दोलखामा पहिलोपटक क्रिकेट प्रतियोगिता

 अावाज स‌‌वाददाता     ७ फाल्गुन २०७४, सोमबार

दोलखा, ७ फागुन
दोलखामा पहिलोपटक क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ । क्रिकेट संघ दोलखाले जिल्लाव्यापी अन्तर मावि स्तरीय क्रिकेट प्रतियोगिताको आयोजना गरेको हो ।
आजदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन पूर्व मन्त्री आनन्दप्रसाद पोखरेलले गरेका छन् । क्रिकेट प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री आनन्दप्रसार पोखरेलले व्याटिङ गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन् बलिङ भने भीमेश्वर नगरपालिकाका प्रमुख एवं कार्यक्रमका विशिष्ट अतिथि भरतबहादुर केसीले बलिङ गरेर गरेका थिए ।
दोलखा सदरमुकाम चरिकोटको टुँडिखेलमा आज भएको उद्घाटन खेलमा मोडर्न नेपाल बोर्डिङ स्कुलले त्रिपुरा ग्लोरियस एकेडेमीलाई ९० रनले पराजित गरेको छ । टस जितेर व्याटिङ रोजेको मोडर्न नेपालले निर्धारित १६ ओभरमा २ विकेट गुमाउँदै १६९ रन जोडेको थियो । १७० रनको लक्ष्य पाएको त्रिपुरा ग्लोरियस एकेडमी १२ आभरमा सबै विकेट गुमाउँदै ८० रनमा समेटिएको थियो ।
प्रतियोगितामा जिल्लाका ८ वटा विद्यालयका १० टिमको सहभागिता रहेको छ । १० वटा टिमलाई दुई पोलमा विभाजन गरी खेल सञ्चालन गरिएको क्रिकेट संघ दोलखाका अध्यक्ष सन्तोष पोखरेलले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद २० हजार सहित शील्ड, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेतालाई नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।