एमाले स्थायी समितिका नेताहरू विभाजित

 अावाज स‌‌वाददाता     २२ फाल्गुन २०७४, मंगलवार

राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारी मनोनयनको संघारमा एमाले स्थायी समितिका नेताहरू विभाजित भएका छन ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोर्होयाउने कि नयाँ उम्मेदवार अघि सार्ने भन्नेमा एमाले भित्र दुई धार देखिएको छ । पार्टी अध्यक्ष ओली भण्डारीलाई दोहोर्याउने पक्षमा रहनुभएको छ भने अन्य नेताहरूले वरिष्ठ नेता झलनाथ खनाललाई राष्ट्रपति बनाउन लबिङ गरिरहेका छन ।

खनालले सार्वजनिक रूपमै आफू राष्ट्रपतिको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन्  । उनले निकटस्थ नेताहरूलाई यसपटक ‘ब्याक’ नहुने भन्दै स्थायी समितिमा भोटिङको स्थिति आए पनि सामना गर्ने भन्दै भण्डारीलाई चुनौती दिईरहेका छन् ।

केही समययता अध्यक्ष ओलीसँगको सम्बन्धमा चिसोपन बढेपछि उपाध्यक्ष वामदेव गौतम पनि खनाललाई राष्ट्रपति बनाउने तयारीमा लागेको बताईएको छ । गौतमले पार्टी बैठकमा खुलेरै खनाललाई समर्थन गर्ने बताएका छन्  ।

एमालेले राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन आज स्थायी समिति बैठक बोलाएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा अपराह्न ४ बजे बोलाइएको बैठकले राष्ट्रपतिको टुंगो लगाउने बताइएको छ ।

उपाध्यक्ष युवराज ज्ञवालीका अनुसार बैठक बोलाइएको जानकारी आएको छ, तर एजेन्डा बताइएको छैन । भोलि राष्ट्रपतिको उम्मेदवार मनोनयन भएकाले आज एमालेले बैठक डाकेको हो । आजको बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल र वरिष्ठ उपाध्यक्ष बामदेव गौतमले राष्ट्रपति बिध्यादेवी भण्डारी बिरुद्ध मत राख्ने बताइएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।