कालिञ्चोक गाउँपालिका कार्यकारी प्रमुखलाई गाउँसभामा जान रोकियो

 आवाज संवाददाता     २५ असार २०७७, बिहीबार

रवीन्द्र गौतम । दोलखा

असार २५, चरिकोट । उत्तरी दोलखाको कालिञ्चोक गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत नवराज ओलीलाई गाउँसभामा प्रस्तुत भएका नीति तथा कार्यक्रम र बजेट बारे हुने छलफलमा जान जबरजस्ती रोकिएको छ ।

असार २३ गते मंगलबार सातौँं गाउँसभामा प्रस्तुत भएका नीति तथा कार्यक्रम र बजेट माथि बिहिबार बोलाईएको शीर्षकगत छलफलका लागि गएका प्रमुख कार्यकारी अधिकृत ओलीलाई विच बाटोबाटै जान जबरजस्ती रोकिएको हो ।

मंगलबार गाउँपालिकाको अस्थायी केन्द्र सुनखानीमा भएको गाउँसभापछि बिहिबारका लागि अध्यक्ष विनकुमार थामीले वडा नं. ६ लापिलाङमा आमन्त्रण गरेको छलफलका लागि हिँडेका अधिकृत ओलीलाई वडा नम्बर ७ स्थित सिसागोलाईबाट जान जबरजस्ती रोकिएको हो ।

वडा नं. ७, ८ र ९ बाट प्रतिनिधित्व गर्ने वडाध्यक्ष, वडासदस्य र कार्यपालिका सदस्यसहितको टोलीले सिसागोलाईमा पुगेका अधिकृत ओलीलाई वडा नं. ६ मा आमन्त्रण गरिएको छलफलमा जान रोक लगाएका हुन् ।

ति जनप्रतिनिधिले बिहान १० बजे सिसागोलाई पुगेका अधिकृत ओलीलाई अपरान्ह साढे ३ बजेसम्म रोकेर राखेको प्रहरीको भनाई छ । ३ बजेसम्म आफू सिसागोलाईमै रोकिएको र ३ बजेपछि छलफलको समय सकिएकोले अध्यक्षले आमन्त्रण गरेको स्थानमा उपस्थित हुन नसकेर घर फर्किएको अधिकृत ओलीले बताए ।

लापिलाङ हिँडेका ओलीलाई अवरोध सिर्जना भएपछि करिब १ बजे अधिकृत ओलीले इलाका प्रहरी कार्यालय सिंगटीको टोलीलाई फोन सम्पर्क गरेर अवस्थाको बारेमा जानकारी गराए लगत्तै असईको कमान्डको टोली २ बजे सिसागोलाई पुुगेर छलफल गरेको सिंगटी प्रहरी इन्चार्ज निरीक्षक सुनजित तामाङले बताए ।

गाउँपालिका अध्यक्ष थामीले लापिलाङमा बोलाईएको छलफलको लागि हिँडेका अधिकृत ओली सिसागोलाईमा अवरोधमा परेको जानकारी प्राप्त भएको बताए ।

उपाध्यक्ष कालिका पाठक आपूm गाउँपालिकाको अस्थायी केन्द्र सुनखानीमा उपस्थित भएको र कार्यकारीलाई अवरोधको घटना बारे आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिइन् ।

गाउँपालिकाका कूल ४८ कार्यपालिका सदस्यमध्ये लापिलाङमा १८ जनाको उपस्थिति रहेको र छलफल भईहालेको भए पनि कानुनी प्रावधानको कारण निर्णय गर्न नसकिने अवस्था रहेको बताईएको छ ।

२३ गते सम्पन्न गाउँसभामा उपस्थित बहुमत सदस्यले लापिलाङमा बैठक बोलाउनु कानुन विपरित रहेको जिकिर गरेका थिए । गाउँपालिका स्थापनाकालदेखि नै केन्द्र विवादको कारण अध्यक्ष थामी र उपाध्यक्ष पाठक बिच गम्भिर मतभेद रहँदै आएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।