सरकारलाई चुनौती दिँदै बन्द गरिएनन् दोलखाका विद्यालय

 आवाज संवाददाता     ६ चैत्र २०७६, बिहीबार

रवीन्द्र गौतम । दोलखा

चैत ६, चरिकोट । कोरोना भाईरसको सम्भावित संक्रमणबाट हुने जोखिमबाट बच्न पूर्व सतर्कताका लागि सरकारले बिहिबारबाट एसईई समेत स्थगित गरी सम्पूर्ण विद्यालय, विश्वविद्यालय लगायत बन्द गर्ने निर्णय गरेको थियो । तर सरकारलाई चुनौती दिँदै एकीकृत विद्यालयस्तरीय परीक्षा समिति दोलखाको नाममा विद्यार्थी बोलाई विद्यालय खोलेर खुल्लमखुल्ला परीक्षा सञ्चालन गरिएको छ ।

सरकारको निर्णयलाई चुनौती दिँदै एकीकृत विद्यालयस्तरीय परीक्षा समितिले दोलखा जिल्लाको ७ ओटा स्थानीय तहका विद्यालयहरुमा परीक्षा सञ्चालन गरेको छ । समितिले बिहिबार कक्षा ५ सम्मको स्थानीय पाठ्यक्रम, कक्षा ६, ७ र ८ को पेशा व्यवसाय तथा कक्षा ९ को स्वास्थ्य जनसंख्या तथा वातावरण विषयको परीक्षा सञ्चालन गरेको हो ।

कक्षा ८ बाहेक दोलखा जिल्लामा निजी तथा सामुदायिक विद्यालयको कक्षा १–९ को परीक्षा सञ्चालन गर्ने सो समिति, प्याब्सन र एनप्याब्सनले विद्यालयमा परीक्षा सञ्चालन गरेर सरकार र कोरोना भाइरसको संक्रमणलाई चुनौती दिएका हुन् । जिल्लाका निजी विद्यालयहरुले समेत बिहिबार विद्यालय खोलेर परीक्षा सञ्चालन गरेका थिए ।

९ ओटा स्थानीय तहमध्ये जिरी नगरपालिकाले बुधबार सम्पूर्ण परीक्षा सम्पन्न गरेर ६ गते बिहिबारबाट विद्यालय बन्द गरेको छ भने गौरीशंकर गाउँपालिकाले बिहिबारदेखिकै सम्पूर्ण परीक्षा स्थगित गरेको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले विद्यालय बन्द नगरेको बारे जानकारी आएकोले शिक्षा समितिको बैठक बोलाएर भोलिदेखि बन्द गर्ने बताए ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ दोलखाका अध्यक्ष हिरा थोकरले सरकारको निर्णयअनुसार परीक्षा सञ्चालन गर्न नसक्ने समितिको बैधानिकतामा प्रश्न उठेको बताए । विश्वभर कोरोना भाईरसको संक्रमण र सन्त्रास बढ्दै गईरहेको परिवेशमा आवश्यक सतर्कता अपनाउन सरकारले गरेको निर्णयलाई दोलखा जिल्लाका विद्यालयहरुले गम्भिर उल्लंघन गरेको अभिभावकहरुकै गुनासो छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।