दोलखाको ४ पालिकामा देखियो पातलो संख्यामा सलह

 आवाज संवाददाता     १६ असार २०७७, मंगलवार

रवीन्द्र गौतम । दोलखा

असार १६, दोलखा । सोमबार रातीबाट जिल्ला प्रवेश गरेको सलह किरा दोलखाको ४ वटा स्थानीयतहमा फैलिएको छ । कृषि ज्ञान केन्द्र रामेछापका अनुसार जिल्लाका नौवटा स्थानीयतहमध्ये ४ वटामा सलहको प्रकोप देखिएको हो ।

दोलखा समेत कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्र रामेछापका प्रमुख दिनेश आचार्यका अनुसार पातलो संख्याको सलह किरा दोलखाका ४ वटा पालिकामा देखिएको छ ।

सोमबार दिउँसो रामेछापबाट उत्तर लागेको सलहको पातलो झुण्ड दोलखाको जिरी नगरपालिका, विगु, बैत्यश्वर र गौरीशंकर गाउँपालिकामा पुगेको जानकारी आएको ज्ञानकेन्द्र प्रमुख आचार्यले बताए ।

मंगलबार अपरान्ह प्राप्त जानकारीअनुसार जिरी नगरपालिका–५, जिरी, विगु गाउँपालिका–५, चिलंखा, बैत्यश्वर गाउँपालिका–५, पहाडी बाली अनुसन्धान केन्द्र, गौरीशंकर गाउँपालिका–७, मार्बुमा थोरै संख्यामा सलह देखिएको आचार्यको भनाई छ ।

विगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले चिलंखामा मौरी छुट्टिँदाजस्तै आवाज गरेर सलह देखिएको जानकारी पाएको बताए । नियन्त्रणको लागि पहल गरिरहेको र औषधि छर्कने योजनामा रहेको अध्यक्ष खड्काले जानकारी दिए ।

सलह किराको संक्रमण देखिएका स्थानहरुमा स्थानीय तहसँग ज्ञानकेन्द्रका प्राविधिकहरुले समन्वय गरिरहेको उनले बताए । हाललाई औषधि छर्कनु पर्ने स्थिति देखिँदैन तैपनि किसानहरुलाई सतर्क रहन जानकारी गराईएको उनको भनाई छ ।

जिल्लामा सलह फट्याँङ्ग्रा प्रवेश गरेकोमा किसानहरु चिन्तितसमेत बनेका छन् । मंगलबार साँझसम्म सलहले क्षति पु¥याएको जानकारी प्राप्त नभएका ज्ञानकेन्द्रको भनाई छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।