एक दोलखालीको इमानदारीले दिएको समृद्धि

 अावाज स‌‌वाददाता     १२ भाद्र २०७४, सोमबार

तर, भेटघाट यतिमै सीमित हुन पाएन । सापकोटा कुनै पनि कुरालाई टुंगोमा नपुर्‍याई छोड्दैनन् । शुक्रवार भेट भएका खड्कासँग अर्को बिहीवार ब्रेकफास्ट मिटिंग गर्ने कुरा भयो । तिजको दिन बिहानै बूढानीलकण्ठ मन्दिर नजिकैको एउटा बंगलाको बरन्डामा आएर दिपक खड्काले सहज ढंगमा स्वागत गरे । कालो चिया खाइयो तर अन्तर्वार्ताजस्तो केही नगरौँ भन्ने प्रस्ताव उतैबाट आयो । मैले सहजै स्वीकार गरेँ । त्यसपछि देशका समस्या र जनताका आफ्नो कमजोरीका विषयमा छलफल भए । बेल्जियमका लागि नेपालका राजदूत लोकबहादुर थापा पनि चिया भेलामा सहभागी हुन आइपुगे । परराष्ट्र सेवामा रहेका थापा पहिले अस्ट्रेलियामा डेपुटी चिफ अफ मिसन (राजदूत पछिको पद) भएर बसेका कारण खड्कासँग सम्बन्ध जोडिएको रहेछ ।

एकैछिनमा खड्काले ब्रेकफास्ट खान निम्त्याए । खड्काका बाबु र आमाको निकै ठूलो फोटोले सजिएको बैठक हुँदै हामी डाइनिङमा प्रवेश गर्‍यौं । डाइनिङमा पुग्ने बित्तिकै खड्काले एउटा ठूलो सिसाको बाउल (कचौरा भनौं) लिए । अनि आफैले ब्रेकफास्ट बनाउने कुरा गरे ।

उनले पहिले आँप लिए र बडो चाखलाग्दो तरिकाले हात अलिकति पनि फोहोर नपारी आँपलाई बोक्रामानै काटेर सानो सानो टुक्रा बनाई भाँडामा राखे । अनि एकदम राम्रो कुकले जस्तैै एभोकाडोलाई मिलाएर काटे र बोक्रा भित्रै चक्कुले ससानो टुक्रामा काटे । त्यसपछि केरालाई त्यसैगरी काटे अनि भाँडामा मिसाए । भाँडोमा कर्नफ्लेक्स हाले अनि चिउरा हाले त्यसपछि दुध हाले । यति गरेपछि सबैलाई आफैले भाग लगाएर दिए । यसैबीच धेरै कुरा भए । चिया पनि फेरि एक खेप आयो । तर, मलाई यी व्यक्तिको सादगी देखेर उनको विषयमा जान्ने चाहना बढ्यो ।

कुरैकुरामा उनले काम गर्नेको नियत सफा हुनुपर्ने कुरा बारम्बार गरे । एकजना उद्यमीबाट यस्तो कुरा आउँदा एउटा पत्रकार प्रभावित हुनु स्वभाविकै हो । मलाई उनीसँग अलि खुलेरै कुरा गरौं भन्ने भयो । आफैँले मुख खोलेर भने — “साधारणतया अन्तर्वार्ता नलिउँ भन्दा कर गर्दिन । आज  तपाईंसँग चाहिँ साँच्चै केही कुरा गरौँंजस्तो लाग्यो ।” उनले नाईं भनेनन् । अरूलाई छाडेर हामी दुईमात्र एउटा कोठामा छिर्‍यौँ ।

नैतिकता र इमानदारीको बाटो 

 

कुनैपनि उद्यमी औंला बांगो नबनाई समृद्धिको बाटोमा अघि बढ्दैन भन्ने हाम्रो समाजमा मान्यता नै बन्न पुगेको छ । तर, यही समाजमा बसेर, औंला घुमाउन मन्जुर गरेको भए राम्रै हैसियत बनाउने संभावनालाई लत्याएर विदेशमा एक राम्रा नियतका सच्चा व्यापारी बन्न सफल भएका व्यक्ति रहेछन् दिपक खड्का ।

उनले चाहेको भए त नेपालमै प्रशस्त पैसा कमाउने सक्ने स्थानमा उहीबेला पुगेका रहेछन् । करिब चालीस सालतिरै । नेपालमा सबैभन्दा बढी पैसा कमाउने थलोको रूपमा चिनिने सडक विभागको इलाम–फिदिम रोड प्रोजेक्टमा काम गर्दा गर्दै गलत नियत राखेर काम गर्न मन नमानेर जागीर छाडेर हिंडेका रहेछन् खड्का ।

“इलाम–फिदिम मार्गको पौवा भन्ज्याङबाट तल लालीखर्कको ठूलो घुम्ती मैले नै डिजाईन गरेको हुँ,” आफूले गरेको काममा गर्व गर्छन् खड्का । तर त्यो ७१ कि.मी बाटोलाई थोरै थोरै गरेर पिच गर्नेभन्दा ग्राभेलिङ गर्ने अनि अर्को वर्ष पानी र बाढीले बगाउँछ अनि त्यही काम दोहोर्‍याउने नियत देखिएपछि दोलखाका यी खड्का इलामबाट केही नभनी कसैलाई बिदा पनि नभनी हिंडेछन् । त्यसपछि यिनी हङकङ पुगे, काम गरे र सफल उद्यमी पनि भए । तर हङकङभन्दा पहिले यिनको बाल्यकालबाट कुरा अघि बढाऔँं ।

ठग कहलिने पीडा

सानैदेखि गलत काम गर्न नचाहने स्वभावका दीपकले दोलखा जिल्लाको तामाकोशी र सुनकोशीको बीचको गाउँ खोपाचागुमा ६ जना बच्चा बच्चीमध्ये सबैभन्दा कान्छो सन्तानका रूपमा जन्म लिएका थिए । उनको परिवार समृद्ध थियो । बस्न, खान कुनै समस्या थिएन । तर दुवै दाजु काठमाडौंमा बसेर पढ्ने र दिदीहरूको घरमा अनेक सामान पठाई रहनुपर्ने कारण पैसा पुर्‍याउन बाबुआमालाई सहज थिएन । उनी कान्छा छोरा भएका कारण आफ्ना अभिभावकको समस्या बुझेका थिए । एकपल्ट एउटा लैनो भैँसी बेचेर काठमाडौं पैसा पठाउनु पर्दा आमा रातभर नसुतेको उनलाई राम्ररी सम्झना थियो । लैनो भैँसी बेच्नुभन्दा पनि समाजले के भन्ला भन्ने पीर थियो । त्यसैले उनलाई बाबुआमालाई दुःख दिन मन लाग्दैन थियो ।

पहिले त दीपक काठमाडौंको पद्मोदयमा गएर पढेका थिए तर स्वास्थ्यले साथ दिएन । दुई वर्षमा नै गाउँ फर्किए । गाउँमा स्कूल थिएन । घरबाट ५ घन्टा टाढाको जिरीमा गएर पढ्न थाले । जिरीमा उनी अरू चार जना साथीसित एउटै भान्सामा पकाएर खान्थे । उनको घरबाट एकजनालाई महिना दिन पुग्ने चामल आउँथ्यो तर पाँच जनामा त त्यति चामल एक सातामै सकिइहाल्ने । अरू सबैको पीठो आउने, ढिंँडो पकाएर खानुपर्ने । उनलाई ढिंडो निल्न साह्रै गाह्रो लाग्ने । नजिकैको एउटा होटलमा गएर कहिले दुध, कहिले तरकारीसँग ढिंँडो निल्थे ।

एकपल्ट घर जाने बेलामा उनले बारम्बार खाएको तरकारी, दुधको पैसा ३४ रुपैयाँ भएको रहेछ । उनी त्यो पैसा घरमा मागेर बाबु आमालाई अप्ठेरोमा पार्न सक्दैनथे । यस्तो मनभरी पीडा लिएर गएका उनलाई माहिला भिनाजुले अन्न बेचेर आएको पैसाबाट १०, १० का नयाँ नयाँ नौवटा रुपैयाँ दिएछन् । अनि के चाहियो दिपकलाई । “त्यो पैसा लिएर स्कुल फर्कदा पाँच घन्टाको बाटो त उडेर पुगेजस्तो लाग्यो । मलाई ऋण तिर्न पाउँदा साह्रै खुसी लागेको थियो । अरू पैसाले अनेक थोक किनेर खाइयो ।”

आफू सज्जन भएर के गर्नु, १० कक्षामा उनका एक साथीलाई परीक्षामा आईएस्सी पढेका दाइले सिकाउँदै रहेछन् । “अन्याय सहन सकिन । एउटा सानो ढुंगा लिएर हानीदिएँ । त्यसले एउटा बबाल नै मच्चायो,” उनले पुराना दिन सम्झिए ।

जे होस् उनले एसएलसी सकेर कृषिमा बीएस्सी गर्न कोलोम्बो प्लानमा निवेदन दिए । उनी छानिएको घोषणा त भयो तर कहाँ कलेजमा पढ्ने भन्ने कन्फर्मेसन आएन । त्यस बीचमा पुल्चोक कलेजमा ओभरसिएर पढ्न भर्ना भए । तर उनको मन प्लानमा नै थियो । हरेक दिन कोलम्बो प्लानको कन्फर्मेसन बुझ्न जान्थे बाग दरबारको एउटा अफिसमा । त्यहाँ एमडी गुप्ता भन्ने व्यक्तिले हरेक दिन उनलाई कन्फर्मेसन आएको छैन भन्ने जवाफ दिन्थे । तर डेढ वर्षपछि जब कन्फर्मेसन आयो, उनले सोची सकेका थिए उनी कृषि होइन इन्जिनियरिङ पढ्न चाहन्छन् । कन्फर्मेसन आएपछि सबैको सोचविपरीत उनले सो सिट छाडेको घोषणा गरिदिए ।

ओभरसियर बनेपछि स्विसहरूसँग मिलेर जिरी व्यावसायिक स्कूल स्थापना गरे । सो स्कूल यति राम्रो बन्यो कि दिल्लीबाट आएका स्विस राजदूतले पहिलो हेल्भेटास छात्रवृत्ति दिएको घोषणा गरिदिए । उनका तत्कालीन स्विस हाकिमले फिलिपिन्ससम्म गएर कलेज खोजेर आए र भर्ना गर्ने व्यवस्था मिलाए । केही वर्षमा नै ओभरसियर खड्का बने इन्जिनियर दिपक खड्का । पढेर आएपछि दुई वर्ष करिब सडक विभागमा जागिर खाएपछि हङकङ गए । हङकङको मल्टिनेसनल कम्पनीमा काम राम्रो थियो तर उनी केही आफ्नै गर्न चाहन्थे ।

एउटा आइडियाले गर्‍यो कमाल

हङकङको मल्टिनेसनलमा काम गर्दागर्दै त्यहाको चिम सा चुइमा अवस्थित साउथ एसियनहरूको जमघट हुने ठाउँ चुन किङ म्यान्सनमा पसल खोले । तर, उनको अगाडिको एउटा पाकिस्तानीको पसलमा अवैध काम गरेको आरोपमा प्रहरीले छापा मार्‍यो । उनले थाहा पाए त्यहाँ त काम गरेर हैन अवैध धन्दा गरेर पैसा कमाउँदा रहेछन् । पुलिसले उता छापा मारेको दुई दिनमा खड्काले यताको पसल बन्द गरे, करिब साढे चार लाख हङकङ डलर घाटा खाए ।

जागिर छँदै थियो । घाटाले धेरै तोड परेन । तर जागिरमात्र होइन उनी व्यापार पनि सँगै अघि बढाउन चाहन्थे । आफ्नै काम । त्यही बेला हङकङको नयाँ विमानस्थल बन्दै थियो । उनले काम गरेको कम्पनीले पनि त्यही विमानस्थलमा काम गथ्र्यो । उनले अफिसको कामसँगै एउटा पेजर लिएर आफ्नो निजी काम पनि गर्ने सोच बनाए । तर उनले दुवै काम एक साता पनि गर्न सकेनन् । कामबाट राजीनामा दिए र आफ्नै कन्स्ट्रकसन कम्पनी बनाए ।

त्यसबेला समुद्रको पानी पुरेर बनाएको एयरपोर्टमा धेरै कम्पनीले काम गर्थे । तिनले गरेको काममा एउटा वाटर बार भन्ने जोड्नुपर्थ्यो । त्यसबेला त्यहाँ बिजुलीको लाइन पुगेको थिएन । जेनेरेटर लिएर गएर प्लेट तताएर वाटर बार जोड्नुपर्थ्यो । यो कामको लागि प्रतिजोडाइ एक हजार लिन्थे अरू कम्पनीले । उनले एउटा आइडिया निकाले । घरमा सिमेन्ट चिल्लाउने ज्यावल र ग्यासको ब्लो ल्याम्प ल्याएर राति राति प्रयोग गर्न थाले । त्यस्तो सानो ठाउँमा यस्तो काम गर्दा आउने धुँवा र अप्ठेरोलाई सहेर उनकी चिनियाँ पत्नीले निकै ठूलो सहयोग गरिन् । उनको यो प्रयोग सफल भयो । उनले सबै कंपनीलाई आफूले वाटर बार ५०० हङकङ डलरमा जोडिदिने प्रस्ताव राखे । सबैले काम उनलाई दिन थाले । जेनेरेटर र अनेक सामान नलिई एउटा ग्यास ल्याम्पको भरमा काम हुन थाल्यो । एउटा त्यस्तो काममा उनको लगानी २५ डलर हुन्थ्यो ।

“त्यो कामले गर्दा ’ज्याकपट’ लाग्यो । हामीले ३ जनाबाट खोलेको कम्पनी एक वर्षभित्र ७०० जनाको भयो र धेरै काम भएको वखत १५  सय जनासम्म पनि पुग्यो । जुन कम्पनीमा कुनै बेला म जागीर खान्थे त्यहाँको मेनेजरलाई मैले मेरो मेनेजर बनाएँ,” गर्वका साथ सुनाउँछन् खड्का ।

उनले काम सुरु गरेको केही समयमै एक करोड हङकङ डलरको चेक पाएछन् । सबै खुसी भए । तर, “मेरो लागि भने त्यही भिनाजुले दिएको ९० रुपैयाँ जति ठूलो यो पैसा थिएन ।” त्यो ९० रुपैयाँ दिने ती माइला भिनाजु पनि सँगै ब्रेकफास्टमा थिए ।

 

अस्ट्रेलियाको बसाइ र नेपालको चिन्ता

उनी सपत्नी छोराछोरी लिएर अहिले अस्ट्रेलियामा बसोबास गर्छन् । उनको कम्पनी दाइहरूसहित भएर हङकङमा चलिरहेको छ । छोराछोरीको शिक्षाको लागि सिड्नी पसेका खड्कालाई कसैले एउटा कलेज किन्न प्रस्ताव लिएर गएछ । उनलाई पनि मन पर्‍यो र बनाए ‘क्राउन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी’ ।

“म अष्ट्रेलियामा बसे पनि अझै नेपाली पासपोर्टमा नै घुम्छु । मेरो लागि मातृभूमि नेपाल र मेरा बाबुआमाभन्दा ठूला अरू कोही छैनन् । अब मेरो सिड्नीको कलेजको फ्रेन्चाइज नेपालमा खोल्ने उद्देश्य लिएको छु । यसका लागि दुईजना अस्ट्रेलियन विज्ञ ल्याएर १० जनालाई ट्रेनर्स ट्रेनिङ दिइरहेको छु ।”

आफूलाई धेरै ठूलो नठान्ने र भाग्य र समयका साथले मात्र यहाँसम्म आईपुगेको ठान्ने दीपक खड्कालाई उत्तरोत्तर प्रगतिको कामना गर्दै दीपक सापकोटा र सापकोटाका साना छोरा दीप्तक फर्कने क्रममा मोटर चढ्यौं । दीपक खड्का उही दोलखाली सहज भावका साथ पछिसम्म हाथ हल्लाइरहे ।

साभारः बाह्रखरी डटकम

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।