जिरीको शेर्पाको छेच्यु पर्वलाई ३ दिनसम्म महोत्सवको रुपमा मनाइँदै

 आवाज संवाददाता     १२ फाल्गुन २०७६, सोमबार

रवीन्द्र गौतम । जिरी

फागुन १२, जिरी । छेच्यु पर्वको धार्मिक तथा साँस्कृतिक पक्षलाई उजागर एवं प्रचारप्रसार गर्ने उद्देश्यका साथ पुर्वी दोलखाको पर्यटकीय नगरी जिरी–२, मालीस्थित सुन्दर शेर्पा वस्ती यलुङ बौद्धटारमा ‘छेच्यु साँस्कृतिक महोत्सव २०७६’ आयोजना गरिने भएको छ ।

शेर्पाहरुको महाड चाड छेच्यु र भिजिट नेपाल २०२० को अवसर पारेर जिरी नगरपालिका र वडा नं. २ को मुख्य आयोजना तथा युवा सञ्जाल जिरी, सर्वखासा गुम्बा गुठी, चेर्दुङ युवा क्लव, बौद्धभुवनेश्वरी माविको सहआयोजनामा फागुन २०, २१ र २२ गते तीन दिनसम्म महोत्सव सञ्चालन हुनेछ ।

स्थानीय भेषभुषा सहित साँस्कृतिक झाँकी प्रदशनी, धार्मिक तथा पौराणिक क्षमा नाच, छेक्युर नाँचको प्रर्दशनी तथा यलुङ आसपासका प्रमुख पर्यटकीय गन्तव्यहरुमा हाईकिङ तथा जिप सफारी महोत्सवका प्रमुख आकर्षणहरु रहनेछन् । छेक्युर नाचको महत्व र प्रचार प्रसार नजिकका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसार हुने अपेक्षा आयोजकहरुले राखेका छन् । कार्यक्रम समापनसम्मको प्रस्तावित खर्च १० लाख ८५ हजार अनुमान गरिएको छ ।

पौराणिक कथन अनुसार गुरु पद्यंसंभवले धनकोषाको सागरमा कमलको फुलमा रुप धारण गर्नुभएको समयदेखि अहिलेसम्म प्रत्येक महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन विभिन्न अष्ट रुप धारण गर्नुभई संसारमा सम्पुर्ण प्राणीहरुको हितको लागि आशिर्वाद र प्राणी उद्धारका लागि अदृष्य रुपमा संसार परिक्रमा गर्न पाल्नुहुन्छ भन्ने शास्त्रमा उल्लेख भए बमोजिम त्यसै दिन उहाँको स्वागतार्थ र उहाँबाट आर्शिबाद र सम्पुर्ण प्राणीहरुले मोक्ष प्राप्ती गर्न सकोस भन्ने हेतुले धुमधाम संग पुजापाठ गर्ने गरिन्छ साथै संसारमा विभिन्न वाधा व्यवधानहरु र रोग कष्टहरु नआउन र यदि आएतापनि सिघ्र हटोस भनी गुरु पद्यंसभंवको अष्टरुपी मखुण्डो लगाएर क्षाम (नृत्य) गर्ने गरिन्छ र त्यसै रुपलाई साक्षात गुरुको रुपमा विश्वासका साथ प्राथना गर्ने गरिन्छ ।

पुजालाई प्रत्येक महिनाको दशमी तिथिमा भव्य र धुमधाम संग मनाउन समस्या हुने हुँदा वर्षमा एकपटक समय अनुकुल मिलाएर गर्ने क्रममा यस यलुङमा चाहि प्रत्येक वर्षको फागुन शुक्लपक्षको दशमी तिथिको दिन भव्य र धुमधाम रुपमा छेच्यु पुजा गर्ने परम्परा रहदै आएको छ ।
छेच्यु पर्व शेर्पा समुदायले विभिन्न स्थानहरुमा पुजापाठ गरि मनाउने गरिएको भएतापनि जिरी नगरपालिका वडा नं. २ यलुङमा चाँहि वर्षेनी फागुन महिनाको दशमी तिथिको अवसर पारेर लगातार ३ दिनसम्म मनाईन्छ । पहिलो दिन धार्मिक पुजापाठ, दोश्रो दिन दिउँसो क्षाम नाच र बेलुका छेक्युर नाच प्रदर्शनी हुन्छ । यस नाचमा करिव १०० जना भन्दा वढी तालिम प्राप्त लामाहरुद्धारा क्षाम नाच, छेकुर नाच जस्ता पौराणिक प्रस्तुति र पुजापाठ हुने गर्दछ । तेश्रो दिन पुजापाठ र लामा धर्मगुरुबाट छेवाङ (प्रसाद) वितरण हुन्छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।