अब बालुवा र गिटीको पनि मापदण्ड निर्धारण हुन्छः निर्देशक पुडासैनी

 अावाज स‌‌वाददाता     ६ चैत्र २०७३, आईतवार

२०७२ को विनासकारी भूकम्पले १४ जिल्लामा ठुलो क्षति पुगेपछि अहिले पुनःनिर्माणको चटोरो छ । तर यतिबेला सेवाग्राहीले निर्माण सामग्री सहजै पाउन त सकेको छैनन् नै पाएका सामग्री पनि एकातिर गुणस्तर कमी भएको गुनासो आएको छ भने अर्कोतिर चर्को मूल्य तिर्न उनीहरु बाध्य छन् । प्रस्तुत छ निर्माण सामग्रीको गुणस्तरबारेमा नापतौल तथा गुणस्तर विभागका निर्देशक विश्वबाबु पुडासैनीसँग हाम्रा सम्पादक आनन्द श्रेष्ठले गरेको कुराकानी

 निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरुले दाबी गरेजस्तै नेपालमा उत्पादन हुने छड, सिमेन्टजस्ता निर्माण सामग्रीहरुको गुणस्तर उत्कृष्ट छ ?
नेपाली डण्डीहरुको गुणस्तरको विषयमा कुरा गर्नुपर्दा त्यसको भार बहन क्षमता एकाध केश बाहेक सबैमा राम्रो रहेको छ । कहिलेकाहीँ भने बोन टेस्ट नपुग्ने पाएका छौँँ । यस्तो भएमा सिमेन्टसँग हुनुपर्ने जति एट्याच्मेन्ट नहुन सक्छ । त्यस्तै नेपाली डण्डीहरुमा भन्दा भारतीय डण्डीमा तोकिएको भन्दा कम गोलाई हुने भेटिएको छ । नेपाली डण्डीहरुमा यस्तो समस्या छैन । हाम्रो निरन्तर अनुगमनले के देखाएको छ भने नेपाली डण्डीहरुको गुणस्तरमा निस्चिन्त हुन सकिन्छ । गुणस्तरीय डण्डी बङ्ग्याउँदा त्यसमा टुटेको जस्तो देखिँदैन । यस्तो सामान्य कुरा उपभोक्ताहरुले पनि सजिलै परीक्षण गर्न सक्छन् ।

तर, नेपाली डण्डीहरुको तौल भने निर्धारण गरिएको भन्दा कम पाइएको गुनासो बेलाबेलामा आइरहेको छ नि ?
उद्योगहरुले डण्डी ढुवानी गर्दा सजिलोको लागि यु आकारको हुक लगाएर पठाउने गर्छन् । सो हुकको तौल सानो साइजको डण्डीमा एक किलोग्रामको हुन्छ भने ठुलो साइजको डण्डीमा दुइ केजीको हाराहारीमा हुन्छ । एस्तो हुक उपभोक्तासम्म नपुग्दा एक केजी दुई केजी तौल नपुगेको देखिन्छ । त्यसैले हामीले उद्योगीहरुलाई कडाइका साथ भनेको छौँँ, एस हुक सहितको तौल हो भने सो हुक पनि उपभोक्तालाई दिनुपर्छ । सो हुक नदिने हो भने डण्डीको बास्तविक तौलको मात्रै पैसा लिनुपर्छ ।

स्वदेशी डण्डीको गुणस्तर राम्रो भइरहेको अवस्थामा सिमेन्टको गुणस्तरीयतामा कतिको विश्वास गर्न सकिन्छ ?
सिमेन्टको विषयमा कुरा गर्नुपर्दा स्थापित उद्योगहरुको उत्पादन राम्रै देखिन्छ । तर, कहिलेकाही केही उद्योगहरुले बदमासी गरेको पनि भेटाइएको छ । हामीले परीक्षण गर्दा दुई प्रकारको बदमासी पाएका छौँँ । एउटा प्रोडक्टमा तोकिएको मापदण्ड पुरा नभएको तथा सिमेन्ट बनाउने बेलामा निर्धारण गरिएको कच्चा पदार्थ राखिए पनि त्यस्तो कच्चा पदार्थमा सामान्य त्रुटी भएको हुन्छ । जस्तै ओपीसी सिमेन्ट बनाउने प्रतिबन्धित केमिकल प्रयोग गर्ने, न्युन गुणस्तरको क्लिङ्कर प्रयोग गर्ने भेटाएका छौँँ । यस्तो बदमासी केही साना उद्योगहरुले बेलाबेलामा गरेको हामीले पाएका छौँँ । त्यस्ता कतिपय सिमेन्ट उद्योगको इजाजट पत्र खारेज तथा निलम्बन पनि गरिएको छ । अहिले पनि हामीले श्री सिमेन्ट, एडभान्स र रिलायन्स सिमेन्टको इजाजत रद्द गरेका छौँ । यी कम्पनीहरुको दुईटा तीनओटासम्म लाइसेन्स थियो । हामीले सबै लाइसेन्स रद्द गरेकाले यी कम्पनीहरु अहिले लाइसेन्सको रि प्रोसेसमा छन् । एकपटक रद्द गरे पनि पुनः इजाजन लिन पाउने व्यवस्था भएकोले सोही अनुसार उनीहरु अगाडि बढिरहेका छन् ।

नेपाली सिमेन्टहरुको अन्तराषर््िट्रय स्तरको ग्रेड निर्धारण गर्ने प्रकृयामा किन ढिलाइ भइरहेको छ ?
नेपालमा उत्पादन भएका सिमेन्टहरुले कुन गुणस्तरको सिमेन्ट उत्पादन गर्छन् सोही अनुसारको ग्रेड निर्धारण हुने हो । सिमेन्टलाई ४३ र ५३ ग्रेड निर्धारण गर्ने भन्ने प्रकृया अगाडि बढिरहेका छ । चाँडै नै यसको निर्णय पनि हुन्छ । ५३ ग्रेडको विषयमा भने हाम्रो उद्योगहरुबाट उत्पादित सिमेन्टको मापदण्ड सधैँ त्यही गुणस्तरको हुन्छ कि हुँदैन भन्ने पनि हुन्छ । एक दिन मात्र गुणस्तरीय उत्पादन गरेर हँुदैन । हाइ ग्रेडको सिमेन्ट बनाउन क्लिङ्कर नै बेष्ट पर्फर्मेन्स दिने हुनुपर्छ । तर, हाम्रा उद्योगहरुले क्लिङ्कर बनाउने बेलामा पनि सम्झौता गरेको देखिन्छ । पर्याप्त कोइला प्रयोग नगर्ने, आवश्यक कच्चा पदार्थको मिश्रणमा ध्यान नदिने केशहरु पनि फेला पारेका छौँ । बेष्ट क्लिङ्कर नबन्दासम्म हाइ ग्रेडको सिमेन्ट बन्न पनि समस्या हुन्छ । जस्तो घोराही सिमेन्टले पर्याप्त कोइलाको प्रयोग नगर्दा क्लिङ्कर राम्रो बनेको छैन भनेर हामीले भनिरहेका छौँ । राम्रो क्लिङ्कर बनाउन हामीले निर्देशन दिइसकेका छौँ । भारतबाट आयात हुनेमा केजीएसको क्लिङ्कर त्यति राम्रो नदेखेको हामीले पाएका छौँ ।

भारतबाट आयात भएको डण्डी पनि कम गुणस्तरको पाइएको उपभोक्ताहरुको गुनासो छ नि ?
भारतबाट आएका केही डण्डीहरुको भारबहन क्षमता कम भएको हामीले पाएका थियौँ । तर, त्यस्ता डण्डीलाई हामीले प्रतिबन्ध लगाइसकेका छौँ । नेपाल र भारतमा डण्डी बिक्री गर्ने तरिकामा भिन्नता भएका कारण केही समस्या भने देखिएको छ । भारतमा डण्डी गोटा गन्तीमा आधारित भएर बिक्री हुन्छ । त्यसैले गोलाई तथा मोटाइमा केही कम गर्दा उद्योगलाई फाइदा हुन्छ । तर, नेपालमा भने तौलका आधारमा बिक्री हुने कारण यस्तो समस्या हुँदैन । भारतबाट आएका हरेक निर्माण सामग्रीले नेपालमा गुणस्तर परीक्षण भएपछि मात्र बिक्री स्वीकृति प्राप्त गर्छ । २०७५ सालको बैशाखको १५ गतेदेखि बिदेशबाट आयात हुने निर्माण सामग्रीमा पनि एनएस चिन्ह लिनुपर्ने व्यवस्था गरेका छौँ ।

कवाडी फलामहरुलाई पनि उद्योगीहरुले पुनः प्रयोग गरेर डण्डी बनाउने गरेको हल्ला बजारमा छ । अनुगमनको क्रममा यस्तो भेटाइएको छ कि छैन ?
कवाडी फलामलाई गलाएर नयाँ उत्पादन गर्दा पनि गुणस्तरका त्यस्तो असर पर्दैन । नयाँ प्रोडक्ट उत्पादन गर्न आवश्यक केमिकलको उचित संयोजन हुनुपर्छ । उत्पादनमा आवश्यक त्यस्तो मिश्रणमा गडबडी भएमा प्रोडक्ट उत्पादनमा नै समस्या पर्छ । हामीले अनुगमन गर्दा पनि कवाडी फलाम मात्रै प्रयोग गरेर छड बनाएको पनि भेटाएका छैनौ । कवाडीबाट उत्पादन भएका फलामहरु पनि छड बनाउन नभई एस हुक, ग्रिलका डण्डीहरु बनाउन प्रयोग गर्ने गर्छन् । छड उत्पादन गर्न नेपालमा उद्योगहरु सबैले प्राइम ब्लेड नै प्रयोग गरेका भेटिन्छ । यो उच्च गुणस्तरको ब्लेड हो । नेपाली प्रोडक्टमा सिमेन्ट भन्दा छड बढी बिश्वसनीय छ । ब्राण्डिङका कारण दुईचार पैसा कुनै कम्पनीले बढी लिने गरेको पाइन्छ । तर, हाम्रो अनुगमनमा सस्तो मुल्यमा बिक्री भएका डण्डीको गुणस्तर पनि कम छैन । कुनै पनि डण्डी निर्धक्कसँग प्रयोग गर्दा हुन्छ ।

सामान्य उपभोक्ताले गुणस्तरीय सिमेन्ट पत्ता लगाउने सहज तरिका छैन ?
बाहिरबाट निरीक्षण गरेर सिमेन्टको क्वालिटी थाहा पाउन सकिँदैन । निर्माणस्थलमा प्रयोग गर्दा केही ध्यान पु¥याउन सकेमा भने गुणस्तरीय छ÷छैन पत्ता लगाउन सजिलो हुन्छ । ओपीसी सिमेन्ट प्रयोग गरिरहेको छ भने सामान्य अवस्थामा कालो रङहरु बढी देखिन सक्छ । ओपीसी सिमेन्ट पानीमा राख्दा कालो रङहरु धेरै नै तैरिएको भेटिएमा त्यहाँ मिसावट छ भन्ने बुझ्दा हुन्छ । सो सिमेन्ट कम गुणस्तरको हो । त्यस्तै पीपीसी सिमेन्टमा भने कालो तैरिएको हुन्छ नै । यसलाई भने प्रयोग गरेपछि भोलिपल्ट सिमेन्ट लगाइएको स्थानमा कत्तिको कडा पन छ ? सिमेन्टले कतिको समात्न सकेको छ भन्ने कुरामा निर्भर हुन्छ । जस्तै कंक्रिटहरु ढलान गरिएको छ भने सो स्थानमा ह्याम्मरले हान्दा फलामको जस्तो मेटालिक आवाज आउने हुनुपर्छ । कडा ढुङ्गामा ह्याम्मरले हान्दा जस्तो आवाज आउछ त्यस्तै आउनुपर्छ । भित्तामा प्रयोग गरिएको छ भने एक दुइ दिनमा त्यसले कति राम्रोसँग सेटिङ भएको छ परीक्षण गर्न सकिन्छ । खरिद गर्दा भने एनएस चिन्ह प्राप्त बोरा मात्र खरिद गर्नुपर्छ । यस्तोमा पनि शंका लागेमा शुरुमा परीक्षण गर्न ५÷१० बोरा मात्र खरिद गरी प्रयोग गर्दा राम्रो हुन्छ । सिमेन्ट लामो समय भण्डारण गरेर राखिँदैन । तर, पनि वर्षातको समयमा सकेसम्म सुख्खा वातावरणमा राख्नुपर्छ, चिसो स्थानमा पनि राख्नुहुँदैन ।

बलियो पूर्वाधार निर्माण गराउन विभागले अन्य के कस्ता कार्यहरु गर्दैछ ?
सिमेन्ट, छडमा गुणस्तर निर्धारणको विषयमा धेरैले ख्याल राख्छन् । तर, सोेही घर निर्माणमा प्रयोग हुने गिटी, बालुवा कस्तो हुनुपर्छ भन्ने विषयमा त्यति ध्यान दिइँदैन । त्यसैले अब हामीले वालुवा, गिटी तथा अन्य निर्माण सामग्रीको गुणस्तर कस्तो हुनुपर्छ भन्ने गाइडलाइन बनाउँदै छौँ । भवन निर्माण गर्न आवश्यक वालुवामा हुनुपर्ने गुणहरुका विषयमा गाइडलाइनमा स्पष्ट उल्लेख हुनेछ । यस्तो विषयमा सर्वसाधारण अन्योल भएको कारणले पनि प्राविधिक डकुमेन्ट आवश्यक परेको हो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।