दोलखाको ३ वटा पुल हेटौँडामा उद्घाटन, दोलखावासी बेखबर

 आवाज संवाददाता     ९ श्रावण २०७७, शुक्रबार

रवीन्द्र गौतम । दोलखा

साउन ९, दोलखा । दोलखा जिल्लाको विभिन्न खोलाहरुको सम्पन्न भएको ३ ओटा पक्की पुल बागमती प्रदेशको राजधानी हेटौंडामा उद्घाटन गरिएको छ ।

बुधबार भौतिक पूर्वाधार तथा विकास मन्त्रालय हेटौंडाको सभाकक्षमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले ३२ ओटा पुलको एकमुष्टमा उद्घाटन गर्ने क्रममा दोलखाको पनि ३ ओटा पुल उद्घाटन गरेका हुन् ।

मुख्यमन्त्री पौडेलले मकवानपुरको कैलाश गाउँपालिका–१० मा निर्मित दुवोखोला पुलको उद्घाटन गर्ने क्रममा एकबर्षअघि निर्माण सम्पन्न भएको दोलखाको ३ ओटा पुल पनि एकमुष्टमा उद्घाटन गरेका हुन् ।

विगु गाउँपालिकास्थित सोरुङखोला, मेलुङ र शैलुङ गाउँपालिका जोड्ने अँधेरीखोला र भीमेश्वर नगरपालिकाको सेरास्थित चर्नावतीखोलामा बनेको आरसीसी टी र गर्डर प्रविधिको पुल हेटौंडामा उद्घाटन भएको छ ।

पुल उद्घाटनको बारेमा दोलखा जिल्लाका न कुनै कर्मचारीले थाहा पाए, न जनप्रतिनिधिले नै, न त निर्माण व्यवसायीले नै थाहा पाए, न पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले नै थाहा पायो ।

२ करोड ६२ लाख ८३ हजार दुईसय ३० रुपैयाँ लागतमा २०७३ असार ३० गते सम्झौता भई २०७६ असार २९ गते निर्माण सम्पन्न ३५ मिटर लम्बाईको विगु गाउँपालिका–५ र ८ जोड्ने सोरुङखोलाको पुल उद्घाटन भएको विगु गाउँपालिकाका प्रमुख युधिष्ठिर खड्काले थाहै पाएनन् ।

पुल उद्घाटनको विषयमा जानकारी लिन खोज्दा अध्यक्ष खड्काले भने, ‘हो र !’ लगत्तै उनले भने, ‘हामीलाई पुल चाहिएको हो, बनेर पनि गाडी चलिहाल्छ, उद्घाटन जोसुकैले गरोस् मतलब भएन ।’

७५ लाख ७५ हजार पाँचसय २६ रुपैयाँ लागतमा २०७१ असार ३० गते सम्झौता भई २०७६ असार ११ गते निर्माण सम्पन्न १४ मिटर लम्बाईको मेलुङ र शैलुङ गाउँपालिका जोड्ने अँधेरीखोलाको पुल उद्घाटन भएको पनि पुलै छेउका बासिन्दाले थाहा पाएका छैनन् । मेलुङका स्थानीय सोभित उप्रेतीले भने, ‘जीर्ण हुन लागेको पुल पो उद्घाटन गरेछन् ।’

एक करोड ३७ लाख ५१ हजार तीनसय २८ रुपैयाँ लागतमा २०७१ असार २० गते सम्झौता भई २०७६ साउन २५ गते निर्माण सम्पन्न २५ मिटर लम्बाईको भीमेश्वर नगरपालिकाको सेराबेंसीस्थित चर्नावती पुल उद्घाटन सम्पन्न भएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।