‘अब हरियो पासपोर्ट हैन, हरियो चेक’

शैक्षिक, विज्ञान प्रविधि तथा सांस्कृतिक महोत्सव

 शम्भु गौतम     १७ जेष्ठ २०७५, बिहीबार

दोलखा १७ जेठ
नेपाल सरकारका कानुन मन्त्री शेरबहादुर तामाङले अब नेपाली युवाहरु रोजगारीका लागि विदेश धाउनु नपर्ने दावी गरेका छन् ।
शैक्षिक गन्तव्य हाम्रो अभियान, गुणस्तरीय शिक्षा दोलखाको शान भन्ने मूल नाराका साथ मनाउन थालिएको शैक्षिक, विज्ञान प्रविधि तथा सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै मन्त्री तामाङले आर्थिक वर्ष २०७५/०७६ को बजेटको प्रशंसा गर्दै नेपाली युवाहरुले रोजगारीका लागि विदेश जानु नपर्ने दावी गरेका हुन् ।
हालै प्रस्तुत गरिएको बजेटको सरकारमा सामेल दलकै नेताहरुबाट विरोध गरिरहेका बेला कानुन मन्त्री तामाङले उक्त बजेटको प्रशंसा गर्दै भने, ‘बेरोजगारी समस्या समाधानको लागि स्वादेशमै रोजगार सिर्जना गर्न सरकारले दिर्घकालीन योजना बनाई शैक्षिक प्रमाण पत्र धितो राखेर १० लाखसम्म ऋण प्रदान गर्न लागेको छ ।’ उनले अगाडि भने, अब सरकारले हरियो पासपोर्ट हैन, स्वदेशमै रोजगारी र हरियो चेक दिन्छ ।’
महोत्सवका प्रमुख अतिथि कानुन मन्त्री तामाङले भष्ट्राचार मुक्त र असल मानिसहरु रहेको सफा मुलुक बनाएर भावी नेतृत्वलाई हस्तान्तरण गर्ने योजनाका साथ वर्तमान सरकार कर्तव्यनिष्ट भएर अघि बढेको दावी गरे ।
शैक्षिक प्रसंगमा उनले राष्ट्रभरिका संस्थागत, सामुदायिक सबै विद्यालयमा एउटै पाठ्यक्रम लागु गर्न सरकारले योजना बनाई रहेको खुलासा गरे । उनले पाठ्यक्रम अनुसार क्षमता बृद्धी गरी पढाउन शिक्षकहरुलाई आग्रह गरे । उनले क्षमता नभएका र क्षमता विकास गर्न नसक्ने शिक्षकहरुलाई जागिर छाड्न घुमाउरो भाषामा चेतावानी समेत दिए ।
दोलखा जिल्लालाई शैक्षिक हवकाअ रुपमा विकास गर्ने उद्देश्यका साथ भीमेश्वर नगरपालिकाले शैक्षिक विज्ञान प्रविधि तथा सास्कृतिक महोत्सवको आयोजना गरेको हो । विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन सहयोग गर्ने उद्देश्यका साथ महोत्सवको सुरु गरेको भीमेश्वर नगरपालिका प्रमुख भरत केसीले बताए । यसका साथै शिक्षा क्षेत्रका सफल स्रष्टाहरुलाई दोलखामा उपस्थित गराई शैक्षिक सुधारमा आवश्यक सल्लाह एवम सुझाव लिई जिल्लालाई शैक्षिक हवका रुपमा विकास गर्ने लक्ष्य रहेको केसीले बताए ।
बालबालिकाको अन्तरनिहित प्रतिभाको प्रष्फुटनलाई प्रोत्साहन गर्ने उद्देश्यले विद्यालय स्तरीय शैक्षिक सामग्री प्रदर्शन, सांस्कृतिक कार्यक्रम, पुस्तक प्रदर्शन, विज्ञान प्राविधि सम्बन्धी सामाम्री प्रदर्शन, शैक्षिक श्रव्यदृब्यको प्रदर्शन, सफल स्रष्टाहरुको शैक्षिक प्रवचन, ऐतिहासिक शैक्षिक सामग्री प्रदर्शन जस्ता कार्यक्रम महोत्सवमा राखिएको छ ।
त्यसका लागि शैक्षिक विज्ञान प्रविधि तथा सांस्कृतिक महोत्सवमा ५० वटा स्टल राखिएका छन् । ती स्टलहरुमा शैक्षिक सामाग्रीका साथै जिल्लामा उत्पादित हस्तकला तथा अन्य घरेलु सामग्रीहरुको प्रदर्शनी गरिएको छ ।
यसैबिच नेपाल पत्रकार महासंघले सो महोत्सव     मा फोटो प्रदर्शनी समेत गरेको छ । महासंघले निर्माण गर्दै गरेको आफ्नै भवनको सहयोगार्थ उक्त फोटो प्रदर्शनी गरिएको हो । प्रदर्शनीमा जिल्लाका विभिन्न फोटोग्राफरले खिचेका फोटोहरु राखिएका छन् । ती फोटोहरु बिक्रीबाट उठेको रकम महासंघको भवन निर्माणमा खर्चिने महासंघ दोलखाका अध्यक्ष जीवन लामाले जानकारी दिए ।
त्यसैगरी दोलखा जिल्लामा जन्मेर विधावारिधि (पीएचडी) गर्ने ४६ जनालाई सम्मान गर्ने कार्यक्रम पनि राखिएको छ ।
शैक्षिक गन्तव्य हाम्रो अभियान, गुणस्तरीय शिक्षा दोलखाको शान भन्ने मुल नाराका साथ कालिन्चोक माविमा सुरु भएकोे महोत्सवको ३ दिन सम्म चल्ने छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।