माथिल्लो तामाकोशीमा पनि कोरोनाको असर

 आवाज संवाददाता     ६ चैत्र २०७६, बिहीबार

चैत ६, लामाबगर । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विभिन्न देशहरु ‘लकडाउन’ भैरहेका बेला नेपालमा पनि विभिन्न आयोजनामा पनि त्यसको असर परिरहेको छ । यसको उदाहरण बनेको छ, माथिल्लो तामाकोशी जलविद्युत आयोजना ।

शून्य दशमलव ६ प्रतिशत मात्रै काम बाँकी रहेको राष्ट्रिय गौरवको आयोजनाको निर्माण सुपरीवेक्षण परामर्शदाता कोरोनाको कारण आफ्नै मुलुक फर्किएपछि आयोजनाको काममा असर परेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका प्रवक्ता गणेश प्रसाद न्यौपानेले बताए ।
आयोजनको परामर्शसेवाको काम नर्वेजियन नरकन्सल्ट एएस र जर्मन लाह्मेर इन्टरनेसनल जेभीले गरिरहेको छ । नर्वे र जर्मनी दुबै देश अहिले कोरोना भाइरसको चपेटामा छन् ।

अहिले स्वदेशी लगानीमा निर्माण भैरहेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको हेडवक्र्सको परीक्षण कार्य चलिरहेको छ । यसका साथै आयोजनाको भर्टिकल साफ्टमा पेनस्टक पाइप जडानको कार्य पनि भैरहेको छ ।
४५६ मेगावाट जडित क्षमताको बहुप्रतीक्षित यो आयोजनाको हेडवक्र्सको कार्य सम्पन्न भएपछि त्यसको परीक्षण गरिएको आयोजनाका प्रवक्ता न्यौपानेले जानकारी दिए । हेडवक्र्सको कार्य अन्तर्गत बाँध, इन्टेक, बालुवा थिग्¥याउने पोखरी, गेट, स्टपलग लगायतका कार्यहरु पर्दछन् ।

अहिले इन्टेकमा पानी भरेर बाँधको परीक्षण भैरहेको छ । १९७२ मिटर उचाइबाट सुरु भएको बाँधमा आज १९८२.५ मिटरसम्म पानी जमाइने प्रवक्ता न्यौपानेले बताए । बाँधमा पानी जमाएपछि त्यसमा चुहावट भए नभएको परीक्षण गरिने छ । २२ मिटर उचाइको बाँधमा आजसम्म साँढे १० मिटर पानी जमाइएको छ । तामाकोशी नदीमा भएको पानीमध्ये एक तिहाइ पानी नदीमै छोडेर दुई तिहाइ पानी मात्रै जमाइएको छ ।

बाँधको परीक्षणसँगै बालुवा थिग्¥याउने पोखरी, गेट, स्टपलग लगायतका संरचनाहरुको समेत परीक्षण भैरहेको प्रवक्ता न्यौपानेले जानकारी दिए । आगामी बुधवारसम्ममा हेडवक्र्सको परीक्षण सकिने उनले बताए ।

आयोजनाको काम अहिलेसम्म ९९ दशमलब ४ प्रतिशत सकिएको छ । जम्मा शून्य दशमलव ६ प्रतिशत मात्रै काम बाँकी रहे पनि ठाडो सुरुङमा पेनस्टक पाइप जडानको काममा भएको ढिलाइका कारण आयोजना सम्पन्न हुन नसकेको छ । सो ठाडो सुरुङको दुईवटा भागमध्ये तल्लो ठाडो सुरुङ ३७३ मिटर लामो छ भने माथिल्लो ठाडो सुरुङ ३१० मिटर लामो छ । अहिलेसम्म तल्लो ठाडो सुरुङमा २६० मिटर पेनस्टक पाइप जडान भएको र माथिल्लो ठाडो सुरुङमा १५० मिटर पेनस्टक पाइप जडान भएको आयोजनाले जनाएको छ ।

अन्य कुनै कुराले थप असर नगरे आगामी असार महिनासम्म एउटा टर्वाइनबाट परीक्षण उत्पादन थाल्न सकिने आयोजनाका प्रवक्ता न्योपाने बताउँछन् । आयोजनामा ७६ मेगावाट क्षमताका ६ वटा टर्वाइन रहनेछन् ।

२०६७ भदौ १७ गतेदेखि मुख्य सिभिल निर्माण कार्यको शुरुवात गरिएको यो आयोजनाले २०७२ जेठ महिनामा पहिलो युटिनबाट विद्युत उत्पादन गर्ने लक्ष्य थियो । लक्ष्यअनुरुप काम अघि नबढेको भए पनि २०७२ वैशाखको विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी, लामोसाँघु चरिकोट सडकको स्तरोन्नतिका कारणले आयोजना निर्माणमा झनै ढिलाइ भएको थियो । आयोजना सम्पन्न गर्न ढिलाइ हुँदा ३५ अर्ब २९ करोड रुपैयाँ सुरु निर्धारित लागत बृद्धि भै व्याज बाहेक ४९ अर्ब २९ करोड पुग्ने प्रक्षेपण गरिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।