बागमती प्रदेशबाट दोलखालाई अत्यन्त न्युन बजेट (हेर्नुहोस सूची)

 आवाज संवाददाता     २ असार २०७७, मंगलवार

रवीन्द्र गौतम । दोलखा

असार १, चरिकोट । बागमती प्रदेश सरकारले सोमबार प्रस्तुत गरेको बजेटमा दोलखालाई अत्यन्त न्यून बजेट विनियोजन भएको पाइएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा दोलखाको लागि अंकमा कुनै पनि बजेट परेको छैन ।

बागमती प्रदेशको नीति तथा कार्यक्रमको जस्तै गोलमटोल भाषामा पेश गरिएको बजेटमा दोलखा जिल्लालाई अंक खुल्ने गरी कुनै पनि बजेट व्यवस्थापन गरिएको छैन ।

नीति तथा कार्यक्रममा समेटिएको जिरी तालको लागि कुनै पनि बजेटको व्यवस्था नहुँदा प्रदेश सरकारको दोलखा जिल्लालाई हेर्ने दृष्टिकोण स्पष्ट भएको बताईन्छ ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि रु. ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजारको बजेट ल्याएको छ ।

मन्त्री ढुंगेलले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार अर्थात् ५१.१२ प्रतिशत विनियोजन गरेका छन् । पुँजीगततर्फ रु. २५ अर्ब १४ करोड १ लाख ५९ हजार अर्थात् ४८.८८ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

बागमती प्रदेश सरकारले बजेटमा समेटेको दोलखाको योजनाहरुः
१ चरिकोट अस्पताल सहित अन्य २१ ओटा अस्पताललाई प्रदेश स्तरिय अस्पताल बनाइने १२ करोड ८० लाख बजेट
२. अति सिमान्तकृत एवम् लोपोन्मुख लगायत लक्षित समूहका बालबालिकाहरुको गुणस्तरिय शिक्षा पहुँच सुनिश्चित गर्न दोलखा सहित ५ जिल्लालाई आवासिय विद्यालय तथा पूर्वाधार विकासका लागि १२ करोड
३. गौरीशंकर गाउँपालिका–५, सुरीमा २५०० रोपनी जमिनमा नयाँ सामुहिक खेतीको सुरुवातको लागि बजेट
४. दोलखा जिल्लाको निश्चित क्षेत्रलाई आलु खेतीको विशिष्ट क्षेत्र तोकी कार्यक्रमको सुरुवातको लागि बजेट
५. गौरीशंकर परिपथलाई कार्यान्वयनमा लैजान बजेट
६. रामायण (द्वाल्खा–जनकपुर) सर्किटको लागि बजेट
७. भीमेश्वर (दोलखा बजार) पुराना मौलिक शैलीका घरहरुको संरक्षण गर्न घरधनीहरुको सहलगानीमा पराम्परागत कला संस्कृति र सम्पदाको संरक्षणका लागि बजेट विनियोजन
८ दोलखाको डाङडुङे डाँडामा निर्माणाधिन फिल्म सिटीको भौतिक पूर्वाधार निर्माणको लागि बजेट

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।