कोरोना कहरमा पनि दोलखाको बजेट सवा ६३ करोडले बढ्यो

 आवाज संवाददाता     १८ जेष्ठ २०७७, आईतवार

रवीन्द्र गौतम । दोलखा

जेठ १७, चरिकोट । कोरोना कहरले राज्यको विभिन्न स्रोतहरु खुम्चिएका बेला पनि संघीय सरकारले दोलखाका स्थानीय तहहरुको बजेट सवा ६३ करोडले बढाएको छ ।

चालु आर्थिक बर्षको तुलनामा आगामी आर्थिक बर्षको लागि बिहिबार प्रस्तुत बजेटले दोलखाको स्थानीय तहहरुको बजेट सवा ६३ करोडले बढाएको हो ।

संघीय सरकारले अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत आगामी आर्थिक बर्षको लागि दोलखाका ९ स्थानीय तहहरुलाई रु. ३ अर्ब १८ करोड ३० लाख बजेट विनियोजन गरेको छ । चालु आर्थिक बर्षको लागि रु. २ अर्ब ५५ करोड १२ लाख बजेट विनियोजन भएको थियो ।

संघीय सरकारले ७ गाउँपालिकाहरुलाई रु. २ अर्ब ३१ करोड १९ लाख तथा २ नगरपालिकालाई रु. ८७ करोड ११ लाख बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७७÷७८ का लागि २ नगरपालिका र ७ गाउँपालिकालाई वित्तीय समानीकरण, शशर्त, विशेष र समपुरक अनुदान शीर्षकमा उक्त रकम विनियोजन गरिएको अन्तर सरकारी वित्तीय हस्तान्तरण ०७७÷७८ मा उल्लेख छ ।

जिल्लामा सबैभन्दा बढी भीमेश्वर नगरपालिकालाई सबै शीर्षकमा गरी रु. ५६ करोड ५७ लाख विनियोजन गरिएको छ । जिरी नगरपालिकालाई रु. ३० करोड ५४ लाख रकम विनियोजन गरिएको छ ।

७ गाउँपालिकामध्ये सबैभन्दा बढी कालिञ्चोक गाउँपालिकालाई रु. ३८ करोड ४० लाख विनियोजन गरिएको छ भने सबैभन्दा कम विगू गाउँपालिकालाई रु. २८ करोड ४५ लाख छ ।

शैलुङ गाउँपालिकालाई रु. ३४ करोड ९४ लाख, मेलुङ गाउँपालिकालाई रु. ३४ करोड ४६ लाख र तामाकोशी गाउँपालिकाले रु. ३२ करोड ८९ लाख विनियोजना गरिएको छ ।

बैत्यश्वर गाउँपालिकालाई रु. ३२ करोड २७ लाख र गौरीशंकर गाउँपालिकालाई रु. २९ करोड ७८ लाख बजेट विनियोजन भएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।