कोरोना त्रासले दोलखामा यार्सागुम्बा र भीरमह संकलनमा रोक

 आवाज संवाददाता     १४ जेष्ठ २०७७, बुधबार

रवीन्द्र गौतम । दोलखा

जेठ १४, दोलखा । महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस संक्रमणको त्रासले दोलखामा यार्सागुम्बा र भीरमह संकलनमा रोक लगाईएको छ ।

भीडभाड हुने र परीक्षण विना नै जोकोही पनि यार्सागुम्बा र भीरमह संकलनमा जान सक्ने भएकोले पूर्वसर्तकताको लागि गौरीशंकर संरक्षण क्षेत्र तथा प्रहरीले यार्सागुम्बा र भीरमह संकलनमा रोक लगाएको हो । दोलखाको उच्च पहाडी भेगबाट संकलन गरिने यार्सागुम्बा र कठिन भीरबाट संकलन गरिने भीरमहको लागि भीडभाड हुने तथा संक्रमणको जोखिम बढ्न सक्ने भएकोले यार्सागुम्बा र भीरमह संकलनमा रोक लगाईएको गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रमुख सत्यनारायण शाहले जानकारी दिए ।

यार्सागुम्बा संकलन पूर्जी जारी गर्ने संरक्षण क्षेत्रअन्र्तगत दोलखा, रामेछाप र सिन्धुपाल्चोकस्थित कुनै पनि कार्यालय तथा उपसमितिहरुलाई संकलन पूर्जी जारी नगर्न निर्देशन दिईएको आयोजना प्रमुख शाहले जानकारी दिए । लुकीचोरी कोही संकलनमा जान सक्ने भएकोले सोही कार्यालय तथा उपसमितिहरुबाट निरन्तर निगरानी पनि भईरहेको उनले बताए ।

दोलखाको विगु, आलम्पु, चिलंखा, लादुक, बुलुङ, ओराङ, लामाबगर र गौरीशंकरको उच्च लेकबाट यार्सागुम्वा संकलन गरिने गरिन्छ । अघिल्लो आर्थिक बर्षमा प्रतिव्यक्ति रु. ५०० को दरले २७४ ओटा संकलन पूर्जी जारी गरेर एकलाख ३७ हजार राजश्व समेत संकलन भएको प्रमुख शाहको भनाई छ ।

संरक्षण क्षेत्र उपसमिति र सिंगटी प्रहरीबाट पत्राचार गरि गौरीशंकर गाउँपालिकाको खारे, गौरीशंकर लगायतका स्थानहरुबाट भीरमह संकलनमा रोक लगाएको छ । गौरीशंकर गाउँपालिका–८, खारेको मौरेभीर, धारेडाँडा र अबलिङ क्षेत्र तथा वडा नम्बर ९ को रिकु लगायतको क्षेत्रबाट भीरमह संकलनमा रोक लगाईएको संरक्षण क्षेत्रले जनाएको छ । ति क्षेत्रहरुबाट चालु आबमा करिब सयलिटर भीरमह संकलन हुन नसकेर खेर जाने भएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।