लालकुमार केसीले भनेः ‘म एमाले उम्मेद्वारभन्दा एक हजार बढी भोट ल्याउँछु’

 अावाज स‌‌वाददाता     १३ कार्तिक २०७४, सोमबार

दोलखा, १३ कार्तिक
दोलखा ‘ख’ मा प्रदेशसभा सदस्यका उम्मेद्वार लालकुमार केसीले आफू विजय हुने निश्चित भएको बताए । लालकुमारको लोकप्रिय भोट देखेर हराउन एमालेले सबै शक्ति प्रयोग गरे तापनि आफू एमाले उम्मेद्वार पशुपति चौलागाईभन्दा एक हजार बढी भोट ल्याएर जित्ने दाबी गरे ।
एमालेका पुराना नेता लालकुमार केसीले नेकपा मालेबाट उम्मेद्वारी दिएका छन् । एमालेबाट टिकट नपाएपछि केसीर्ले नेकपा मालेको तर्फबाट उम्मेद्वारी दर्ता गराएका छन् । सोमबार उनले आफू निकटका कार्यकर्ताहरुलाई आफ्नो जित्ने सुनिश्चित भएकाले सोही ढंगले चुनावमा परिचालित हुन निर्देशन समेत दिए ।
नेकपा एमालेका तर्फबाट २०५४ का जिविस सभापति केसी दोलखा एमाले र जिल्लाको कम्युनिष्ट आन्दोलनका पुराना नेता मानिन्छन् । २०२६ सालदेखि कम्युनिष्ट पार्टीमा सदस्य रहेका केसी पञ्चायतकालदेखि नै कम्युनिष्ट राजनीतिमा सक्रिय थिए । २०३६ सालमा ताहचल क्याम्पसको स्ववियु सभापति रहेका उनी २०४२ मा जेल बसेरै जनपक्षीय उम्मेद्वारको हैसियतले प्रधानपञ्चमा उम्मेद्वारी दिएका थिए ।
बहुदल लगतै राजनीतिक दल खुल्ला भएयता तत्कालीन नेकपा माले दोलखाको पहिलो जिल्ला पार्टी प्रमुख (सचिव) रहेका केसी २०५४ मा जिविस सभापति बनेका थिए । २०६४ र २०७० मा सांसदमा आकांक्ष राखे पनि उनले एमालेबाट टिकट पाएनन् ।
उम्मेद्वारी दर्ता लगतै उनले एमालेभित्र अवसर खोस्ने र खुट्टा तान्ने प्रवृत्तिका कारण आफूले मालेबाट उम्मेद्वारी दिएको बताए । ‘एमालेमा निकै पसिना भिजाएँ, उनले भने – ‘तर खुट्टा तान्ने प्रवृत्तिले त्यहाँ बस्न नसकेकै कारण मालेबाट उम्मेद्वारी दिएको हुँ ।’ उनले जिविस सभापति हुँदा दोलखामा विकासको ढोका खोलेर आफूले एमालेको इज्जत जोगाए पनि आफूमाथी अन्तर्घात गरेको दाबी गरे ।
लालकुमार केसीले २०६४ र २०७० को संविधान सभा निर्वाचनमा पनि दोलखा क्षेत्र नं. २ मा दाबी गरेका थिए । २०७० मा त उनको पक्षमा जिल्लाका पदाधिकारी नै केन्द्रसम्म लविङमा पुगेका थिए । अन्तिममा उनको टिकट अर्को चुनावका लागि भन्दै खोसियो । अहिले पनि प्रदेशसभामा दाबी गरेका केसीलाई दिएको पुरानो आश्वासन आश्वासनमा मात्र सीमित भएपछि अन्तमा पार्टी नै त्यागेका हुन् ।
दोलखा क्षेत्र नं.१ बाट सधैं उम्मेद्वारी ल्याउनु पर्ने र यहाँका मान्छे सधैं पाखा लगाउने नीति भएकाले त्यसको विरुद्ध पनि आफूले उम्मेद्वारी दिएको बताए । ‘क्षेत्र नं. २ सधैं १ नं. क्षेत्रको दास जत्तिकै भयो ०५१ सालदेखि एमालेले आफ्नो उम्मेद्वारी दिनै पाएका छैंनौं’ उनले भने ‘अर्काको दास बन्दा यहाँको विकास अभियान पनि पछि परेको छ ।’
एमाले परित्याग गरी नेकपा मालेबाट उम्मेद्वार बने । ‘मैले जन्मभूमि उज्यालो बनाउन रगत पसिना बगाएको छु’ केसीले भने ‘तर मेरो पार्टीले मलाई न्याय गरेन, त्यसैले जनतासँग न्याय माग्न कम्युनिष्ट पार्टीबाटै उम्मेद्वार बनेको हुँ ।’ उनको उम्मेद्वारीले प्रत्यक्ष रुपमा एमालेबाट प्रदेश उम्मेद्वार बनेका पशुपति चौलागाईलाई असर गर्ने भएपछि एमालेका स्थानीय र केन्द्रीय तहदेखि नै उनको उम्मेद्वारी फिर्ता गर्न दबाब परिरहेको छ । तर केसीले भने ‘आफ्नो उम्मेद्वारी फिर्ताका लागि नदिएको’ भन्दै उम्मेद्वारी कायमै राख्ने प्रष्ट पारे ।
जिविस सभापति हुँदा उनले बनाएको योजना अनुसार नै अहिले जिल्लाको विकासले गति लिइरहेको छ । त्यसैको कारण पनि एमालेको संगठन दोलखामा राम्रो रहेको छ । आफ्नो पक्षमा जनलहर देखिएपछि एमालेले आत्तिएर भएभरका कार्यकर्तालाई जिल्ला कमिटीमा मनोनित गरेको नाटक गर्न थालेको बताए ।
एमालेले शनिबार र आइतबार गरी थप ९५ जनालाई जिल्ला कमिटी सदस्य मनोनित गरेको छ । जति जनालाई जुन जुन कमिटीमा मनोनित गरे तापनि आफूलाई एमाले भित्रैका इमान्दार नेता कार्यकर्ताहरुले सहयोग गर्ने दाबी गरे । विगतमा गरेको योगदान र जिल्लाको विकासको मतदाताले मूल्याङ्कन गर्नेमा आफू ढुक्क भएको उनले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।