‘लकडाउन’मा गैरजिम्मेवार व्यवहार देखाउने डेढसय दोलखालीलाई कोरोना सतर्कता प्रशिक्षण

 आवाज संवाददाता     १२ चैत्र २०७६, बुधबार

रवीन्द्र गौतम । दोलखा

चैत १२, चरिकोट । सरकारले एकसाताको लागि आह्वान गरेको ‘लकडाउन’मा गैरजिम्मेवार व्यवहार देखाउने डेढसय दोलखालीलाई नियन्त्रणमा लिएर कोरोना सतर्कता बारे प्रशिक्षण दिईएको छ ।

लकडाउनको दोस्रो दिन बुधबार दिउँसो २ बजेसम्म गैरजिम्मेवार व्यवहार देखाउने १५० दोलखालीलाई प्रशिक्षण दिएर घर पठाइएको हो । कोरोना भाईरसको सम्भावित संक्रमणको जोखिम र बच्ने उपाय बारे हरेकलाई १० मिनेटको प्रशिक्षण दिईएको दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।

साथै स्थानीय प्रशासनको आदेशको अवज्ञा गरेका १० मोटरबाइक समेत दोलखा प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय प्रशासनले खाद्यन्न ढुवानीका साधनलाई साँझ र रातको समयमा अनलोडको व्यवस्था मिलाएको प्रजिअ शर्माले जानकारी दिए ।

जिल्लामा अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन सञ्चालन भएका छैनन् । चरिकोट, जिरी, मैनापोखरी र सिंगटीका मुख्य बजारमा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले तैनाथी सुरक्षा दिईरहेको छ भने फाट्टफुट्टबाहेक कोहि घुमफिरमा निस्किएका छैनन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।