दोलखामा नागरिकता र राहदानी वितरण स्थगित, यातायात बन्द, सहकारी खुला

 आवाज संवाददाता     ९ चैत्र २०७६, आईतवार

रवीन्द्र गौतम । दोलखा

चैत ९, चरिकोट । प्राणघातक कोरोना भाईरसको सम्भावित संक्रमणको जोखिम टार्नको लागि जिल्ला प्रशासन कार्यालय दोलखाले अत्यावश्यक बाहेक नागरिकता र राहदानी वितरण सेवा स्थगित गरेको छ ।

आइतबारबाट कम्तिमा चैत २१ गतेसम्म जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय सिंगटीबाट वितरण हुने नागरिकता तथा राहदानी सेवा स्थगित गरिएको हो । सरकारले अत्यावश्यक सेवा बाहेक अन्य सेवा वन्द गर्ने निर्णय गरेसँगै जिल्ला प्रशासन कार्यालय दोलखाले सार्वजनिक सूचना जारी गर्दै नागरिकता तथा राहदानी सेवा बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले जानकारी दिए ।

पूर्व अरनिको यातायात प्रालिका सदस्य सचिव राजकुमार बस्नेतले आइतबार सूचना प्रकाशन गरेर अर्को सूचना जारी नभएसम्मको लागि सम्पूर्ण क्युहरु स्थगित गरेको जनाए पनि सम्वन्धित काउण्टरबाट ट्रिप शुल्क काटी हकवाला गाडीलाई सञ्चालन ल्याउन सक्ने उल्लेख गरेको छ ।

जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष हेमन्त चौलागाईद्वारा जारी विज्ञप्तीमा सहकारी कार्यालयहरु खोलेर सेवा प्रवाह गर्नु निर्देशन दिएका छन् । प्रधानमन्त्रीको सम्बोधनमा सहकारी क्षेत्रको विषय नसमेटिएको भए पनि वित्तीय कारोबार गर्ने क्षेत्र भएकोले अर्को सूचना नआउन्जेल र परिस्थिती यो भन्दा अझ जटिल नबनुन्जेल आ–आफ्नो सेवा सुचारु गर्नु भनिएको छ ।

वैत्यश्वर गाउँपालिकाले पनि नियमित रुपमा सञ्चालन हुने सरकारी सेवाहरु वन्द गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष छवि लामाले जानकारी दिए । गौरीशंकर गाउँपालिकाले पनि नियमित सेवा बन्द गरेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत प्रदिप खडकाले जानकारी दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।