लकडाउनमै चरिकोट–तामाकोशी सडक ५ किमि कालोपत्रे

 आवाज संवाददाता     १६ जेष्ठ २०७७, शुक्रबार

रवीन्द्र गौतम । दोलखा

जेठ १६, चरिकोट । लकडाउनकै अवधिमा खाडीचौर–जिरी सडकअन्तर्गत पर्ने चरिकोट–तामाकोशी सडकको ५ किलोमिटर खण्डमा कालोपत्रे गरिएको छ ।

कालोपत्रेसहित ७ मिटर चौँडा सडक स्तरोन्नतिको ठेक्का लिएको लामा कन्स्ट्रक्सनले भीमेश्वर नगरपालिका भित्र पर्ने चरिकोट–तामाकोशी सडकको किराँतीछापदेखि सदरमुकाम चरिकोटतर्फ ५ किलोमिटर सडकमा कालोपत्रे गरेको हो ।

चरिकोट–तामाकोशी सडकखण्डको करिब ५ किलोमिटर खण्डमा डबल बिटुमिनस सर्पेmस ट्रिटमेन्ट (डीबीएसटी) प्रविधिको कालोपत्रे सकिएको लामा कन्स्ट्रक्सनका व्यवस्थापक रवीन्द्र श्रेष्ठले जानकारी दिए । थप ५ किलोमिटरमा सबबेस तथा ३ किलोमिटरमा बेस विछ्याउने कार्य सकिएको उनको भनाइ छ ।

चरिकोट–तामाकोशी सडकको दुरी १८ किलोमिटर रहेको छ । मौसम अनुकूल भए तथा सामान ढुवानी सहज भएमा चालू आर्थिक बर्ष भित्र १० किलोमिटर सडक कालोपत्रे गरिसक्ने लक्ष्य रहेको व्यवस्थापक श्रेष्ठले बताए ।

चालु आवको अन्त्यसम्ममा १६ किलोमिटर कालोपत्रे गरी सक्ने लक्ष्य रहेको भए पनि रूख कटानमा भएको ढिलाइ, लकडाउन लगायत समस्याका कारण कालोपत्र गर्ने काममा केही ढिलाइ भएको निर्माण कम्पनीले बताएको छ ।

तामाकोशी पुलदेखि जिरीसम्मका विभिन्न स्थानहरूमा पनि कटिङ, फिलिङ, वालिङ लगायतका कामहरु भई रहेको लामा कन्स्ट्रक्सनले जनाएको छ ।

खाडीचौरदेखि जिरीसम्मको ११० किलोमिटर सडकमध्ये तेस्रो प्याकेज ५५ किमीको काम चरिकोटदेखि जिरीसम्मको छ । भारतीय एक्जिम बैंकको ऋण लगानी रहेको उक्त सडक निर्माणको ठेक्का उडहिल–लामा कन्स्ट्रक्सन जेभीले पाएको थियो ।

ऋणदाताको शर्तअनुसार ठेक्कामा भारतीय कम्पनी उडहिलको ५१ प्रतिशत र नेपाली कम्पनी लामा कन्स्ट्रक्सनको ४९ प्रतिशत शेयरमा ठेक्का सम्झौता भएको हो । रू.२ अर्ब २८ करोड लागतमा ठेक्का सम्झौता भएकोमा साइटको काम लामा कम्पनीले नै गरिरहेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।