जाँदाजाँदै सञ्चार मन्त्रीद्वारा फिल्म सिटीको शिलान्यास

 अावाज स‌‌वाददाता     ३ फाल्गुन २०७४, बिहीबार

दोलखा, फागुन ३
दोलखामा निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रियस्तरको फिल्म सिटीले औपचारिकता पाएको छ । जाँदाजाँदै सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले फिल्म सिटीलाई औपचारिकता दिएको हुन् ।
आज आफ्नो पद सकिँदा सकिँदै सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले दोलखाको लाकुरीडाँडास्थित डाङडुङे डाँडामा फिल्म सिटीको शिलान्यास गरेका छन् ।
फिल्म सिटीको शिलान्यास गर्दै मन्त्री बस्नेतले फिल्म सिटीको निर्माणले नेपालमा व्यवसायिक फिल्म निर्माणलाई सहयोग पुग्ने बताए । उनले देशभित्रै र अन्तर्राष्ट्रियस्तरमा पनि यो फिल्म सिटीले फिल्म निर्माणलाई सघाउने बताए । यसबाट दोलखा, सिन्धुपाल्चोक र नेपालको आर्थिक विकासमा टेवा पु¥याउने बताए । उनले भने, ‘अब फिल्म सिटीको निर्माणपछि नेपालमा फिल्मले उद्योगको रुपमा विकास हुनेछ र यसले आर्थिक विकासमा समेत टेवा पु¥याउनेछ ।’


फिल्म सिटी निर्माणस्थलको अवलोकनपछि नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष निकिता पौडेलले फिल्म सिटीका लागि छानिएको ठाउँ अत्यन्त उपयुक्त भएको प्रतिक्रिया दिँदै शिलान्यासपछि दोलखामा फिल्म सिटी निर्माण हुने कुरा पक्का भएको बताइन् । उनले अब फिल्म सिटी निर्माणको प्रक्रिया सुरु हुने जानकारी दिइन् । उनले भनिन्, ‘अब एक महिनामा फिल्म सिटी निर्माणको प्रक्रिया सुरु हुन्छ । एक महिनाभित्रै विस्तृत परियोजनाको लागि डेण्डर प्रक्रिया सुरु हुन्छ ।’
भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतले फिल्म सिटीको निर्माणले फिल्मको विकाससँगै आर्थिक विकासमा सघाउने बताइन् । दोलखामा फिल्म सिटी निर्माणका अभियन्ता तथा वरिष्ठ कलाकार मदनदास श्रेष्ठले फिल्म सिटीले औपचारिकता पाएकोमा खुशी व्यक्त गरे । उनले भीमेश्वर नगरपालिकाको डाङडाङे डाँडा फिल्म सिटीका लागि भौगोलिक, सांस्कृतिक हरहिसाबले उपयुक्त रहेको धारणा व्यक्त गरे ।
फिल्म सिटीको शिलान्यास कार्यक्रममा नेपालकी पहिलो नायिका भुवन चन्द, पहिलो रंगिन चलचित्रकी नायिका चैत्यदेवी सिंह लगायत चलचित्र निर्माता, निर्देशक तथा कलाकारहरुको सहभागिता रहेको थियो ।
यसअघि फिल्म सिटीका लागि वातावरणीय प्रभाव मूल्यांकन गरी प्रतिवेदन सार्वजनिक गरिसकिएको छ । फिल्म सिटीका सम्पूण संरचना निर्माणका लागि ७६.२५ हेक्टर जमिन आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ । प्रस्तावित जग्गा मध्ये दोलखाको साविक लाँकुरीडाँडा वडा नं. ८ र ९ को सेतीदेवीदादर सामुदायिक बनको ६४ हेक्टर र सिन्धुपाल्चोकको पिस्कर–६ को १२ हेक्टर जमिनलाई उपयोग गर्ने उल्लेख छ । इन्डोर र आउटडोर सुटिङका लागि यति धेरै जग्गा आवश्यक परे पनि मुख्य संरचना ९.६१ हेक्टरमा मात्र निर्माण हुने छ ।
अन्तरराष्ट्रिस्तरको फिल्म सिटी निर्माणका लागि चलचित्र विकास बोर्डले परामर्शदाताको रुपमा इको इन्भोय प्रालि मार्फत यसको अध्ययन गरेको थियो । अध्ययनले यहाँ बन्ने फिल्म सिटी विश्वकै सबैभन्दा उच्च स्थानमा हुने दाबी गरिएको छ । प्रस्तावित फिल्म सिटी डाङ्डुङे डाँडा २ हजार ८ सय मिटरदेखि ३ हजार ४ सय मिटरसम्मको उचाइमा रहेको छ । दोलखाको साविक लाकुरीडाँडा गाविसस्थित सेतीदेवी दादर सामुदायिक वनका उपभोक्ताहरुले फिल्मसिटीका लागि आवश्यक जग्गा भोगाधिकार दिइसकेको छ ।


काठमाडौंबाट १ सय ५ किलामिटर पूर्व रहेको प्रस्तावित क्षेत्र सार्वजनिक जग्गा हुनु, वातावरणीय कम क्षति भए पनि त्यसको पूर्ती गर्न प्रशस्त ठाउँ रहेको, हावापानी अनुकुल रहेका र स्थानीयको उत्साहका कारण देशकै उत्तम ठाउँ डाङ्डुङे डाँडा नै उपयुक्त हुने प्रतिवेदनमा उल्लेख छ । डाङ्डुङे डाँडामा ५० प्रजातिका जैविक र ६ प्रकारका गुँरास रहेका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।