‘लकडाउन’मा दोलखाः १५ मोटरबाइक, ३ गाडी नियन्त्रणमा, चरिकोट अस्पतालमा ३ सुत्केरी

 आवाज संवाददाता     ११ चैत्र २०७६, मंगलवार

रवीन्द्र गौतम । दोलखा

चैत ११, चरिकोट । सरकारले एकसाताको लागि आह्वान गरेको ‘लकडाउन’को अवज्ञा गर्ने १५ मोटरसाइकल, ३ गाडीलाई दोलखा प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार बिहान ५ बजेदेखि ‘लकडाउन’ गरेपछि चरिकोटमा अत्यावश्यक सवारी साधनबाहेक चलेका निजी मोटरबाइक १५ र ३ गाडीलाई नियन्त्रणमा लिईएको दोलखा प्रहरी प्रमुख डीएसपी रेवतीरमण पोखरेलले जानकारी दिए ।

गैर जिम्मेवार व्यवहार देखाएका ३ जनालाई प्रहरीले ४ घण्टा नियन्त्रणमा लिएर सम्झाई बुझाई गरेर घर पठाएको डीएसपी पोखरेलले जानकारी दिए ।

चरिकोट प्राथमिक अस्पतालमा ३ ओटा सुत्केरी भएको स्वास्थ्यकर्मीले जनाएका छन् भने फिबर क्लीनिकमा २० जनाको चेकजाँच गरिएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख एवम् कोरोना भाईरस बारेका सूचना अधिकारी विभुकुमार झाले जानकारी दिए ।

दोलखा जिल्ला अदालतमा एउटा चोरी मुद्धाका ५ अभियुक्तसँग थुनछेक बयान भएको स्रेस्तेदार सुमनकुमार कुशवाहले जानकारी दिए ।
जिल्लामा अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन सञ्चालन भएका छैनन् ।

‘‘लकडाउन’’सँगै औषधि, खाद्यवस्तु खरीदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाउने व्यवस्था गरिएको छ । चरिकोट, जिरी, मैनापोखरी र सिंगटीका मुख्य बजारमा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले तैनाथी सुरक्षा दिईरहेको छ भने फाट्टफुट्टबाहेक कोहि घुमफिरमा रहेका छैनन् । सबै पसलहरु बन्द छन् ।

नेपालको प्रचलित कानुनअनुसार ‘‘लकडाउन’’ उल्लंघन गरेमा ६ महिनासम्म कैद र ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै हुने व्यवस्था छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।