कालिन्चोक माविका विद्यार्थीलाई सुजन परिताको छात्रवृत्ति

 अावाज स‌‌वाददाता     २९ फाल्गुन २०७४, मंगलवार

दोलखा, फागुन २९
सुजन परिता एजुकेशन फाउण्डेशन अमेरिकाले दोलखा सदरमुकाम चरिकोटका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।
कालिन्चोक माविबाट एसईई परीक्षामा उत्कृष्ठ ग्रेड ल्याई सोही विद्यालयको कक्षा ११ मा अध्ययन गर्ने दुई छात्र र दुई छात्रालाई फाउण्डेसनले छात्रवृत्ति प्रदान गरेको हो । सो विद्यालयको कक्षा ११ मा अध्ययन गर्दै गरेका सुशील रेग्मी, विश्वदीप थपलिया, इनु तामाङ र शर्मिला उप्रेतीलाई फाउण्डेशनले पुरस्कार प्रदान गरेको हो । उनीहरुलाई जनही एकएकवटा ल्यापटप र २५ हजार नगद प्रदान गरिएको छ ।
पुरस्कृत विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसीले ल्यापटप र नगद हस्तान्तरण गरेका छन् । पुरस्कार हस्तान्तरण गर्दै प्रमुख अतिथि केसीले आर्थिक विकासको लागि शैक्षिक विकास अनिवार्य भएकोले भीमेश्वर नगरपालिकालाई शैक्षिक गन्तव्य बनाउनुपर्ने बताए । उनले जिल्ला सदरमुकाम समेत रहेको भीमेश्वर नगरलाई जिल्लाको अग्रणी स्थानीय तह बनाउनुपर्ने र त्यसको लागि शिक्षाको विकास गर्नुपर्ने बताए । भीमेश्वर नगरलाई शैक्षिक गन्तव्य बनाउन कार्ययोजना बनाएको र केही योजनालाई अघि सारिसकिएको पनि उनले बताए । उनले विद्यार्थीहरुलाई पुरस्कार प्रदान गर्ने सुजन परिता एजुकेशन फाउण्डेशनको खुलेर प्रशंसा गरे ।
सुजन परिता एजुकेसन फाउण्डेशनका अध्यक्ष सुजन न्यौपानेले पुरस्कृत विद्यार्थीहरुलाई पुरस्कारको सदुपयोग गर्न आग्रह गरे । कालिन्चोक मावि बाहेक सिन्धुपाल्चोकस्थित सन्सारीमाई माविका विद्यार्थीलाई समेत छात्रवृत्ति प्रदान उनले आगामी वर्ष दोलखको अर्को एक विद्यालयका विद्यार्थीहरुलाई पनि छात्रवृत्ति दिने घोषणा गरे । उनले आफू अध्ययन गरेको विद्यालय कालिन्चोक माविका विद्यार्थीहरुलाई उनले ३ वर्षदेखि यसैगरी छात्रवृत्ति प्रदान गर्दैआएका छन् ।


फाउण्डेशनले कालिन्चोक माविको कक्षा १ देखि ९ सम्म अध्ययन गर्ने एकएकजना उत्कृष्ठ विद्यार्थीहरुलाई शैक्षिक सामग्री समेत वितरण गरेको छ ।
सोही अवसरमा युवा व्यवसायी तथा कालिन्चोक माविका पूर्व विद्यार्थी घनश्याम रिजालले कालिन्चोक माविमा अध्ययन गर्ने जेहेन्दार विद्यार्थीहरुमध्ये एकजना दलित र एकजना गैरदलित विद्यार्थीलाई वार्षिक पाँचपाँचहजार रुपैयाँ छात्रवृत्तिको घोषणा गरेका छन् । सोही कार्यक्रममा उनले २०७४ को छात्रवृत्तिका लागि १० हजार रुपैयाँ विद्यालयका प्रधानााध्यपक नवराज न्यौपानेलाई हस्तान्तरण गरे ।
कार्यक्रम सोकास नेपालका अध्यक्ष दीपक बस्नेतको अध्यक्षतामा भएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।