प्रदेश–३ को नीति तथा कार्यक्रम आज

 अावाज स‌‌वाददाता     १८ जेष्ठ २०७५, शुक्रबार

प्रदेश ३ सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रदेश सभामा प्रस्तुत हुँदै छ । शुक्रबार बस्ने प्रदेश सभा बैठकमा प्रदेशप्रमुख अनुराधा कोइरालाले सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।

सरकारले प्रदेशअन्तर्गतका १३ जिल्ला सदरमुकामबाट गाउँपालिका केन्द्रसम्म कालोपत्रे सडक निर्माण, प्रत्येक स्थानीय तहमा सुविधासम्पन्न अस्पताल, विद्यालय, प्रदेशमा नमुना विद्युत् गृह, शीत भण्डारण कक्ष, चिया, कफी, आलु, अलैँचीको पकेट क्षेत्र, एक जिल्लामा एक चिस्यान केन्द्र, प्रदेशस्तरीय कृषि तालिम केन्द्रलाई विषय प्राथमिकतामा समावेश गरेको जनाइएको छ ।

प्रत्येक स्थानीय तहमा कम्तीमा एक प्राविधिक शिक्षालय, उद्योग क्षेत्रमा स्वदेशी तथा विदेशी लगानीकर्ता आकर्षित गरेर रोजगारीका अवसर सिर्जना गर्ने, आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका वर्ग, क्षेत्र र समूहलाई लक्षित गरी विभिन्न कार्यक्रम र सूचकमा आधारित अनुगमन तथा मूल्यांकन विधिको प्रयोग गर्ने विषय प्राथमिकतामा परेको छ ।

प्रदेश ३ सरकारले आर्थिक वर्ष ०७५/७६ को बजेट १ असारमा ल्याउँदै छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।