एनजीओले ३६ स्वास्थ्यकर्मी हटाउँदा सरकारी अस्पताल ठप्प

 आवाज संवाददाता     २१ जेष्ठ २०७७, बुधबार

रवीन्द्र गौतम । दोलखा

जेठ २०, चरिकोट । गैरकानुनी रुपमा एनजीओले ३६ स्वास्थ्यकर्मी हटाउँदा दोलखाको सदरमुकाम चरिकोटस्थित सरकारीस्तरको प्राथमिक स्वास्थ्य केन्द्र ठप्प भएको छ ।

न्याय हेल्थ नेपाल नामक गैरसरकारी संस्थाले ३६ स्वास्थ्यकर्मीलाई श्रम ऐन २०७४ को दफा १४५ विपरित सम्झौता नविकरण नगर्ने भन्दै हटाएपछि आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीका कारण प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटको आकस्मिक बाहेकका सेवा ठप्प भएको हो । १० बर्षसम्म निशुल्क सेवा दिने भन्दै व्यवस्थापन जिम्मा लिएको न्याय हेल्थ नेपालले दाताले बजेट कटौती गरेको बहानामा बनाउँदै जेठ १६ गते पत्र पठाएर जागिरबाट निकालेको छ । कोभिड–१९ को माहामारी नियन्त्रणका लागि खटाउनु पर्ने बेला १९ स्वास्थ्यकर्मी सहित निश्कासित ३६ कर्मचारीको आन्दोलनको कारण सेवा ठप्प भएको छ ।

न्याय हेल्थ नेपालकी पीपुल एण्ड अपरेसन डाइरेक्टर सिर्जना गुरुङद्वारा हस्ताक्षरित पत्र थमाई स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, नर्स, ल्याव, रेडियोलोजिष्ट, फार्मेसी, मानसिक स्वास्थ्य र सरसफाई कर्मचारीलाई जबरजस्ती हटाईएको छ । बिना चलानीको पत्रबाट सरसफाईका ७ , सुरक्षाका १ , प्रयोगशालाका २ , फार्मेसीका १, नर्सिङ सेवाका ४ , आकस्मिक सेवाका ३, सामुदायिक स्वास्थ्य कार्यक्रमका ९ , स्टोर र मानव संशाधन विभागका ५ , बिरामी सहयोगी ३ र प्रविधि शाखाका २ छन् ।

पोसिबल हेल्थ नामक अमेरिकी दाताको सहयोगमा सञ्चालित सो गैरसकारी संस्थाले निशुल्क स्वास्थ्य सेवा दिने शर्तमा करिब ५ बर्षअअघि स्वास्थ्य मन्त्रालयसँग एमओयु गरेर प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापन जिम्मा लिएको थियो । अस्पतालमा एनजिओ र सरकारी गरी दुईथरी स्वास्थ्यकर्मी कार्यरत रहेकोमा सुरुदेखि नै विवादमा परेको थियो ।

‘एनजिओकै कार्यसम्पादन मूल्याङ्कणमा ४ बर्षदेखि अब्बल ठहरिकालाई हटाई ७ महिना अघि नियुक्त भएकालाई नहटाउनु कानुन विपरित भएकोले आफैंले सेवा गरेको ठाउँमा आफैंले आन्दोलन गर्नु परेको’ संघर्ष समितिका संयोजक सन्तोष पोखरेलले बताए । स्रोतका अनुसार राजनीतिक र व्यक्तिगत साँठगाँका आधारमा भेदभाव गरी कनिष्ठको आधारमा हटाउनु गर्नु पर्नेमा ज्येष्ठताबाट हटाउन सुरु गरिएको छ । श्रम ऐन विपरित स्वास्थ्यकर्मी हटाईएकोले अदालत खुलेपछि कानुनी प्रक्रिया समेत सुरु गरिने संघर्ष समितिले जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।