मैले रविन्द्र श्रेष्ठकाे गाला चड्काएँः खड्का

 अावाज स‌‌वाददाता     २५ माघ २०७४, बिहीबार

दोलखाबाट प्रदेश सभामा विजयी विशाल खड्का राम्रोसँग जुँगाको रेखी नबस्दै जनयुद्धमा होमिएका थिए । जनयुद्धकै क्रममा ०५५ सालमा उनी पक्राउ परे । जेलजीवनको ८ वर्ष उनले कठोर यातना भोग्नुपर्‍यो । व्यवस्था परिवर्तनका लागि लडेका विशाल प्रदेश सभामा दोब्बर मतले विजयी भए । माओवादी आन्दोलन, जेलजीवनलगायतका विषयमा उनले  वीरेन्द्र ओलीसँग कुराकानी गरेका छन् :

यसकारण परिवार नै राजनीतिमा
म सामान्य किसान परिवारमा हुर्केको हुँ । हाम्रो परिवार ०३६ सालको आन्दोलनबाटै थोरै भए पनि राजनीतिमा लाग्न प्रेरित भयो । परिवारमा सबैभन्दा पहिला मेरो जेठो दाइ ज्ञानबहादुर खड्का राजनीतिमा लाग्नुभयो । उहाँको नेतृत्वमा ०३८ सालमा ततकालीन दोलखाको जुगु गाविसमा किसान विद्रोह भयो । सायद त्यो नै कम्युनिस्ट आन्दोलनमा किसान विद्रोहको सुरुवाती बिन्दु हो भन्ने लाग्छ, मलाई । विद्रोहमा सोही गाउँका एक सामन्त दलबहादुर खड्काको मृत्यु भयो ।

त्यो घटनापछि गाउँका ८० जनाभन्दा धेरै गिरफ्तारीमा परे । त्यतिवेला म ६–७ महिनाको दूधेबालक थिएँ । आमासहित हाम्रो परिवारका आठजनालाई गिरफ्तार गरेछन् । मेरी आमालाई झन्डै ४० दिन जेलमा राखिएछ । त्यतिवेला त्यहाँका जिल्ला न्यायाधीश परमानन्द झा, (गणतन्त्र नेपालका पहिलो उपराष्ट्रपति) थिए । आमालाई जेलबाट छुटाउन न्यायाधीश झाले घुस खाएका थिए । घुस खाएबापत आमालाई मात्र होइन, दाजुलाई पनि छाड्ने सर्त थियो । तर, विडम्बना आमालाई साधारण तारिखमा छोडियो । तर, दाजुलाई भने सर्वस्वसहित जन्मकैदको फैसला सुनाइयो । गणतन्त्र आएपछि उनै घुस्याहा न्यायाधीश झा उपराष्ट्रपति बनाइए । आमाले त्यही घुस्याहा न्यायाधीशलाई उपराष्ट्रपति बनायौ, तिमीहरूले यत्रो क्रान्ति गरेर देशमा के परिवर्तन गर्‍यौ त ? भनेर कराउनुभयो ।

०३८ सालमा पक्राउ परेका मेरा दाजु ज्ञानबहादुरको पञ्चायतले ०४२ सालमा जेलभित्रै हत्या गर्‍यो । त्यो वेला म ४ वर्षको थिएँ भने मेरी दिदी देवी ६ वर्षकी । त्यही सामन्तीको परिवारले हामीलाई आज तेरो दाइको बिहे हुँदै छ भने । दिदी र मलाई होला भन्ने लाग्यो । बेलुुका आमा आउनुभयो । हामीले दाजु खोइ ? भनेर सोध्याैँ । आज दाजुको बिहे भनेको होइन, भाउजू खोइ त ? हामीले दाजुको के कुरा निकालेका मात्रै थियौँ, आमा भक्कानिएर रुनुभयो । पछि थाहा भयो, त्यो दिन दाजुको बिहे नभएर मारिएका रहेछन् । हामीजस्ता बच्चामाथि पनि खेलिएको रहेछ । यस्तो खालको ज्यादति भोग्नुपर्‍यो ।

कम्युनिस्ट आन्दोलनमा हाम्रो परिवारको गुरु जेठो दाजु नै हुनुहुन्थ्यो । परिवारमा भएको त्यो पीडाको आक्रोश रितबहादुर खड्कामा उदय भयो । सुरुमा दाजु रितबहादुर एमाले हुनुभयो । ०४८ पछि मशालमा लाग्नुभयो । माओवादीले ०५२ मा जनयुद्ध सुरु गरेपछि उहाँ युद्धमा होमिनुभयो । मैले त्यसवेला भर्खर एसएलसी दिएको थिएँ । एसएलसी दिएलगत्तै म पनि जनयुद्धमा होमिएँ । उतिवेला दिदी देवी पार्टीमा फुलटाइम लाग्नुभएको थिएन । त्यो वेला देवी दिदीलाई सेनाले ज्यादतिपूर्ण तरिकाले यातना दियो । त्यसपछि दिदी पनि पूर्णकालीन भई जनयुद्धमा होमिनुभयो ।

रवीन्द्रको गाला चड्काएँ
०५५ साल कात्तिकमा ओखलढुंगाको पोकलीबाट प्रहरीले मलाई गिरफ्तार गर्‍यो । उतिवेला मेरो कार्यक्षेत्र त्यही थियो । म जेल पर्नु र दाजु रितबहादुर खड्काले सेन्ट्रल जेल ब्रेक गर्नु सँगैजस्तो भयो । दाजु र मेरो ०५३ पछि भेट हुन पाएन । पछि ०५९ मा प्रवासमा केन्द्रीय समितिको बैठक सकेर फर्किने क्रममा रौतहटको पिहरामा उहाँको हत्या भयो ।

दाजु बितेको समयताका नै प्रचण्ड र बाबुरामको दुई लाइन संघर्ष सुरु भइसकेको थियो । त्यतिवेलै प्रचण्ड पक्ष र बाबुराम पक्ष एक–अर्कालाई तह लगाउनुपर्छ भन्ने मनसायमा देखिन्थे । तर, मैले न प्रचण्डलाई भेटेको थिएँ न बाबुरामलाई नै । त्यतिवेला रवीन्द्र श्रेष्ठ, राम कार्की, सालिकराम जमरकट्टेल, महेश्वर दाहाल, बालकृृष्ण ढुंगेल अनि मलगायतको टिम थियो ।

रितबहादुर खड्का मारिए भन्ने समाचार आयो । रवीन्द्रले त्यो वेला नेता भनेको अभिभावकजस्तै हुँदो रहेछ भनेर सेन्टिमेन्ट लिएजस्तो गरे । उनले मलाई बिहानै बोलाएर एकतिर लगे । त्यसपछि ‘अब तेरो फुर्ती लगाउने दिन गए’ भने । उनको त्यो कुरा सुनेर मलाई पार्टी यतिसम्म बिग्रिसकेछ भनेर दिग्दारी लाग्यो । रवीन्द्रले मेरो भावनामाथि खेले ।

मैले सुतिरहेका राम कार्की, महेश्वर दाहाल, कुमार शाह, चन्द्रमान श्रेष्ठलाई उठाएर रवीन्द्र भएतिर लगेँ । उनीहरूले किन, के भयो भन्दै थिए । मैले मेरो एउटा कुरा छ भनेँ । त्यसपछि मैले रवीन्द्रको कठालो समातेर अघि तैँले के भनेको थिइस् ? फेरि भन् भनेँ । सबै कैदीको अगाडि मैले रवीन्द्रको गाला चड्काएँ । पार्टीमा नेता बन्नु जरुरी छैन भन्दै गाली गरेँ । वर्गसंघर्षको त्यो वेला मैले अति अमानवीय अवस्थासमेत भोगेँ । अहिले रवीन्द्र माओवादीमा छैनन्, धेरै कुरा गर्नु उचित पनि हुँदैन ।

उतिवेला भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, रापेछाप र दोलखाको तामाकोसीपारिको क्षेत्रलाई मानेर एउटा जिल्ला थियो । त्यो क्षेत्रलाई चार नम्बर जिल्ला भन्थ्यौँ । त्यो टिममा ११ जना थियौँ । ०५५ साल कात्तिकमा बालकृष्ण ढुंगेल र म सँगै गिरफ्तारमा परेका थियौँ । बालकृष्ण र मलाई एउटै डोरीले बाँधेर यातना दिइएको थियो । प्रहरीको यातनाले बालकृष्णको टाउकोको देबे्रेपट्टि फुट्यो । मेरो दाहिनेतिरको टाउको फुट्यो । मेरो देब्रेतिरको नलीखुट्टा भाँचियो । बालकृष्णको दाहिनेतिरको नलीखुट्टा भाँचियो ।

उनले हाम्रो हतकडी खोलिदिए । भात खाओ भने । हात पछाडि फर्काएर बाँध्दाबाँध्दा नचल्ने भएको रहेछ । हवल्दारले नै मेरो हात एकछिन चलाएर चल्ने बनाइदिए । त्यो कराहीमा कतै निस्तो भात, कतै मासु त कतै साग थियो । हामीले एकैछिनमा एक कराही भात सक्यौँ । हामीलाई देखेर ती हवल्दार बरर आँसु खसालेर रोए ।

हवल्दारले नमान्दा बच्यो ज्यान
ओखलढुंगा सदरमुकाम बुझाउने क्रममा मेरो र बालकृष्णको हतकडी बाँधिएको थियो । दंगाका हवल्दार खड्ग लिम्बूले हतकडी समाएर लगेका थिए । जंगलको बीच बाटोमा एक प्रहरीले ती हवल्दारलाई हतकडी खोल भने । उनले माथिको आदेश छैन, खोल्दिनँ भने । दंगा प्रहरी लिम्बू र प्रहरीबीच आपसमा भनाभन भयो ।

ती हवल्दारले बरु मलाई पनि गोली हानेर मार, तर म हतकडी खोल्दिनँ भने । रिसको झाेँकमा प्रहरीका हवल्दारले हवाई फायर गरे । पछि, हामीलाई ओखलढुंगा सदरमुकाम पुर्‍याएको केही दिनपछि दंगाका ती हवल्दार लिम्बूको जागिर खोसेर जेल पठाइएछ । पछि, हामीले बुझ्दा हामीलाई लगाएको हतकडी खोल्न नमानेको भन्दै उनलाई सजायस्वरूप जागिर खोसेर जेल हालिएको रहेछ ।
हामीलाई मार्नबाट जोगाएको भन्दै उनलाई हामीसँगै जेलमा पठाइएको रहेछ । त्यो घटना सम्झिँदा हाम्रो जीवन एउटा हवल्दारको जागिरसँग साटिएको भान हुन्छ । जेलबाट छुटेपछि हामीले खड्ग लिम्बूलाई धन्यवाद दियाैँ। अरू के नै दिन सकिन्थ्यो र !

हिरासतमा यस्ता यातना
ओखलढुंगा सदरमुकाम पुर्‍याएपछि हामीलाई यति धेरै यातना दिइयो कि, अहिले सम्झिँदा पनि जिउमा काँडा उम्रिन्छ । मंसिर महिनाको ठिह्र्याउने जाडोको राति बालकृष्ण र मलाई निर्वस्त्र बनाएर हात बाँधेर बाहिर राखियो । घुम्ने क्रममा एकजना डिएसपी आए । उनले यस्तो चिसोमा मान्छे मर्दैन ? के बिजोग बनाएको यस्तो ? भने । एउटा हवल्दारले डिएसपी साबको आदेश छ, डसना ओछ्याइदे भने ।

दुईजना सिपाही आएर कोठामा डसना ओछ्याइदिए । लगत्तै ती डसनामा १० बाल्टीभन्दा धेरै पानी घोप्ट्याइदिए । त्यो कोठामा पानी नै पानी भयो । धुलै धुलो, त्यसमाथि हामी निर्वस्त्र । मैले बालकृष्णलाई लेउ लागेजस्तो देख्थेँ । सायद, उनले मलाई पनि त्यस्तै देखे होलान् । त्यो वेला बोल्ने शब्द केही थिएन । न कुनै फिलिङ्स थियो ।

सुरु–सुरुमा यातना दिँदा आफ्नोभन्दा साथीको माया लाग्थ्यो । पछि त बोल्न नसक्नेगरी बेहोस भइयो । केही थाहा भएन । भोलिपल्ट बिहान घाममा बाहिर निकालिएको रहेछ । दिनभर घाम ताप्न दिइयो । घाममा सेकिएपछि अलिअलि बोल्न सक्ने भयाैँ । बेलुका मलाई एउटा खाल्डोमा राखियो । त्यसपछि खाल्डो बिस्तारै पुदै–पुर्दै माथिसम्म पुर्‍याइयो । त्यसपछि मलाई माओवादी होइन भन्, ०४७ सालको संविधान मान्छु भन् । रितबहादुर खड्का कहाँ छ, देखा । तँलाई मार्दैनाैँ, पढ्न जा भने । त्यतिवेला दाजु रितबहादुर भर्खर जेल ब्रेक गरेर बाहिर निस्किनुभएको थियो ।

हवल्दारले सुँगुरको चारो खुवाए
त्यसरी निरन्तर चार दिनसम्म यातना दिइयो । यातना, त्यसमाथि खाना खान नपाएकाले शरीर थिलथिलो भइसकेको थियो । यति धेरै भोक लागेको थियो कि, जे दिए पनि खाने थिएँ भन्ने भएको थियो । यस्तो भएकाले बेलुका हामी भित्ताको माटो कोट्याउँदै खान थाल्याैँ । हामीले त्यसरी माटो कोट्याउँदै खाँदै गरेको ड्युटीमा बसेको प्रहरी हवल्दारले देखेछन् । ती हवल्दारले मध्यराति हिरासतको ढोका डङ्रंङ खोले । ओइ उठ् भने । फेरि कुट्ने होला भन्ने भयो । फेरि डर लागेर आयो ।

यसो हेर्दा, दुई हातले उचालेर प्लास्टिकले छोपेको कराही लिएर आएको देखेँ । उनले हाम्रो हतकडी खोलिदिए । भात खाओ भने । हात पछाडि फर्काएर बाँध्दाबाँध्दा नचल्ने भएको रहेछ । हवल्दारले नै मेरो हात एकछिन चलाएर चल्ने बनाइदिए । त्यो कराहीमा कतै निस्तो भात, कतै मासु त कतै साग थियो । हामीले एक छिनमा एक कराही भात सक्यौँ । हामीलाई देखेर ती हवल्दार बरर आँसु खसालेर रोए ।

आज मैले पाप गरेँ कि धर्म गरेँ थाहा छैन । माफ गर, भगवान् । यो भात सुँगुरको चारोका लागि छुट्याएको हो । मैले रातिमा राम्रो खाना ल्याउन सकिनँ । मलाई अपराधी भने पनि भन । मलाई धर्मात्मी भने पनि भन, तर मैले आज पाप गरेजस्तो लाग्यो । सुँगुरलाई दिने खाना तिमीहरूलाई दिएँ भन्दै धेरै बेरसम्म उनी रोए ।

हामी प्रक्राउ परेको दमनाथ ढुंगाना र पद्मरत्न तुलाधरले थाहा पाउनुभएछ । मान्छे मर्न सक्छ भनेर एउटा विज्ञप्ति निकाल्नुभयो । त्यसपछि हामीलाई सार्वजनिक गरियो । स्वाभाविकै रूपमा हाम्रो मुद्दा अदातलतिर गयो । ओखलढुंगामा दुई वर्ष बसियो । त्यसपछि सेन्टर जेल भद्रगोल । फेरि ओखलढुंगाको ब्यारेक । त्यसपछि फेरि नख्खु जेल, अनि फेरि भद्रगोल जेल । त्यो वेला १८ वटा छुट र १७ वटा पक्राउ पुर्जी थिए । मैले छुट पुर्जी र पक्राउ पुर्जीसँगसँगैजसो पाउँथेँ । त्यो वेला मलाई पक्राउ गर्ने, फेरि छाड्ने भइरहन्थ्यो ।

बाहिर कुनै घटना भयो भने फेरि त्यही केसमा मलाई पक्राउ गरिन्थ्यो । छाडेजस्तो गर्ने, लगतै फेरि पक्राउ गरिन्थ्यो । बाहिर कागजमा छुटेको हुन्छु, फेरि भित्र मलाई छाडेको हुँदैन थियो ।

यसरी छुटेँ जेलबाट
ओखलढुंगा हुँदा धेरै यातनाका कारण बिरामी भएँ । उपचारका लागि मलाई काठमाडौंको सेन्टर जेलमा राखियो । त्यतिवेला म यतिसम्म अशक्त भएको थिएँ कि शौचालय जानसमेत सक्दिनँ थिएँ । टाउकोमा गम्भीर चोट लागेकाले धेरै गाह्रो भयोे । मलाई हेर्ने साथी नै खटिएका हुन्थे । धेरै साथीले मलाई बाँच्दैन भन्थे । उपचार गर्न जेलबाट वीर अस्पताल ल्याउने लैजाने गर्थे ।

एक दिन दक्षिण एसियाबाट आएको न्युरो सर्जनसम्बन्धी एक टोलीसँग संयोगले भेट भयो । त्यो टोलीले उपचार गरेपछि मेरो टाउको दुख्ने समस्या ठीक भयो । त्यो टोलीले आइसिआरसीलाई खबर गरेपछि मलाई बाहिर आउन सजिलो भयो । आइसिआरसीको सहयोगमा राष्ट्रिय मानव अधिकार आयोगले जेलबाट छुट्न सहयोग ग¥यो । राष्ट्रिय मानव अधिकार आयोगको पहलमा पार्टीको सम्पर्कमा दोलखा लगेर छाडियो । जुन शान्ति प्रक्रिया सुरु हुनुभन्दा तीन महिनाअघिको कुरा हो ।

साभारः नयाँ पत्रिकाका

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।