लालकुमारले कसरी जित्नुहुन्छ भन्ने हामीलाई मात्र थाहा छ, तर उहाँले किन जित्नुपर्छ भन्ने सबैलाई थाहा छ

 अावाज स‌‌वाददाता     २६ कार्तिक २०७४, आईतवार

सत्ताधारी वर्ग कहिल्यै वामपन्थी हुँदैन । सत्ताको स्पष्ट चरित्र हुन्छ, त्यो कि त यथास्थितिवादी प्रतिक्रियावादी हुन्छ, कि त क्रान्तिकारी हुन्छ । वामपन्थ भनेको कुनै सिद्धान्त हैन । वामपन्थ भनेको सत्ता र सत्ताधारी वर्गसँग प्रगतिशील प्रतिपक्षीयताको अवस्था हो ।सत्ताधारी वर्ग कहिल्यै वामपन्थी हुँदैन । सत्ताको स्पष्ट चरित्र हुन्छ, त्यो कि त यथास्थितिवादी प्रतिक्रियावादी हुन्छ, कि त क्रान्तिकारी हुन्छ । वामपन्थ भनेको कुनै सिद्धान्त हैन । वामपन्थ भनेको सत्ता र सत्ताधारी वर्गसँग प्रगतिशील प्रतिपक्षीयताको अवस्था हो ।

 – रेशम राजश्वराज रिमाल ‘नवीन’, पोलिटब्यूरो सदस्य, नेकपा (माले)

 चुनावी प्रतिश्पर्धा कसरी भैरहेको छ ?

यो चुनावलाई सदुपयोग गर्ने हाम्रो पार्टीको नीति अनुरुप हामी चुनावी मैदानमा छौं । यो चुनावमा दुवै शक्ति अर्थात दलाल पुँजीवादी शक्ति र क्रान्तिकारी शक्ति सामेल भएका हुनाले प्रतिश्पर्धाको चरित्र पनि आफ्नै खालको छ । उनीहरू उनीहरूकै तरिकाले लड्दै छन् र हामी हाम्रै तरिकाले लड्दै छौं ।

 तपाईहरूको पार्टी नेकपा (माले) किन वाम एकताको विरोधी बनेर खडा भयो ?

हामी वाम एकताको विरोधी हैनौं । पहिलो कुरो त यो गठबन्धनका घटकहरू एमाले र माके अर्थात एमाकेमा विस्थापित भएको वामपन्थी चरित्रलाई पुनःस्थापित गर्नुपर्छ भन्ने हाम्रो जोडबल हो ।

 एमाले र माओवादी वामपन्थी नै हैनन् भनेर आरोप किन ?

सत्ताधारी वर्ग कहिल्यै वामपन्थी हुँदैन । सत्ताको स्पष्ट चरित्र हुन्छ, त्यो कि त यथास्थितिवादी प्रतिक्रियावादी हुन्छ, कि त क्रान्तिकारी हुन्छ । वामपन्थ भनेको कुनै सिद्धान्त हैन । वामपन्थ भनेको सत्ता र सत्ताधारी वर्गसँग प्रगतिशील प्रतिपक्षीयताको अवस्था हो । फ्रान्सको राज्य–क्रान्तिपछि त्यो उपलब्धीलाई सम्पूर्ण रुपमा स्वीकार्नेहरू संसदको दायाँतिर बसेर ब्यवस्थाको रक्षा र स्थीरताको निम्ति खडा भए । अनि, त्यो अधुरो परिवर्तनमा अर्को प्रगतिशील परिवर्तनको आवश्यकता देख्नेहरूले संसदको बाँयातिर बसेर आफ्नो विरोध जनाए । बाँयातिरको शक्तिलाई वामपन्थी भनियो । एक जमानामा नेपाली कङ्ग्रेस पनि वामपन्थी थियो । तर अहिले एमाके त्यस्तो सत्ताधारी वर्ग हो, जुन सत्ताको चरित्र मूलतः दलाल पुँजीवादी रहेको छ । उनीहरूले प्रगतिशील ब्यवस्थाको लागि हैन, यही ब्यवस्थाभित्रको सरकारको स्थीरताको लागि यो गठबन्धन भनेका छन् । वामसत्ता भन्नु र तातो बरफ भन्नु उस्तै कुरा हो ।

 त्यसो भए वामपन्थी भनिएको यो गठबन्धनलाई जनताले किन तिरस्कार गरेनन् त ?

जनताले के बुझेका छन्, भन्दा पनि के महसुश गरेका छन् ? भन्ने मूल कुरा हो । जनताले यो सत्ताको चरित्रलाई राम्ररी बुझेका छन् । जनताले सत्ताधारी वर्गको आपसी लुछाचुँडी तत्काल अन्त्य होस् भन्ने चाहेका हुन् । जस्तो कि कच्ची सडकमा  गुडिरहेको गाडीको क्याविनमा बसेकाहरू लुछाचुँडी गरिरहेका छन् । त्यस्तो स्थितिमा सारा यात्रुहरूको चाहना ‘तत्काल त्यो लुछाचुँडी रोकियोस्’ भन्ने नै हुन्छ । एउटा हड्डीको लागि जुधिरहेकाहरूले ‘अब हामी मिल्छौं’ भन्दा त्यही जुधाइबाट चिन्तित जनताले त्यस्तो ‘विकु’ मिलनलाई किन तिरस्कार गर्छन् !? त्यसकारण जनदिशाको आधारमा हामीले पनि यो ‘विकु’ मिलनलाई नकारात्मक महसुश गरेका र गर्ने छैनौं । उहाँहरूलाई शुभकामना छ हाम्रो !

 यो गठबन्धन विदेशीहरूले गराइदिएको भन्ने पनि कुरा आएको छ नि ?

त्यसो हैन, तर यो गठबन्धनमा अब विदेशी शक्तिले पनि आफूलाई घुसाइसकेको छ । नेपालमा लम्पट दलाल बर्गको उदय भैसकेको छैन, जसले विदेशीको वेतनी कारिन्दाको रुपमा, उसैको नियोजनमा यहाँको सत्तालाई उपयोग गरोस् । यहाँ दलाल बर्गको खेलाडी बर्चस्व छ, जसले आफ्नो छुद्र स्वार्थ र शक्तिको लागि विदेशीको दलाली गर्छ । विदेशीले नेपाली शासकहरूको यो चरित्रलाई बुझेर नै घुसपैठ मार्फत हस्तक्षेपको नीतिमा जोड दिएका छन् । नेपालको यही विशेषताको कारण केपी ओलीहरू शक्ति समिकरणको कुनै मोड या मुद्दामा राष्ट्रवादी बन्ने संभावना सुरक्षित रहन्छ । जबकि सिक्किमका लेण्डुप दोर्जेहरूमा यस्तो अवसर र सम्भावना रहेन ।

 अब दोलखाको चुनावी सन्दर्भमा केन्द्रित होऔं । तपाईहरूले एमाले भित्रै अन्यायमा पिल्सिरहेका लालकुमार केसी जस्ता लोकप्रिय हस्तीलाई विद्रोह गराएर एमालेमा खैलाबैला मच्याउनु भयो, हैन ?

बिल्कुल हैन । उहाँहरू भित्रको खैलाबैलामा हामीलाई कुनै स्वाद छैन । जहाँसम्म क. लालकुमार केसीबाट एमालेमा झाङ्गिएको आन्तरिक अत्याचारको निर्देशनलाई अवज्ञा गरिएको सन्दर्भ छ, त्यो मनोगत कुरा हैन । त्यो त दाउपेची राजनीतिमा मोटाएको एमालेको सङ्कट ब्यवस्थापनमा देखिएको भद्दापनको अनिवार्य उपज थियो । क. लालकुमार केसीको यो विवेक र साहस दोलखाको वामपन्थी आन्दोलनको शुद्धिकरण र रुपान्तरणमुखी वाम–एकताको लागि अर्थपूर्ण कदमको रुपमा सदुपयोग होस् भन्ने नै हाम्रो चाहना छ । तर, दोलखाको वामपन्थी आन्दोलनका धर्मराज क. लालकुमारको मुद्दालाई एमालेले निर्दयी र निर्विवेकी ढङ्गले किनारा लाउन खोज्छ यदि भने उसले अर्को सङ्कटको आमन्त्रण गरेको ठहर्छ । एमालेले बुझोस् कि क. लालकुमार केसीको विरोध तिनको ‘पकेट सेट’मा बजेको ‘मिसकल’को एउटा तरङ्ग मात्र हो । जब फूल घण्टी बज्ला, त्यसको तरङ्ग कस्तो होला !

 एमाले कार्यकर्ता भन्छन्— ‘हिजो लालकुमारले उनीहरूलाई निष्ठा र निरन्तरताको पाठ पढाएका थिए । जब लालकुमार आफैँले त्यसको उल्लङ्घन गरे भने कार्यकर्ताले उनलाई किन साथ दिने ?’

कम्युनिष्टहरूको निष्ठा र निरन्तरता भनेको जहिले पनि न्यायप्रति हुन्छ, न्यायधीशप्रति हैन । यो नै माक्र्सवादको चुरो कुरो हो, जसले ‘विद्रोह जनताको अधिकार हो’ भन्ने सार्वभौम मान्यतालाई सैद्धान्तिक धरातल प्रदान गर्यो । क. लालकुमारले प्रशिक्षित गरेको शिक्षा जे हो, उहाँले अहिले गरेको काम पनि त्यही हो । जब न्यायाधीश न्यायको विरुद्ध खडा हुन्छ, तब निष्ठा सबैतिर खण्डित हुनपुग्छ । तब न्याय या न्यायाधीशमध्ये कुनै एक प्रतिको निष्ठा तोड्नुपर्ने वाध्यता आइलाग्छ । क. लालकुमारले न्याय प्रतिको निष्ठा तोड्नु भएन्, बरु न्यायाधीशलाई लल्कार्नुभयो । मलाई लाग्छ, एमालेका सचेत कार्यकर्ताहरू आधुनिक दास हैनन्, जसले न्यायलाई लल्कारून् र न्यायाधीशमाथिको निष्ठा कायम राखून् । एमालेका सचेत कार्यकर्ता यसमा स्वतन्त्र छन्, स्वतन्त्रता भनेको आवश्यकताको चेतना हो ।

 आफूले टिकट पाइनँ भनेर वागी जस्तो बनेर चुनावमा उठ्ने लालकुमार केसीलाई एमाले कार्यकर्ताले सहयोग गर्लान र ?

ती सचेत छन्, त्यसैले क. लालकुमार केसीलाई सहयोग गर्छन् । यदि कसैले कुनै शक्तिसँग दलाली या सम्झौता गर्दछ भने त्यो स्वार्थी हुन्छ । तर कसैले निश्चित मुद्दा बोकेर विद्रोहको जोखिम उठाउँछ भने उसले आफ्नो हातमा जोखिम लिएर अरूको हातमा अवसर थमाइ दिएको हुन्छ । अरूलाई आफू सम्झेर आफूलाई अरूको निम्ति गुमाउने चेतना नपलाईकन कसैले पनि विद्रोहको जोखिम मोल्न सक्दैन । सचेत विद्रोहको सौन्दर्य भनेको यही हो । क. लालकुमारले यही गर्नुभएको छ । क. लालकुमारको मूल मुद्दा दोलखाको २ नं. क्षेत्रको न्याय, स्वशासन र जनसमृद्धिको मुद्दा हो । दोलखाको क्षेत्र नंं. २ मा विगत २३ वर्षदेखि रहेको आप्रवासी नेतृत्वकरणको प्रवृत्तिलाई एमालेभित्र सच्याउन लड्तरो सङ्घर्षले पुग्नेवाला थिएन । त्यो सङ्घर्षको अन्तिम अश्त्र, ब्रह्माश्त्र भनेको नै दोलखाली कम्युनिष्टहरूका भिष्मपितामह लालकुमार केसी हुन् । यदि लालकुमारले हार्ने हो भने त्यसको परिणाम के हुन्छ ? २ नं. क्षेत्रमा आप्रवासी नेतृत्वकरणको प्रवृत्ति अनुमोदित हुन्छ, जुन प्रवृत्ति एमालेको गलत नियतको कारणले भन्दा पनि एमालेका १ नं. क्षेत्रका नेताहरूको ब्यवस्थापन सङ्कटको कारणले २ नं. क्षेत्रका एमाले कार्यकर्ता र जनतामाथि अन्यायपूर्ण ढङ्गले लादिदै आएको छ । यदि लालकुमारले जित्ने हो भने त्यो मनोवृत्ति जरैदेखि उखेलिन्छ र एमाले भित्रका टुप्पी तहसम्मका निर्णायकहरूले सपनामा पनि पराजयको घाउलाई विर्सन र गल्ती दोहोर्याउने आँट गर्ने छैनन् । ‘नत्र चिसै पानीले नुहाउँछु’ भन्ने मनोविज्ञान २ नं. क्षेत्रका एमाले कार्यकर्तामा जीवित रहेसम्म टुप्पी तहकाहरूले ‘अर्कोपल्टदेखि त्यसो गर्दैनौं’ भन्ने कुरा ‘छेपाराको कथा’ बन्नेछ । यसपाली लालकुमार दाईलाई कसरी जिताउने भन्ने मात्र हैन, सवाल त २ नं. क्षेत्रका एमाले कार्यकर्ता र जनताले सदाकालको लागि कसरी जित्छन् भन्ने हो । एमालेका कार्यकर्ताहरू क.लालकूमारलाई हराएर आफ्नै खुट्टामा बञ्चरो हान्छन् भन्ने मलाई लाग्दैन । लालकुमारको उम्मेद्वारी तिनै कार्यकर्ताको मुद्दा हो । लालकुमारले जित्दा एमाले हार्दैन, बरु एमालेले र २ नं. क्षेत्रको लाईनमा उभिएका नेता कार्यकर्ता नयाँ ढङ्गले जित्छन । फेरि २ नं. क्षेत्रको विकास र जनताको लागि लालकुमार केसी जत्तिको उत्कृष्ट नेता अहिलेलाई अरु छैनन् ।  लु, २ नं. क्षेत्रका माले, एमाले र कांग्रेसका उम्मेद्वारहरुलाई केही घण्टा एकै ठाँउमा राखेर यसबारे सवाल जवाफ गराऔं, त्यसको प्रत्यक्ष प्रसारण दिउँ । २ नं. क्षेत्रका जनताको लागि लालकुमार भन्दा विकास र जनसमृद्धिको उन्नत अभियन्ता अरु कोही पनि हुन सक्दैनन् भन्ने स्पष्ट छ । अतः २ नं. क्षेत्रका एमाले नेता÷कार्यकर्ताको राजनैतिक भविष्य र जनताको विकास एवम् समृद्धिको लागि क. लालकुमार केसीको जित अनिवार्य छ । लालकुमार केसीले कसरी जित्नुहुन्छ भन्ने कुरा हामीलाई मात्र थाहा छ, तर उहाँले किन जित्नुपर्छ भन्ने कुरा सबैलाई थाहा छ ।

 कम्युनिष्टहरू अन्तर्राष्ट्रियतावादी हुनुपर्छ भन्ने तपाईहरूले यस हिसावले क्षेत्रीयतावादी नारा उठाउन मिल्छ ?

कम्युनिष्टहरू साम्यवादी हुन्छन्, तर भर्खरै साम्यवादी क्रान्ति गरौं भन्न मिल्छ ? मिल्दैन । मैले भन्नखोजेको कुरा के हो भने कम्युनिष्टहरू जुन जमिनमा खडा छन्, उनीहरूले चाल्ने अर्को प्रगतिशील पाईलो पनि आफ्नो गन्तब्यको दिशामा तर त्यही जमिनको आसपास नै हुन्छ । अर्थात, हामीले वस्तुगत धरातलमा टेकेर आफ्नो फाङ अनुसार गन्तब्यको दिशामा फड्को मार्नुपर्छ । त्यो वस्तुगत धरातल भनेको के हो ? सङ्घीयता र गणतन्त्र, जसको मूल मर्म हो— मुलुकको सुरक्षा र विकासको लागि राज्याधिकार सम्बन्धित जनतामा निक्षेपण गर्नु । राज्याधिकार निक्षेपणको सिद्धान्तले आप्रवासी नेतृत्वकरणको विरोध गर्दछ । आप्रवासी नेतृत्वकरणले ‘चौरी जुनसुकै खर्कमा गएर चर्न सक्ने’ मान्यताको वकालत गर्दै आएको छ भने राज्याधिकार निक्षेपणका पक्षपातीहरूले ‘त्यो चौँरी आफ्नै गोठमा पुगेपछि मात्र पग्रन्छ’ भन्ने बुझाई राख्छन् । एउटा सानो उदाहरण हेरौं— वैत्यश्वर गाउँ पालिकाको केन्द्र ‘पाडुला डाँडा’ भनेर सर्वपक्षीय सहमतिमा लिखित निर्णय र सोही बमोजिम सिफारिस समेत भयो । तर पछि रातारात ‘नाम्दूको पाडुला डाँडा’ सरेर ‘काभ्रेको गाविस भवन’ पुग्यो । यो अलोकतान्त्रिक र स्थानीयतावादी काम एमाले कै नेताको बलमा भए जस्तो देखिन्थ्यो । फेरि एमालेकै बलमा ‘पाडुला डाँडा’ कायम गर्ने निर्णय पुनस्र्थापित गरी त्यहाँ झण्डा समेत गाडियो । यसले देखाउँछ— एमालेमा स्थानीयताको मनोवृत्ति र द्वन्द्व छ । यस्ता प्रकरणबाट पनि २ नं. क्षेत्रका जनता आप्रवासी नेतृत्वकरणसँग बढी झस्किएका देखिन्छन् ।

 तपाई एमालेका उम्मेद्वार तथा नेता पशुपति चौलागाईं प्रति अलि बढी नै आलोचनात्मक देखिनु भएजस्तो देखिन्छ नि ?

त्यस्तो अर्थ लागेको हुन सक्छ । तर मेरो मर्म त्यस्तो हैन । यदि म ब्यक्ति या घटना केन्द्र्रित भैरहेको देखिन्छु भने त्यो मेरो सम्प्रेषणको अपरिपक्वता हुनसक्ला । तर मेरो निरन्तर अडान र अभ्यास निश्चित मान्यता र विचारसँग आधारित छ, जहाँ म अविचलित र संझौताहीन देखिएको छु । लोभ र भयको मनोविज्ञानबाट मुक्त सर्वहारा स्पीरिट म भित्र छ भन्ने म ठान्छु । ती मान्यता र विचारको पक्ष पोषण गर्दा कहिले काहीँ मैले मेरा आदरणीय ब्यक्तित्वहरुलाई समेत नजरअन्दाज गरे जस्तो परेको छ । जहाँसम्म ब्यक्तिगत सम्बन्धको कुरा छ, कमरेड पशुपति चौलागाई नाताले मेरो आफ्नै हजुरआमाको भदाहा अर्थात मेरो आफ्नै आदरणीय काका हुनुहुन्छ । उहाँप्रतिको मेरो सम्मान र सायद म प्रतिको उहाँको प्रेम पनि शब्दमा ब्यक्त गर्न सकिँदैन । त्यो केबल महशुसमात्र गर्न सकिने कुरा हो । आन्दोलनको कुरा गर्ने हो भने श्रमजीवि वर्ग र विज्ञानप्रति उहाँको योगदान अतुलनीय र आदरणीय छ । उहाँले नै सुरु गरेको वर्गसङ्घर्षको विरासतमा हाम्रो परिवारका ३ जनाले सहादतपूर्ण बलिदानी दिनुभएको छ । तर परिवेशको सन्दर्भमा उहाँसँग केही निश्चित आग्रह रहेका छन् ।

 कस्ता आग्रह ?

वर्गीय आग्रह । दोलखाको कम्युनिष्ट आन्दोलनको सन्दर्भमा, यहाँको वर्गसङ्घर्षको सन्दर्भमा उहाँबाट कोर्श करेक्सन होस् भन्ने हाम्रो कामना छ । यही चुनावकै सन्दर्भमा पनि यस हिसावले उहाँ आउनु हुँदैनथ्यो भन्ने हाम्रो दुःखेसो छ । दुःखका साथ भन्नुपर्छ कि उहाँले आफ्नो जीवनमै सर्वाधिक ठूलो गल्ती गर्नुभयो । मैले हृदयबाट यो कुरा भनिरहेको छु । हृदयको भाषालाई मस्तिष्कले जस्ताको तस्तै बुझ्न सकिँदैन । तर उहाँ परिस्थिति र अन्तर्विरोधको ठोस विश्लेषण गर्न र सही निर्णयको आँकलन गर्न समेत गम्भीर ढङ्गले चुक्नुभयो ।

 पशुपति चौलागाईले अहिले के चैँ गर्नुपथ्र्यो भन्ने तपाईँको भनाइ हो ?

दोलखाको राजनीतिको कोर्ष करेक्सन गर्ने हो भने उहाँ बराबरको गुरुत्वयुक्त नेता दोलखामा छैनन् र जन्मिन समय लाग्छ । उहाँले त्यही गर्नु पथ्र्यो, जे गर्न जरुरी थियो र अरूबाट सम्भव थिएन । अर्थात राजनीतिको कोर्ष करेक्सन । त्यस हिसावले उहाँले प्रतिनिधि सभाको लागि पनि चासो नराखेकै भए हुन्थ्यो । फेरि त्यहाँ असफल भै सकेपछि प्रदेशमा नझरेको भए हुन्थ्यो । चुनाव सकिएपछि उहाँलाई खेत खलिहान घुमेर, पाखा पखेरा डुलेर स्थानीय समस्यालाई सम्बोधन गर्ने फुर्सद नै हुँदैन । एमाले जस्तो पार्टीको दोहोरिएको पीवीएम हो उहाँ । यो चानचुने कुरा थिएन । मुलुकलाई प्रोयक्टिभ ढङ्गले कसरी अघि बढाउने भनेर सोच्ने पुस्ता अब यही हो । उहाँले त्यही अन्वेषण र जनशक्ति परिचालनमा आफूलाई केन्द्रित गर्नुपथ्र्यो । यहाँ राजनीतिक गञ्जागोल छ, किनकि नेताहरूको ध्यानशास्त्र र संस्कारको विकासमा रम्न सकेकै छैन । संसदमा जाँदा दुई उद्देश्य लिएर जाने हो । एक त प्रशिक्षित हुने उद्देश्य, अर्को त क्रान्तिकारी हस्तक्षेप र मात्रात्मक रुपान्तरणको उद्देश्य । के के गर्नुभयो ? त्यो बेग्लै कुरा हो, तर तीन पटक उहाँ संसदमा सामेल भैसक्नुभयो । सांसद यदि लोकसेवाको जागिर खाने ठाँउ हुन्थ्यो भने पनि पेनशन लिएर छोड्ने बेला भैसक्दो हो । तर उहाँलाई भोगी संसदीय जडमतिवादको रोगले नराम्ररी गाँज्यो । अब उहाँले यसको समीक्षा गर्दै त्यसका क्षिक्षाहरूको सार खिच्न लाग्नुपर्छ । तर, उहाँजस्तो मान्छे यस हिसावले हारालुछमा उत्रेर थङ्थिलो बन्न जरुरी थिएन । उहाँले हार्दा मात्र हैन, जिते पनि हार्नुहुन्छ ।

 अनि लालकुमार केसी पनि त पशुपति चौलागाईँ भन्दा कम पुरानो नेता हैन, उहाँ चैँ नउठी नहुने किन ?

उहाँहरू एकापसमा पक्कै आत्मीय र अतुलनीय हुनुहुन्छ । तर लालकुमार केसीको उम्मेद्वारीलाई हामीले किन समर्थन गर्यौ त ? भन्दा एक त उहाँले उठाउनुभएको जायज मुद्दा, दोस्रो त इतिहासको कडीलाई टुट्न नदिने प्रश्न हो । हेर्नुस्, सुन्दर भविश्य रचनाको सम्भावना इतिहास र मौलिकतासँग अटुट हुन्छ । समाजवादी रुस किन धरासायी भो ? अरू धेरै कारणहरू होलान्, तर मूल कारण के हो भने प्रतिक्रान्तिपछि उसले आफ्नो मूल सामथ्र्य इतिहासको कडी अर्थात लेनिन र स्टालिनका योगदानहरूलाई नष्ट गर्नमा लगायो । लेनिन स्वयम्ले रुसलाई त्यसको आदिम मौलिकतासँग जोडेर नै नेतृत्व दिनुभएको थियो । चीनमा गडबडी त भयो, तर माओका योगदानहरूलाई रक्षा गर्नमा पनि केही ध्यान दिइयो । यदि माओका योगदानहरूको रक्षामा थोरै भए पनि चीनीयाँहरूले ध्यान नदिएको भए सि जिनपिङ जन्माउन चीनलाई सजिलो हुने थिएन । कार्ल माक्र्स स्वयम्ले जर्मन राष्ट्र–निर्माता ओटो भोन विस्मार्कको उच्च मूल्याङ्कन गरेका छन् । हामी चै पृथ्वी नारायण शाहको सालिक तोडेर क्रान्तिकारिताको प्रदर्शन गर्छौं । यो कृतघ्नताको महामारी हामी सबैतिर फैलिएको छ । हामी इतिहासका जीवित एवम् जीवनशील कडीहरूप्रति यसरी लापर्वाह भैरहन सक्दैनौं । जुनसुकै कारणले हुन्, यदि इन्द्रबहादुर, वाङ्छे र जितवीरहरू आन्दोलनबाट लावारिस भएको ठान्ने कुनै पनि युवाले राजनीतिमा आफ्नो भविश्य कसरी कल्पना गरिरहेको हुन्छ होला ? फेरि लालकुमारलाई पराजित गरेर, सिमान्तीकरण गरेर, भूमिका विहीन बनाएर एमालेका नेता कार्यकर्ता अर्थात दोलखाली कम्युनिष्ट आन्दोलनले कुनै पुरुषार्थ गरेको ठहर्छ भन्ने लाग्दैन । कसको भूमिका के हुने भन्ने बारेमा अध्ययन गर्न सकिन्छ र गर्नु पनि पर्छ । तर कसैलाई भूमिका विहीन बनाउने सामथ्र्यमा गर्व गर्न सकिदैन । नेकपा (माले) ले क. लालकुमारको उम्मेदवारीलाई दिलोज्यानले सघाउनुको अर्थ यो पनि हो ।  धन्यवाद !

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।