दोलखामा शैक्षणिक महोत्सव हुँदै, तयारी पूरा

 शम्भु गौतम     १४ जेष्ठ २०७५, सोमबार

दोलखा, जेठ १४
शैक्षिक गन्तव्य हाम्रो अभियान, गुणस्तरीय शिक्षा दोलखाको शान भन्ने मूल नाराका साथ दोलखा जिल्लामा शैक्षिक, विज्ञान प्रविधि तथा साँस्कृतिक महोत्सव गर्न लागिएको छ ।
दोलखा सदरमुकाम चरिकोटस्थित कालिन्चोक मावि प्राङ्गणमा गर्न लागिएको महोत्सवको सबै तयारी पूरा भएको आयोजक भीमेश्वर नगरपालिकाले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
दोलखा जिल्लालाई शैक्षिक गन्तव्यका रुपमा विकास गर्ने उदेश्यका साथ भीमेश्वर नगरपालिकाले शैक्षिक विज्ञान प्रविधि तथा साँस्कृतिक महोत्सव गर्न लागेको हो ।
बिद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन सहयोग गर्ने उदेश्यका साथ यही जेठ १७, १८ र १९ मा शैक्षिक विज्ञान प्रविधि तथा साँस्कृतिक महोत्सवको गर्न लागेको हो ।
महोत्सवमा शिक्षाका सफल स्रष्टाहरुलाई दोलखामा उपस्थित गराई शैक्षिक सुधारमा आवश्यक सल्लाह एवम सुझाव लिई शैक्षिक गन्तव्यका रुपमा विकास गर्न आयोजित महोत्सवको तयारी पुरा भएको पत्रकार सम्मेलन मार्फत भीमेश्वर नगरपालिका प्रमुख भरत केसीले जानकारी दिए ।
बालबालिकाको अन्तरनिहित प्रतिभाको प्रष्फुटन गर्न, प्रोत्साहान गर्न, विद्यालय स्तरीय शैक्षिक सामग्री प्रदर्शन, सांस्कृतिक कार्यक्रम, पुस्तक प्रदर्शन, विज्ञान प्राविधि सम्बन्धी सामाम्री प्रदर्शन, शैक्षिक श्रव्यदृब्यको प्रदर्शन, सफल स्रष्टाहरुको शैक्षिक प्रवचन, ऐतिहासिक शैक्षिक सामग्री प्रदर्शन जस्ता कार्यक्रम रहेको नगर प्रमुख केसीले जानकारी दिए । उनले भने, ‘दोलखा जिल्लामा जन्मेर विधावारिधि (पीएचडी) गर्ने ४६ जनालाई सम्मान गर्ने कार्यक्रम राखेका छौ ।’
उपमेयर कमला बस्नेतले शैक्षिक विज्ञान प्रविधि तथा साँस्कृतिक महोत्सवमा ५० वटा स्टल रहने बताएन् । उनले शैक्षिक सामाग्रीका साथै जिल्लामा उत्पादित हस्तकला तथा अन्य घरेलु सामग्रीहरुको प्रदर्शनी गरिने पनि जानकारी दिइन् । उनले व्यवसायिक शिक्षामा जोड दिने उदेश्यले शैक्षिक महोत्सव गरिएको धारणा व्यक्त गरिन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।