राष्ट्रपति र उपराष्ट्रपति दोहोरिने सम्भावना

 अावाज स‌‌वाददाता     १८ फाल्गुन २०७४, शुक्रबार

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै वाम गठबन्धनले वर्तमान राष्ट्रपति भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेको छ । गठबन्धनका एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी केन्द्रले नै लिने अनौपचारिक सहमति भइसकेको बताइएको छ।

फागुन २९ मा राष्ट्रपति निर्वाचन हुने कार्यक्रम छ। एमाले वरिष्ठ नेता झलनाथ खनाल र माओवादी केन्द्रका नेता अमिक शेरचनले राष्ट्रपतिका लागि इच्छा देखाए पनि बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिलाई नै दोर्होयाउने निश्चितप्राय रहेको एमालेका एक वरिष्ठ नेताले जानकारी दिए।

२३ गते राष्ट्रपतिको मनोनयन भएकाले २२ गते स्थायी समितिको बैठक बस्ने एमालेका ती नेताले दाबी गरे। ‘हाम्रो पार्टीको आगामी स्थायी समिति बैठकले सर्वसम्मत रूपमा राष्ट्रपतिमा भण्डारीलाई नै दोर्होयाउने निर्णय गर्दै छ’, एमालेका ती नेताले भने, ‘राष्ट्रपतिका लागि कुनै विवाद छैन।’

वरिष्ठ नेता खनाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने पक्षमा पार्टी अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधव नेपाललगायत नेता नरहेको दाबी स्रोतको छ। प्रतिनिधिसभामा इलामबाट विजयी खनालले राष्ट्रपतिमा सुरुदेखि नै इच्छा देखाउँदै आएका छन्।

माओवादी केन्द्रका नेता शेरचनले पनि राष्ट्रपतिमा दाबी गरे पनि एमाले अध्यक्ष ओलीले भण्डारीलाई नै दोहोर्याउने संकेत दिएपछि शेरचनले उपराष्ट्रपतिमा इच्छा व्यक्त गरेका छन्। तर, माओवादी केन्द्रले उपराष्ट्रपतिमा पनि बहालवाला नन्दबहादुर पुनलाई नै दोहोर्याउने तयारी गरेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए, अन्नपूर्ण पाेस्टमा खबर छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।