पवटीका कृषकलाई मिनिटिलर वितरण

 आवाज संवाददाता     १६ श्रावण २०७७, शुक्रबार

नवराज शिवाकोटी
श्रावण,१६,चरिकोट
मेलुङ गाउँपालिका वडा नम्बर एक पवटीका कृषकहरुलाई मिनिटिलर वितरण गरिएको छ । मेलुङ गाउँपालिका तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बाट कृषक समूह तथा फमहरुलाई मिनिटिलर वितरण गरिएको हो ।
गाउँपालिकाको वडा नम्बर एक पवटीका २७ कृषक समूह तथा फमहरुलाई कृषि कार्यमा प्रोत्साहित गर्न मिनिटिलर उपलब्ध गराइएको मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले बताए । कृषक समूहरुलाई मेलुङ गाउँपालिकाले उलब्ध गराएका ७ मिनी टिलरमा ७५ प्रतिशत अनुदान दिइएको तथा २५ प्रतिशत कृषक समूहले ब्यहोरेको अध्यक्ष श्रेष्ठको भनाई छ । यसैगरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले उपलब्ध गराएका २० मिनिटिलरमा भने परीयोजनाको ५० प्रतिशत अनुदान तथा ५० प्रतिशत कृषक स्वयंले ब्यहोरेका छन् । मिनिटिलरको मुल्य प्रतिगोटा ५० हजार रहेको मेलुङ गाउँपालिकाका कृषि प्राविधिक विष्णु जिरेलले बताए ।


कृषिको आधुनिकीकरणनैं मेलुङको सम्बृद्धिको आधार भएकोले कृषिमा आधुनिकीकरण गर्नकालागि गाउँपालिकाले विभिन्न कार्यक्रम ल्याएको गाउँपालिकाका प्रबक्ता हिरा थोकरले बताए । अहिले गोरु पाल्ने मानिसको कमी भइरहेको सन्दर्भमा मिनिटिलरको वितरणले कृषकहरुलाई खेती गर्न सहज हुने उनको विश्वास छ । कृषिको आधुनिकी करणकालागि गाउँपालिकाले एभोकार्डो,उच्च भूभागमा स्याउ लगायतका फलफूलका विरुवा वितरण गरी किशानलाई फलफूल खेतीमा समेत प्रोत्साहित गर्ने काम गाउँपालिकाले गरिरहेको छ ।
मेलुङ गाउँपालिकामा दोलखाको सबै भन्दा होचो भूभाग देखि लेकाली भूभाग सम्म पर्ने भएकोले गाउँपालिकाले योजना बद्ध ढंगले कुन ठाउँमा केको उत्पादन हुन्छ सोही आधारमा कृषकहरुलाई कृषि कार्यमा सहयोग गर्दै कृषकको जीवनस्तर माथि उठाउने नीति लिएको अध्यक्ष श्रेष्ठको भनाई छ । मिनिटिलर वितरण पछि निकट भविष्यमानै यसको मर्मतकालागि आवश्यक तालिम दिने ब्यवस्था मिलाइने गाउँपालिकाले बताएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।