सुध्रिँदै प्रधानमन्त्री रोजगार कार्यक्रमः दोलखामा १५ किमि सडक सोलिङ

 आवाज संवाददाता     २ असार २०७७, मंगलवार

रवीन्द्र गौतम । दोलखा

असार २, चरिकोट । चालु आर्थिक बर्षको प्रधानमन्त्री रोजगार कार्यक्रममा दोलखाका स्थानीय तहहरुले ग्रामीण सडकमा सोलिङ गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको पाइएको छ ।

अघिल्ला आर्थिक बर्षहरुमा बदनाम भएको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई चालु आर्थिक बर्षमा भने दोलखाका स्थानीय तहहरुले ग्रामीण सडकमा सोलिङ गरी अनुकरणीय कार्य गरेको पाईएको हो ।

जिल्लाका ९ स्थानीय तहहरुमा निर्माण सम्पन्न भईसकेका ग्रामीण सडकमध्ये करिब १५ किलोमिटर सडकमा सोलिङ गरेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत दोलखामा साढे ३ करोड बजेट विनियोजन भएकोमा ६५ प्रतिशतभन्दा बढि रकम सडक सोलिङमा खर्च गरेको पाईएको छ ।

हिमाली जिल्ला दोलखाका २ नगरपालिका र ७ गाउँपालिका गरी ९ स्थानीय तहहरुले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत ग्रामीण सडकलाई बर्षभरि सञ्चालन योग्य बनाउनको लागि सोलिङलाई प्रमुख प्राथमिकतामा राखेका हुन् ।

रोजगार कार्यक्रम सुरु गरिसकेका जिरी र भीमेश्वर नगरपालिका तथा गौरीशंकर, बैत्यश्वर, तामाकोशी र विगु गाउँपालिकाले ग्रामीण सडकमा सोलिङलाई पहिलो प्राथमिकतामा राखेका हुन् ।

गौरीशंकर गाउँपालिकाका रोजगार संयोजक प्रभास जोशीका अनुसार गाउँपालिकाको ६ ओटा वडाअन्र्तगतमा साढे ३ किलोमिटर ग्रामीण सडकको सोलिङ कार्य सम्पन्न भएको छ ।

बैत्यश्वर गाउँपालिकाले गाउँपालिका पुग्ने नाम्दु–पाँडुडाँडा–सुलडाँडा सडकको साढे ४ किलोमिटर सडक सोलिङ गरेको जनप्रतिनिधि देवराज खत्रीले जानकारी दिए ।

तामाकोशी गाउँपालिकाले पनि ग्रामीण सडक सोलिङलाई प्रमुख प्राथमिकतामा राखेको छ । तामाकोशी गाउँपालिकाको विभिन्न ७ ओटा वडामा दुईहजार ८ सय मिटर सडक सोलिङ गरेको गाउँपालिकाका रोजगार संयोजक दिपेन्द्र कार्कीले जानकारी दिए ।

जिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले नगरपालिकाले पदमार्गलाई प्राथमिकता दिएको भए पनि वडा नं. ४ मा तीनसय मिटर सोलिङ गरिएको बताए ।

विगु गाउँपालिकाले ६ ओटा वडामा प्रतिवडा २ सयमिटरको दरले सोलिङ गर्ने योजना बनाएको गाउँपालिकाका रोजगार संयोजक भीम थामीले जानकारी दिए ।

भीमेश्वर नगरपालिकाले पनि सोलिङलाई प्राथमिकता दिएर काम सुरु गरिसकेको तर सम्पन्न भई नसकेकोले यकिन तथ्याङ्क आई नसकेको सूचना अधिकारी जगदिश अर्यालले जानकारी दिए ।

जिल्लाको कालिञ्चोक, मेलुङ र शैलुङले आगामी हप्ताबाट कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । कालिञ्चोक गाउँपालिकाका इन्जिनियर नारायण शिवाकोटीले ग्रामीण सडक र नालालाई प्राथमिकता दिएर अर्को हप्ताबाट कार्यक्रम सञ्चालन गरिने बताए ।

मेलुङ गाउँपालिकाका प्रवक्ता हिरा थोकरले प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ४ ओटा वडा छनौट भएको र सबै वडाका ग्रामीण सडक सोलिङ गरिने बताए ।

शैलुङ गाउँपालिकाले बागखोर–भैंसे सडकमा सोलिङका लागि बजेट विनियोजन भई काम सुरु हुने चरण रहेको अध्यक्ष भरत दुलालले जानकारी दिए ।

जिल्लाका सबै स्थानीय तहले चालु आर्थिक बर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट मात्र करिब २० किलोमिटर सडकमा सोलिङ र सोही परिमाणमा नाला पनि निर्माण हुने प्रक्षेपण गरिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।