हिमआरोहीको गाउँ बेदिङमा २२ बर्षपछि स्वास्थ्यचौकी

 आवाज संवाददाता     १७ असार २०७७, बुधबार

रवीन्द्र गौतम । दोलखा

असार १७, दोलखा । हिमआरोहीहरुको गाउँ भनेर प्रख्यात उत्तरी दोलखाको बेदिङमा करिब २२ बर्षपछि स्वास्थ्यचौकी स्थापना गरी स्वास्थ्यकर्मी खटाईएको छ ।

उत्तरी दोलखाको गौरीशंकर गाउँपालिका–९, स्थित हिमआरोहीहरुको गाउँ तथा च्छोरोल्पा पदमार्गमा पर्ने चर्चित बेदिङ गाउँमा करिब २२ बर्षपछि स्वास्थ्यचौकी स्थापना गरी स्वास्थ्यकर्मी खटिएका हुन् ।

३७४० मिटर उचाईमा रहेको बेदिङमा चालु आर्थिक बर्षमा एकजना अहेबको दरबन्दीसहित स्वास्थ्यचौकी स्थापना गरिएको गौरीशंकर गाउँपालिकाका प्रशासन प्रमुख लिलाराज पौडेलले जानकारी दिए ।

२०५५ सालसम्म स्वास्थ्यचौकी रहे पनि स्वास्थ्यकर्मीहरु नबस्ने तथा जाँदै नजाने समस्या भए पछि विस्थापित भएको स्वास्थ्यचौकी चालु आर्थिक बर्षमा स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष सोयमबहादुर खड्काले जानकारी दिए । गाउँपालिकाले पालोप्रणाली मिलाएर अहेबको दरबन्दी सहित एकहप्तादेखि स्वास्थ्यचौकी सञ्चालनमा ल्याएको अध्यक्ष खड्काले बताए ।

बेदिङको गुम्बामा बौद्धदर्शन तथा धर्म अध्ययन गर्ने करिब २५ जना बालबालिका र गाउँका करिब ५० जना गरी ७५ जनाले प्रत्यक्षरुपमा आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने प्रशासन प्रमुख पौडेलको भनाई छ । आगामी ४ महिनासम्मलाई पुग्ने औषधि र कात्तिकसम्मलाई अहेब दिनेश घतानीलाई खटाईएको प्रशासन प्रमुख पौडेलले बताए ।

२०७६ फागुन १९ मा बेदिङका बासिन्दा र गाउँपालिका बिच संयुक्त बैठक गरेर स्वास्थ्यचौकी स्थापना गर्ने टुंगो लगाएको भएपनि बन्दाबन्दीको कारण ढिलाई भएर एकहप्ताअघिदेखि मात्र सञ्चालनमा आएको थियो ।

समुदाय र स्थानीय तहको आपसी समझदारीले एकजना स्वास्थ्यकर्मीको लागि खाना र बस्न रोल्वालिङ गुम्बा समितिले व्यवस्थापन गर्ने र सो कर्मचारीको तलब तथा औषधि उपकरण स्थानीय तहले व्यवस्थापन गर्ने गरी स्वास्थ्यचौकी सञ्चालनमा आएको बेदिङकी स्थानीय छिरिङ शेर्पाले जानकारी दिइ्रन् ।

चालु आबको लागि गाउँपालिकाले औषधि, उपकरण तथा अन्य व्यवस्थापनको लागि रु. २ लाख बजेट विनियोजन गरेको थियो । सो स्वास्थ्यचौकीबाट रोल्वालिङका शेर्पा समुदाय, गुम्बामा अध्ययन गर्ने बालबालिका र विभिन्न मौषममा सो क्षेत्र यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरु लाभान्वित हुने गाउँपालिकाको ठम्याई छ । बेदिङबाट मात्रै हालसम्म करिब ८५ जनाले विश्वको सर्बोच्च शिखर सगरमाथाको आरोहण गरिसकेका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।