दोलखाको २० करोड बजेट फ्रिज, शैलुङ र तामाकोशीले बुझाएन हिसाब

 आवाज संवाददाता     ५ श्रावण २०७७, सोमबार

रवीन्द्र गौतम । दोलखा

साउन ५, दोलखा । आर्थिक वर्ष २०७६÷७७ मा दोलखा जिल्लाका ७ वटा स्थानीय तहले करिब २० करोड बजेट फ्रिज गरेका छन् ।
जिल्लाका ७ ओटा स्थानीय तहले संघीय शसर्त अनुदान र बागमती प्रदेश सरकार शसर्त अनुदान गरी करिब २० करोड बजेट खर्च गर्न नसकी असार मसान्तमा फ्रिज पठाएका हुन् ।

९ वटा स्थानीय तह रहेको दोलखाका ७ वटा स्थानीय तहले कोष तथा लेखा नियन्त्रण कार्यालय दोलखामा बुझाएको हिसाब अनुसार १९ करोड ८६ लाख ८४ हजार ६ सय ६१ रुपैयाँ बजेट फ्रिज पठाएका हुन् ।

७ वटा स्थानीय तहहरुबाट संघीय अनुदानतर्फ १७ करोड १ लाख ३७ हजार एकसय ७५ र बागमती प्रदेश अनुदानतर्फ २ करोड ८५ लाख ४७ हजार चारसय ८६ रुपैयाँ बजेट फ्रिज गएको कोष तथा लेखा नियन्त्रकको कार्यालय (कोलेनिका) दोलखाका मुख्य कोष नियन्त्रक शिवनाथ पौडेले बताए ।

शैलुङ र तामाकोशी गाउँपालिकाले भने फ्रिज पठाएको बजेटको प्रमाण कार्यालयलाई प्राप्त नभएको कोलेनिका दोलखाले जनाएको छ ।

संघीय अनुदान र बागमती प्रदेश सरकारको अनुदान गरी सबैभन्दा बढि बजेट फ्रिज गर्नेमा मेलुङ गाउँपालिका र सबैभन्दा कम बजेट फ्रिज गर्नेमा भीमेश्वर नगरपालिका रहेको कोलेनिका दोलखाले जनाएको छ ।

मेलुङ गाउँपालिकाले संघीय अनुदान ५ करोड ९३ लाख १६ हजार ३१ र प्रदेश अनुदान ३८ लाख ६० हजार तीन सय ३७ गरी कूल ६ करोड ३१ लाख ७६ हजार ३ सय ६८ बजेट फ्रिज पठाएको छ भने भीमेश्वर नगरपालिकाले संघीय अनुदान एककरोड १३ लाख ३७ हजार दुईसय ७४ र प्रदेश अनुदान २७ हजार चारसय १५ गरी कूल एककरोड १३ लाख ६४ हजार छसय ८९ रुपैयाँ फ्रिज पठाएको तथ्याङ्क छ ।

जिरी नगरपालिकाले संघीय र प्रदेश अनुदान गरी तीनकरोड पाँचलाख ३७ हजार पाँचसय ५१, विगु गाउँपालिकाले एककरोड २० लाख ३५ हजार तीनसय ६४, कालिञ्चोक गाउँपालिकाले दुईकरोड ५२ लाख चारहजार ६०, बैत्यश्वर गाउँपालिकाले एककरोड ९९ लाख ५५ हजार ८१ र गौरीशंकर गाउँपालिकाले तीनकरोड ६४ लाख ११ हजार पाँचसय ४७ रुपैयाँ बजेट फ्रिज पठाएको कोलेनिकाको तथ्याङ्कमा उल्लेख छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।