भारत र बंगलादेशबाट दोलखा भित्रिएकाबाट संक्रमणको जोखिम

 आवाज संवाददाता     १० चैत्र २०७६, सोमबार

रवीन्द्र गौतम । दोलखा

चैत १०, चरिकोट । सरकारले सोमबारदेखि लामोदुरीमा चल्ने सवारीसाधन बन्द गर्ने निर्णय गरेपनि दोलखामा भारत, बंगलादेशबाट आएका यात्रु निर्वाध दोलखा प्रवेशले संक्रमणको जोखिम बढाएको छ ।

कोरोना भाईरसको सम्भावित संक्रमणको जोखिमबाट पूर्व सतर्कताको लागि सरकारले सार्वजनिक यातायात सञ्चालनमा रोक लगाए पनि सोमबार भारत र बंगलादेशबाट आएका यात्रु बिना चेकजाँच निर्वाध ढंगले जिल्ला भित्रिएपछि संक्रमणको जोखिम बढाएको हो । सोमबार पनि काकडभिट्टा नाका हुँदै भारत र बंगलादेशदेखिका यात्रुहरु विना स्वास्थ्य जाँच जिल्ला प्रवेशले जोखिम बढाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका अनुसार सोमबारमात्र किर्नेटार र खरिढुंगा हुँदै भित्रिएका २० भन्दा बढि यात्रुबहाक बस तथा सयभन्दा बढि निजी सवारीबाट करिब दुईहजार यात्रुहरु जिल्ला भित्रिएका छन् । रोजगारीका लागि भारत तथा बंगलादेश गएका सयौं नागरिक बस रिर्जभ गरेर दोलखा भित्रिएका छन् । जिल्ला भित्रिनको लागि कतिपयले भारतीय नम्बर प्लेटका सवारीसाधन लिएर आएको ट्राफिक असई राजकुमार दुलालले जानकारी दिए । कोरोना संक्रमित मुलुकहरुबाट धमाधम मानिसहरु जिल्लाको विभिन्न स्थानहरुमा प्रवेश गरिरहेका कारण गाउँमा त्रास फैलिएको छ ।

एकैसाथ धेरै यात्रुहरु भित्रिएको र दुईवटा नाकामा जम्मा दुईवटा मात्रै ‘थर्मल गन’ भएका कारण सबै यात्रुको तापमापन गर्न कठिनाई भईरहेको दोलखाका प्रजिअ भीमकान्त शर्माको भनाई छ । दोलखा प्रवेश गर्ने मुख्य नाका खरिढुंगा र किर्नेटारमा सोमबारबाट सुरक्षाकर्मी र स्वास्थ्यकर्मी सहितको संयुक्त टोलीले हेल्थ डेस्क राखेर यात्रुको चेकजाँच गर्ने व्यवस्था मिलाईएको छ ।

फोटोः दोलखा प्रहरी

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।