्देशक श्रेष्ठ

 आवाज संवाददाता     १६ माघ २०७६, बिहीबार

रवीन्द्र गौतम । चरिकोट

माघ १६, चरिकोट । कारागार ब्यबस्थापन बिभागका महानिर्देशक गजेन्द्रबहादुर श्रेष्ठले मासिक दुईहजारको दरले कैदी थपिन्छन् तर राख्ने ठाउँ नभएको गुनासो गरेका छन् ।

गत भदौबाट लागू भएको नयाँ कानुनको कारण नेपालको कारागारमा कैदी र पुर्पक्ष गरी मासिक दुईहजारको दरले थपिए पनि कारागारको क्षमता बृद्धि नहुँदा राख्ने ठाउँको अभाव भएको महानिर्देशक श्रेष्ठले गुनासो गरेका हुन् ।

बिहिबार कारागार कार्यालय चरिकोटले आयोजना गरेको नयाँ भवनमा कैदी स्थानान्तरण कार्यक्रममा महानिर्देशक श्रेष्ठले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै महानिर्देशक श्रेष्ठले बन्दीहरुलाई कारगारमा राख्ने मात्र नभई श्रम गर्न लगाउने कानुन ल्याउन आबश्यक रहेको जिकिर गरे । बन्दीहरुलाई उद्यमशिलतातर्फ उन्मुख गराई सुधारगृहका रुपमा स्थापित गराउने उनले बताए ।

बिभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी बहन गरि आफु कारागार ब्यबस्थापन बिभागका महानिर्देशक भएको नौ दिन मात्र भएकोले आप्mनो कार्यकालमा देश भरिका कारगारमा रहेका बन्दीहरुलाई उद्यमशिल बनाई कारागारको अबस्थामा सुधार ल्याउने उनले बताए ।

गणितिय रुपमा ३४ जनाको क्षमता रहेको सो कारागारको नयाँ भवनमा बिहिबारबाट कैदी स्थानान्तरण गरिएको छ । सदरमुकाम चरिकोटमा रहेको देशकै चौथो पुरानो कारागारमा १७ जना कैदी बन्दी राख्ने क्षमता भएको कारागारमा १०९ जना बस्न बाध्य भएका थिए ।

चरिकोटको कारागारमा रहेका बन्दीहरुले नाईके र सहनाईकेहरुबाट आफुहरु ठगिएको भन्दै केही महिना अघि आन्दोलन गरेकोले उनीहरुको कारवाही गरिएकोले समस्याहरु न्यूनिकरण हुँदै गएको दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।