आर्थिक वर्षको अन्तमा अख्तियारी आउँदा बजेट खर्च हुन सकेन

 अावाज स‌‌वाददाता     १९ श्रावण २०७४, बिहीबार

दोलखा, १९ साउन
आर्थिक वर्ष सकिन लाग्दा समेत केन्द्रबाट जिल्लामा बजेट आउँदा खर्च हुन नसकेको बजेट ठूलो छ । राजनैतिक तथा प्रशासनिक पहुँच र भनसुनका आधारमा बजेट रकामान्तर गरी जिल्लामा आउने क्रम विगतको निरन्तरता कायमै हुँदा बजेट खर्च हुन नसकेको हो ।
जिल्ला समन्वय समिति दोलखाका स्थानीय विकास अधिकारी शंकर नेपालले जिससको कार्यालयमा आयोजित पत्रकार भेटघाटमा पुरानो अख्तियारी खर्च भए तापनि पछिल्लो बजेट खर्च गर्न नसकेको बताएका छन् । ‘हामी बजेट खर्च गर्न सक्दैनौं भन्दाभन्दै बजेट आयो’ उनले भने ‘असारको २५ गतेसम्म भुक्तानीको चेक काटिन्छ, तर यहाँ त असार २२ गतेसम्म बजेटको अख्तियारी आयो ।’
आर्थिक वर्षको अन्तिममा संस्कृति प्रवद्र्धन कार्यक्रमका लागि १ करोड २७ लाख ६१ हजार २३९ अख्तियारी आएकोमा १ करोड २ लाख १४ हजार ६९३ रुपैयाँ ३ दिनमा खर्च गरेको उनले बताए । जिल्ला समन्वय समिति दोलखाले खर्च गर्न नसकेको बजेट मध्ये अधिकांश यही प्रकृतिका छन् ।
जिल्ला समन्वय समतिले आर्थिक वर्ष २०७४÷७५ मा पुँजीगत तर्फ ६७.८४ प्रतिशत खर्च भएको छ । त्यसैगरी चालु तर्फ ८५.७२ प्रतिशत खर्च भएको छ । जिल्ला विकास समितिमा फागुन मसान्तसम्म ४ अर्ब ४४ करोड ५१ लख ६३ हजार ७३७ रुपैयाँ अख्तियारी आएकोमा २३ करोड ६४ लाख ९४ हजार ६४६ खर्च भएर बाँकी जिल्ला समन्वय समितिमा जिम्मेवारी सारिएको उनले बताए ।
जिल्ला समन्वय समिति अन्र्तगत गत आर्थिक वर्षको असार मसान्तसम्म विभिन्न १८ वटा शीर्षक अन्र्तगत ४८४ वटा योजना मध्ये ४६८ वटा योजना सम्पन्न भएको जानकारी दिए । नयाँ संघीय स्थानीय तहको कानुन अनुसार जिसस अन्र्तगतका योजनाहरु स्थानीय तहलाई जम्मेवारी हस्तान्तरण गरिने बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।