Online news portal of Dolakha Preeti to Unicode Unicode to Preeti

विपत्को पूर्व तयारीमा स्थानीय आफैं जुट्न थाले

८ मंसिर २०७४, शुक्रबार १६:५७

दोलखा, ८ मंसिर
विगू गाउँपालिका वडा नं. ४ लोङठोङकी देशीमाई तमाङ आजभोली आफ्ना छिमेकीहरुलाई झटपट झोला छ की छैन भनेर सोधी खोजी गर्ने गर्छिन् । झटपट झोला नहुने घरमा झटपट झोला राख्न उनी सुझाउन थालेकी छिन् ।
लोङठोङकी अर्की टेकम तमाङ र शान्ति तमाङ पनि मेतापात जाँदा होस् वा घाँस दाउरा जाँदा सबैलाई झटपट झोलाका बारेमा सम्झाइ बुझाइ गर्छिन् । त्यसैगरी सोही वडा लिंबाकी सुन्दरी श्रेष्ठको दैनिकी पनि उस्तै छ । भैपरी आउने प्रकोप र त्यसबाट बच्नका लागि उनीहरु गाउँमा तयारीमा लागेका छन् ।
आजभोली विगू १ लादुकका लिंबा र लोङठोङका ७५ बढी घरमा झटपट झोला छ । झटपट झोला उनीहरु आफैं स्थानीय स्तरमा तयार गरी घर–घरमा राखेका हुन् । झटपट झोला राखेपछि जुनसुकै प्रकोप पर्दा पनि आफूलाई सजिलो हुने स्थानीय नाक्ची तमाङले बताइन् ।
‘पहिला पहिला त हामीलाई केही जानकारी थिए’ उनले भनिन् ‘केही जानकारी नहुँदा २ वर्ष अघि भुकम्प जाँदा धेरै दुःख पाइयो ।’ अहिले त घर पनि प्राविधिकहरुले सिकाए अनुसारै भुकम्प प्रतिरोधी बनाएकाले गाउँका घर सुरक्षित हुनेमा उनी ढुक्क छिन् । ‘प्रकोप भनेको बाजा बजाएर आउँदो रहने छ त्यसैले हामी त तयारीमा बस्नु प¥यो नि !’ उनले भनिन् ।
घरघरमा राखिएको झटपट झोलामा प्राथमिक उपचारका औषधी, सामान्य खानेकुरा, पानी लगाएतका सामाग्री राखिएका हुन्छन् । पहिलो, भुकम्प, आगोलागी, महामारी जस्ता प्रकोप भइहाले पनि तत्कालका लागि आफूलाई नभइ नहुने समाग्री झटपट झोलामा राखिएको अर्की कालिका खत्रीले बताइन् ।
घरै बस्न नहुने अवस्थामा पनि तयारी अवस्थामा रहेको झटपट झोला बोकेर भाग्नका लागि राखिएको उनले बताइन् । झटपट फुत्त बोकेर हिड्न सजिलो होस् भनेर झोलाको नाम पनि झटपट झोला राखेको उनको बुझाइ छ । यस्तो झोला हरेक घरले ढोकाकै छेऊमा राख्ने गरेको उनले बताइन् ।
झटपट झोला बनाउन र राख्नु पर्छ भन्ने स्थानीयस्तरमै संचालित रिफ्लेक्ट कक्षामा सिकेका हुन् । साप्ताहिक रुपमा सञ्चालन हुने रिफ्लेक्ट कक्षामा गाउँका समसामयिक विषयमा छलफल हुने स्थानीय टेकम तमाङ जानकारी दिइन् । रिफ्लेक्ट कक्षामै छलफल गरेर गत जेठमा लोङठोङ र लिंबामा बर्खाम ाभल पस्न नदिन गाउँमाथिबाट कुलो बनाएका थिए । कुलो कटाएपछि गाउँमा यसपाली भल नपेसेको उनले बताइन् ।
रिफ्लेक्ट कक्षाकै छलफलबाट स–सानो स्थानीय कामका लागि अर्काको भर पर्नु भन्दा आफ्नै पहलमा सामुहिक काममा लाग्नु पर्ने उनले बताइन् । भुकम्प र त्यसपछिका विभिन्न जोखिम तथा विपद्हरु भोगेको लिङ्बावासीहरु अहिले सामुहिक छलफलबाट समस्याका प्राथमिकिकरण गरी सबैभन्दा पहिला गर्नु पर्ने कामहरुको सूची निर्माण गरी योजना बनाउन जान्ने भईसकेको उनीहरु दावी गर्छन । भुकम्पबाट आफूहरुले दुःख पाएपछि पूर्व तयारीमा लागेको उनीहरु बताउँछन् । २०७२ बैशाखको भुकम्पमा पनि विगू १ लादुकमा मात्र १५ जना बढीको ज्यान गएको थियो ।
स्थानीयस्तरमा रिफ्लेक्ट कक्षा सञ्चालनका लागि सामुदायिक विकास मञ्चले सघाएको छ । मञ्चका कार्यक्रम संयोजक गोपालकृष्ण बस्नेतले इकोको सहयोगमा सानो कार्यक्रमबाट पनि स्थानीयहरु आफैं प्रकोय न्यूनीकरण र त्यसबाट बच्ने तयारीमा लागेको बताए ।

तस्बिरः गाउँमा बाढी बस्न नदिन कुलो बनाउँदै लिंबाबासीहरु ।