माथिल्लो तामाकोसीको सेयर वितरण प्रक्रियाप्रति प्रभावित स्थानीय असन्तुष्ट

छलफलबाटै समाधान : समन्वय समिति

 अावाज स‌‌वाददाता     १८ फाल्गुन २०७४, शुक्रबार

दोलखाको लामाबगरमा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा प्रभावित स्थानीयलाई छुट्याइएको १० प्रतिशत साधारण सेयर वितरण प्रक्रियाप्रति स्थानीयले असन्तुष्टि जनाएका छन् । आयोजना निर्माणस्थल र पानीको मुहान रहेको गाउँपालिकाका स्थानीयले सेयर वितरण मापदण्ड विभेदपूर्ण भएको भन्दै बिगु र गौरीशंकर गाउँपालिकाका स्थानीयले असन्तुष्टि जनाएका हुन् । उनीहरूले संक्रमणकालीन अवस्थामा गरिएको निर्णय मुलुक संघीय संरचनामा गएर संविधान कार्यान्वयन भइसकेको अवस्थामा परिवर्तन गर्नुपर्ने माग राखेका छन् ।

आयोजनाले दोलखा जिल्लावासीलाई ३ भागमा वर्गीकरण गरी सेयर वितरण मापदण्ड तयार गरेको छ । सोअनुसार आयोजनाको मुहान र सम्पूर्ण संरचना बन्ने गाविसलाई अतिप्रभावित ‘क’ वर्ग, प्रवेश मार्ग र प्रसारणलाइनले छोएका साबिकका गाविसलाई ‘ख’ वर्ग र जिल्लाका बाँकी भागका बासिन्दालाई ‘ग’ वर्गमा विभाजित गरिएको छ ।

४ सय ५६ मेगावाटको सो आयोजना बिगु गाउँपालिका–१ लामाबगरमा निर्माणाधीन छ भने पानीको मुहान गौरीशंकर गाउँपालिकासमेत छ । तर, आफ्नो गाउँपालिकाको स्रोत उपभोगमा गाउँपालिकाकै स्थानीय अतिप्रभावित, प्रभावित र सामान्य गरी तीन श्रेणीमा विभाजित हुने गरी प्रणालीको स्थानीयले विरोध गरेका हुन् । एउटै गाउँपालिकाको एउटा वडा अतिप्रभावित भएर ‘क’ वर्ग हुने र अर्को वडा सामान्य प्रभावित भएर ‘ग’ वर्ग हुने प्रक्रिया सही नभएको बिगु गाउँपालिका सरोकार समितिका अध्यक्ष पासाङ शेर्पाले बताए । स्थानीय सरकार गठन भइसक्दा पनि पुरानो शैलीबाट स्थानीयलाई विभेद गर्न खोजे आन्दोलन गर्ने चेतावनी स्थानीले दिएका छन् ।

छलफलबाटै समाधान : समन्वय समिति
जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले छलफलबाटै समस्या समाधान हुने बताएका छन् । उनका अनुसार आफूहरू निर्वाचित हुनुअगावै बनेको मापदण्डमा सबै जनप्रतिनिधिले सहमति जनाएको कारण पनि प्रश्न नउठेको हो । सो मापदण्ड उपयुक्त नभए तत्काल छलफल गरी आवश्यक निर्णय लिनुपर्ने अन्यथा पुरानै निर्णय कार्यान्वयन हुने उनको भनाइ छ ।
नयाँ पत्रिका

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।