प्रदेश ३ को प्रस्तावित नाम ‘बागमती’ वा ‘गौरीशंकर’

 अावाज स‌‌वाददाता     २५ माघ २०७४, बिहीबार

प्रदेश ३ को नाम के राख्ने भन्ने विषयमा बहस सुरु भएको छ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका सांसदहरूले प्रदेशको नामका विषयमा फरक–फरक धारणा राखेका छन् । एमाले र कांग्रेसका केही सांसदले बागमती नदी वा गौरीशंकर हिमालको नाममा प्रदेशको नामकरण गर्दा सहमति जुट्ने बताउँदै आएका छन् । तर, माओवादी केन्द्र र कांग्रेस–एमालेका तामाङ र नेवार समुदायबाट प्रतिनिधित्व गर्ने सांसद भने जातीय पहिचान झल्कने गरी प्रदेशको नामकरण गर्नुपर्ने पक्षमा छन् ।

एमाले सांसद पशुपति चौलागार्इं बागमती प्रदेश वा गौरीशंकर प्रदेश राख्दा समझदारी बन्न सक्ने बताउँछन् । ‘प्रदेशको नाम सकेसम्म गौरीशंकर प्रदेश राख्दा राम्रो हुन्छ,’ उनले भने, ‘त्यो नाम नभएमा बागमती प्रदेश राख्दा पनि उत्तम हुन्छ ।’ बागमती नदी मात्र नभई एउटा सभ्यता पनि भएकाले बागमती प्रदेश उपयुक्त हुने चौलागार्इंले बताए ।

कांग्रेस सांसद इन्द्रबहादुर बानियाँ हिमाल, पहाड वा कुनै नदीको नाममा प्रदेशको नाम राख्दा विवाद नहुने बताउँछन् । जातीय पहिचानको नाममा प्रदेशमा विवाद आउन सक्ने भएकाले नदी वा कुनै हिमालको नाममा राख्दा समझदारी बन्न सक्ने उनको तर्क छ ।

माओवादी केन्द्रका सांसद विशाल खड्काले भने प्रदेश ३ मा तामाङ र नेवार बाहुल्य भएकाले नेवाः–तामसालिङ प्रदेश राख्दा राम्रो हुने बताए । नेवाः–तामसालिङ प्रदेश राख्दा सहमति हुन नसके गौरीशंकर वा बागमतीमध्ये एक जोडेर प्रदेशको नामकरण गर्न सकिने उनको तर्क छ । ‘यस्तो हुँदा गौरीशंकर तामसालिङ नेवाः प्रदेश पनि राख्न सकिन्छ,’ खड्काले भने, ‘बागमती नेवाः तामसालिङ प्रदेश पनि राख्न सकिन्छ ।’

नयाँ पत्रिका

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।